कोरोना कहरबीच यस वर्षको छठ पुजा कृतिम पोखरी बनाएर मनाइएको छ। कोरोना संक्रमणबाट बच्न प्रशासनले स्थानीय नदी खोला र तालतलैया जान निषेध गरेपछि भक्तजनले आआफ्नो घर आँगनमा पोखरी बनाई छठ पुजा गरेका हुन्।
वर्षेनी सदरमुकामका त्रियुगा नदी र बरुवालगायत खोला र तलाउमा घाट (मन्दिर) स्थापना गरी भव्यताका साथ भेला जमघट गरेर मनाइदै आएको छठ संक्रमणको जोखिम उच्च रहेको भन्दै प्रशासनले दुईसाताअघि नै यो वर्ष खोला नदीमा भेला हुन नदिने निर्णय गरे अनुसार सबैले कृतिम पोखरी बनाएर पुजा आराधना गरे। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसिसिएमसी) उदयपुरले कात्तिक २२ गतेको बैठकबाट मंसिर ५ र ६ गते दुईदिन जिल्लाका सबै खोला नदीमा भेला जमघट गर्न रोक लगाएको थियो। सोही निर्णयलाई टेक्दै २३ गतेको जिल्ला सुरक्षा समिति बैठकले कोभिडबाट बँच्न खोला नदी र तालतलैयामा भेला जमघट गर्न नदिने निर्णय गर्दै सार्वजनिक सूचना जारी गरेको थियो।
प्रशासनले निर्णय उल्लंघन गरे कडा कारवाही गर्ने चेतावनीसमेत दिएपछि भक्तजन विगत वर्षजस्तो यसपाली छठ मनाउन खोला नदी नगएको त्रियुगा छठ पुजा समितिका अध्यक्ष राहुल यादवले बताए। उनका अनुसार संक्रमणबाट बँच्नकै लागि गरेको प्रशासनको आग्रहलाई मान्दै समितिले पनि सातादिनअघि नै विज्ञप्ती प्रकाशित गरी त्रियुगा, बरुवा, लुहालेलगायत कुनै पनि खोलामा भेला जमघट नहुन भक्तजनलाई आग्रह गरेको थियो। प्रशासन प्रहरीको निर्णय र समितिको आग्रह अनुसार कुनै पनि खोला नदीमा यो वर्ष छठ पुजाका लागि घाट नबनाई शान्तिपूर्वक पुजा सम्पन्न भएको समितिले जनाएको छ।
परम्परा अनुसार आफ्नै घर आगँगनमा बनाएको पोखरीमा भक्तजनहरुले शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई खर्घ दिएर रातभर गाज्राम बस्दै शनिबार विहान उदाउँदो सूर्यलाई अर्घ दिएर पुजा समापन गरेका छन्। कोभिड संक्रमणको खतराबाट जोगिन घरमै पोखरी बनाएर छठी माताको पुजा सम्पन्न गरेको उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेका निमित्त महाप्रबन्धक नबलकिशोर साहले बताए। प्रदेशसभा सदस्य सुनिता चौधरीले पनि आफ्नै घरको करेसाबारीमा पोखरी बनाएर छठको ब्रत सम्पन्न गरेको बताईन्। पूर्वमन्त्री तथा नेकपा केन्द्रीय सदस्य मञ्जु चौधरीले पनि आँगनमै पोखरी बनाएर छिमेकीसहित छठ पुजा गरेको बताईन्।
त्रियुगा उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष सूर्यनारायण साह, त्रियुगा नगर उपप्रमुख देवीकुमारी चौधरी, बेलका नगर उपप्रमुख राजकुमारी चौधरी, चौदण्डीगढी नगर उपप्रमुख रीताकुमारी चौधरी, उदयपुर सिमेन्ट उद्योग उत्पादन महाशाखा प्रमुख सञ्जयलाल कर्ण, इन्जिनियर महेश साहलगायतले पनि घरघरमा पोखरी निर्माण गरेर छठको पुजा आराधना गरेका छन्। कृतिम पोखरी बनाउँदा छिमेकीहरु मिलेर २५ जनाभन्दा बढी नहुने गरी सामाजिक दूरी कायम गरेर पुजा सम्पन्न गरेको सांसद चौधरीले बताईन्।
कृतिम पोखरी बनाएर पुजा गर्दा पुजा आराधना भए पनि प्राकृतिकस्थल खोला नदीमा पुजा गरेजस्तो रमाईलो भने नभएको भक्तजनले बताएका छन्। हरेक वर्ष त्रियुगामा घाट स्थापना गरेर मेलाजात्रा लगाउँदै मनाउने गरेको छठ यो वर्ष घरघरमा पोखरी बनाएर मनाउदा खल्लो लागेको गाईघाट भक्तजन विनोद साहले बताए। खोला वा घर जहाँ भए पनि भक्तिभाव दर्शाउने र पुजा नै गर्ने भए पनि आत्माशान्ति मिले पनि रमाईलो भने त्यति नभएको साहले बताए।
विगत वर्षहरुमा छठ आउनु साता दिनअघिदेखि नै त्रियुगा नदी र बरुवा खोला घाट र मन्दिर बनाएर बेहुली झैं सिंगारिएर झकिझकाउ हुन्थे। मेला लाग्ने भएकाले ५० हजारभन्दा बढीको जमघट हुनुका साथै वर्षेनी सांस्कृतिक कार्यक्रम, स्टलहरु राखेर व्यापार व्यवसाय हुने गरेकोमा यसवर्ष कोविडले गर्दा त्यस्तो हुन नपाएको बाणिज्य संघका पूर्व उपाध्यक्ष भरत राईले बताए। विगत वर्षहरुमा छठको बेला ९÷१० करोड बढीको व्यापार व्यवसाय हुने गरेकोमा यसपाली खोला नदी बन्द गरिदा १ करोड हाराहारी मात्र व्यापार भएको अनुमान त्रियुगा उद्योग वाणिज्य संघको छ।
यसवर्षको छठमा केरा, केराका बोट, नरिवल, माटाका भाँडा, मालालगायतको व्यापार विगतको दाँजोमा ९० प्रतिशत कम भएको संघले जनाएको छ। कोभिडकै कारण बिक्रीका लागि सामान नै बजारमा कम आएको हुनाले पनि व्यापारिक कारोबार स्वाट्टै घटेको संघले जनाएको छ।
प्रकाशित: ६ मंसिर २०७७ १२:०२ शनिबार





