१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मनोरञ्जन क्षेत्रमा हुने महिला हिंसासम्बन्धी प्रतिवेदन सार्वजनिक

मनोरञ्जन क्षेत्रमा कार्यरत महिला र बालिकामाथि हुने हिंसासम्बन्धी नेपाली सञ्चार माध्यममा प्रकाशित र प्रसारित समाचारलाई आधार मानेर तयार पारिएको ‘सञ्चार अनुगमन प्रतिवेदन’ सार्वजनिक गरिएको छ । अस्मिता महिला प्रकाशन गृह, सञ्चार तथा स्रोत संस्थाले डब्लुएसिसी क्यानडाको आर्थिक सहयोगमा तयार पारेको प्रतिवेदन भर्चुअल माध्यमबाट सार्वजनिक गरिएको हो ।

मूलधारका सञ्चारमाध्यमलाई स्रोत मानेर उक्त प्रतिवेदनका लागि अनुगमन गरिएको थियो । सो प्रतिवेदन तयार पार्दा २०२० जनवरी १९ देखि फेब्रुअरी ८ तारिख (२१ दिन) सम्म पत्रपत्रिका, अनलाइन, रेडियो र टेलिभिजन गरी २१ वटा सञ्चार माध्यममा प्र्रसारण/प्रकाशन भएका मुख्य मनोरञ्जनसम्बन्धी समाचारको अध्ययन गरिएको अस्मिता महिला प्रकाशन गृहकी कार्यकारी निर्देशक सरिता श्रेष्ठले जानकारी दिइन् ।

अनुगमन प्रतिवेदन सार्वजनिक कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले राम्रो विषयको अनुगमन गरेको बताए । उनले २१ दिनको अनुसन्धानलाई अझ लम्ब्याएको भए वास्तविकता उजागर गर्न सहज हुने धारणा राखे । कार्यक्रममा म्याग नेपालकी अध्यक्ष बबिता बस्नेतले मनोरञ्जन क्षेत्रलाई कसरी व्यावसायिक बनाउने र बालिकाको अस्तित्वको रक्षा कसरी गर्ने भन्ने विषय चुनौतीपूर्ण रहेको बताइन् । उनले यसबारे मिडियाको मुख्य भूमिका रहेको पनि धारणा राखिन् ।

प्रतिवेदनमा मनोरञ्जन क्षेत्रका समाचार मुख्य धारका मिडियाको प्राथमिकतामा नपरेको उल्लेख छ । मनोरञ्जन तथा कला क्षेत्रका विषयमा लेखिएका समाचारले प्रभावकारी स्थान नपाएको प्रतिवेदनमा स्पष्ट पारिएको छ । त्यस्तै, यस विधामा कार्यरत महिला र बालिका श्रमिकमाथि हुने विभिन्न हिंसाका समाचार बिरलै मात्र आएको प्रतिवेदनले देखाएको छ । समाचार तयारी वा प्रस्तुत गर्ने गतिविधिमा महिलाको उपस्थिति पुरुषको तुलनामा अत्यन्त न्यून रहेको प्रतिवेदनमा बताइएको छ ।

प्रकाशित: १० मंसिर २०७७ ०१:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App