coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

तस्करी नियन्त्रण गर्न हेरालुको सामूहिक गस्ती

वन संरक्षणमा सामूहिक वनका हेरालु एकजुट

सामूहिक गस्तीमा जाँदै सामुदायिक वनका हेरालुहरू । तस्बिरः पुष्पराज/नागरिक

भजनी क्षेत्रका सामुदायिक वनका हेरालु वन संरक्षणमा एकजुट भई संयुक्त गस्ती गर्न थालेका छन्। रातिको समयमा काठ तस्करी हुन थालेपछि सामुदायिक वनका हेरालुहरुले समूह बनाई सामूहिक गस्ती गर्न थालेका हुन्।  

सामुदायिक वनमा रातिको समयमा एक/दुई जना हेरालुले तस्करी रोक्न नसक्ने हुँदा छिमेकी सबै सामुदायिक वनका हेरालु एक ठाउँमा भेला भई संयुक्त गस्ती गर्ने गरेको हेरालु सञ्जालका भजनी अध्यक्ष गोकर्ण चौधरीले बताए। उनले भने,‘सामुदायिक वनमा रातिको समयमा तस्करी बढ्न थालेपछि एक/दुई जना हेरालु जान नसक्ने हुँदा लठ्ठी बोकेर संयुक्त रुपमा गस्ती गर्न थालेका हौँ।’  

पहिले रातिको समयमा अत्याधिक काठ तस्करी हुने गरेको बताउँदै अर्का वन हेरालु जुगराम डगौरा थारूले भने,‘हाम्रो सामुदायिक वनमा दुई जना हेरालु छौँ, दुई जनाले तस्करी हुन थालेको रोक्न सक्दैनौँ, त्यही भएर रातिको समयमा छिमेकी सामुदायिक वनका हेरालुको सहयोग मागेर सामूहिक गस्तीमा निस्कन्छौँ।’ सामूहिक गस्ती गरिन थालिएपछि तस्करी गर्नेहरु पनि डरले रातिको समयमा जंगल जान छाडेको उनले बताए। ‘एक/दुई हेरालुलाई तस्करहरुले हातपातका साथै कुटपिट गर्ने र ज्यानकै जोखिम बढ्ने भएकाले सामूहिक गस्ती जाँदा तस्करहरु डरले भाग्ने गरेका छन्,’ उनले भने,‘रातिको समयमा चोरी भइरहेको थाहा पाएपछि सामूहिक गस्तीमा जाँदा तस्करहरुले अवैध काठ बाटोमै छाडेर भागेको बेलाबखत भेटेका छौँ।’ रातिको समयमा एक्ला एक्लै गस्तीमा जाँदा तस्करहरुले कुटेको घटना सम्झँदै हेरालु सञ्जालका अध्यक्ष गोकर्णले भने,‘पहिले हेरालु एक्लै जाँदा धेरै पटक कुटाइ मात्रै खाएनन् कि ज्यानै जोखिममा परेको थियो, तर अहिले भने सामूहिक गस्तीमा जाँदा तस्करहरु उल्टै डरले भाग्न थालेका छन्। जसले गर्दा तस्करी रोक्नमा सहयोग पुगेको छ।’  

काठ तस्करी हुने संकेत पाउने वित्तिकै हामी वरपरका सबै सामुदायिक वनका हेरालु एक जुट भएर सामूहिक गस्तीमा जाने गरेको बताउँदै हेरालु दुलारु चौधरीले भने,‘एउटा सामुदायिक वनले बढीमा दुई जना हेरालु हुन्छन्। दुई जनाले तस्करसँग भिड्न सक्दैनौ, त्यसैले समूहमा जाँदा भने तस्करहरु डरले भाग्छन्।’ पछिल्लो समयमा हेरालु सामूहिक रुपमा हिँड्न थालेपछि तस्करहरुको मनोबल घट्दै गएको उनको अनुभवले बताउँछ। ‘पहिले हेरालुलाई छल्दै भजनी क्षेत्रका सामुदायिक वनमा अत्याधिक चोरी तस्करी हुने गथ्र्यो,’ उनले भने,‘तर पछिल्लो समयमा भने सामूहिक गस्तीले तस्करको मनोबल घट्न गई तस्करीमा कमि भएको छ।’    

भजनी क्षेत्रका सामुदायिक वन वसन्ता जैविक मार्गसँग जोडिएको र त्यहाँ दैनिक काठ तस्करी बढ्न थालेको भन्दै सामुदायिक वनका हेरालुहरु सामूहिक गस्ती गर्न थालेको भजनी सव–डिभिजनका प्रमुख सुरेश रोकायाले बताए। उनले भने,‘काठ तस्करी बढ्न थालेपछि हेरालुहरुले सामूहिक रुपमा गस्ती गर्न थालेका हुन्।’ सामूहिक गस्तीले पछिल्लो समयमा काठ चोरी निकासीमा कमि भएको उनको भनाइ छ। ‘सामूहिक गस्ती गर्दा बाटोमा तस्करी गरिरहेकाहरु पनि काठ छोडेर भाग्ने गरेको र केहीलाई हेरालुको समूहले समातेर सामुदायकै नियमानुसार कारबाही गर्ने गरेका छन्,’ उनले भने,‘यो हेरालुहरुको राम्रो सिकाइ बन्दै गएको छ।’

प्रकाशित: ६ मंसिर २०७७ १३:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App