जनकपुरधाम उपमहानगरपालिका–७ जानकीनगरमा आज बिहान श्रीमती र छोरीमाथि एसिड प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार जनकपुरधाम उपमहानगरपालिका–२० घर भई हाल वडा नंं ७ जानकीनगरमा बस्ने सञ्जीव साहलाई प्रहरीले पक्राउ गरेको हो।
साहले श्रीमती आरती र छोरी रिया साहको शरीरमा समेत एसिड प्रहार गरेको प्रहरीले जनाएको छ। एसिड प्रहारले आरतीको अनुहार, छाती, पेटलगायत शरीरको २० प्रतिशत भाग जलेको छ भने रियाको टाउको र बायाँ हात जलेको छ। प्रहरी निरीक्षक रमेश सिग्देलका अनुसार एसिड प्रहारले घाइते दुवैको जानकी हेल्थ केयर एन्ड टिचिङ अस्पतालमा उपचार भइरहेको छ। आरतीको अवस्था गम्भीर र रियाको अवस्था भने सामान्य रहेको जनाइएको छ। रासस
प्रकाशित: २९ कार्तिक २०७७ १०:५७ शनिबार