रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको भीषण बाढीका कारण ३८४ जना आन्तरिक तथा बाह्य पर्यटक सम्पर्कविहीन भएका छन्।
नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेहरूमा २९१ जना विदेशी र ९३ जना नेपाली पर्यटक तथा पदयात्री छन्।
बोर्डले बुधबार जारी गरेको दोस्रो स्थिति प्रतिवेदनअनुसार बिहान करिब ८:३० बजे भोटेकोशीमा अचानक आएको बाढीमा परी ती पर्यटकहरू सम्पर्कविहीन भएका हुन्।
बेपत्ता हुने विदेशी पर्यटकहरूमा भारत, अस्ट्रेलिया, नेदरल्याण्ड्स, अमेरिका, मलेसिया, बेलायत र दक्षिण अफ्रिकाका नागरिक छन् भने केहीको राष्ट्रियता खुल्न अझै बाँकी रहेको छ।
पर्यटन एजेन्सीहरूबाट प्राप्त विवरणअनुसार सबैभन्दा बढी ट्रेकर्स सोसाइटीमार्फत गएका ९२ जना (७७ विदेशी र १५ नेपाली) तथा सम्राट टुर्स एन्ड ट्राभल्समार्फत गएका ७१ जना (५९ भारतीय र १२ नेपाली) सम्पर्कविहीन भएका छन्।
यस्तै, लिफ होलिडेजका ५५ जना (४६ भारतीय र ९ नेपाली) तथा हिमालयन ग्लेसियरका ५२ जना (३७ विदेशी र १५ नेपाली) को अवस्था अज्ञात छ।
यसैगरी कैलास जर्नीका ३१ जना (२६ विदेशी र ५ नेपाली), फिस्टेल टुर्स एन्ड ट्राभलका २७ जना (२० विदेशी र ७ नेपाली), अल्पाइन इको ट्रेकका २० जना (१६ विदेशी र ४ नेपाली), काठमाडौं होलिडेजका १७ जना (१ विदेशी र १५ नेपाली), रिचा टुर्स एन्ड ट्राभल्सका १२ जना (८ विदेशी र ४ नेपाली) तथा एक्स्प्लोर भ्याकेसनमार्फत गएका ७ जना नेपाली पर्यटक सम्पर्कविहीन भएको बोर्डले जनाएको छ।
हाल नेपाल पर्यटन बोर्ड, पर्यटक प्रहरी, स्थानीय प्रशासन, ट्रेकिङ गाइड र सुरक्षा निकायहरूले प्रभावित क्षेत्रमा सम्पर्कविहीन पर्यटकहरूको तथ्यांक रुजु गर्दै खोजी तथा उद्धार कार्यलाई तीव्र बनाएका छन्।
प्रकाशित: १० भाद्र २०८३ १५:२८ बुधबार





-600x400.jpg)