१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संक्रमित पनि संक्रमणमुक्त !

'कोरोना डिस्चार्ज’ मा सरकारी नीति

घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरका बिपिन रावत (नाम परिवर्तन) कोरोना संक्रमण भएको महिना दिन नाघिसक्यो। यो अवधिमा उनले तीन पटक कोरोना परीक्षण गराईसके। तर तीनैपटकको परीक्षणमा उनी कोरोना संक्रमित देखिए। महिना दिनदेखि होम आइसोलेसनमा रहेका उनी कोरोना संक्रमण भएकै कारण घर बाहिर निस्केका छैनन्। 

तर सरकारले भने उनलाई संक्रमण मुक्त भैसकेको भनेर घोषणा गरिदिईसकेको छ। उनी संक्रमण भएको १४ दिनपछि नै उनी सरकारको ‘डिस्चार्ज’ सुचीमा परिसकेका छन्। आफू कोरोना संक्रमित रहिरहेपनि सरकारले निको भैसकेको तथ्यांकमा सुचिकृत गरेको सुनेपछि उनी अचम्मीत छन्। ‘अब म सरकारको घोषणा अनुसार संक्रमित रहेन, तर कोरोना जाँचको रिपोर्ट अनुसार म अहिले पनि संक्रमित नै हुँ,’ बिपिनले भने ‘म सरकारको घोषणालाई आधिकारीक मानु या आफ्नो स्वास्थ्य जाँचको रिपोर्टलाई?’    

घोराही १२ हापुरकी नमिता शर्मा तीन साताअघि कोरोना संक्रमित भईन्। संक्रमण भएको १४ दिनपछि उनले पुनः परीक्षण गराईन्। उनलाई यो पटक पनि कोरोना संक्रमण नै देखियो। आफूलाई कोरोना संक्रमण भएयता तीन सातादेखि होम आइसोलेसनमा रहेकी उनी पनि सरकारको नजरमा भने अब कोरोना संक्रमण मुक्त भैसकेकी छिन्। ‘म त कोरोना जाँच गरेर आएको रिपोर्टका आधारमा अहिले पनि कोरोना संक्रमित नै हुँ,’ उनले भनिन् ‘आँफू संक्रमित भएकै कारण घर परिवारका सदस्यहरुसंग पनि छोईएको छैन।’

यि प्रतिनिधिमुलक पात्र हुन्। पटक पटकको चेकजाँचका क्रममा पनि कोरोना संक्रमण देखिएका कैयन संक्रमितहरुलाई सरकारले निको भैसकेको तथ्यांकमा सुचिकृत गर्ने गरेको छ। सरकारको पछिल्लो नीति अनुसार कोरोना संक्रमितहरु १४ दिनपछि सरकारको तथ्यांकमा स्वतः संक्रमण मुक्त बनेर उल्लेख हुन्छन्। सरकारको यसै नीतिलाई टेकेर दाङबाट पनि कैयन संक्रमितहरुको नाम संक्रमणको सुचीमा उल्लेख भएर स्वास्थ्य मन्त्रालयसम्म पुग्ने गरेको छ। 

‘सुरुमा कोरोना संक्रमण भएको १४ दिनपछि जो कोहि पनि संक्रमण मुक्त हुने भन्ने सरकारी नीति छ, हामीहरुले त्यसैका आधारमा संक्रमण मुक्तहरुको नामावली मन्त्रालयमा पठाउने गरेका छौँ,’ जिल्ला जनस्वास्थ्य कार्यालयका फोकलपर्सन कमल चन्दले भने ‘१४ दिनपछि जतिपटक कोरोना पोजेटिभ आएपनि उनीहरु संक्रमण मुक्त मान्ने भन्ने नीति नै छ।’ जिल्ला स्वास्थ्य कार्यालयबाट सिफारिस हुने यहि संख्याका आधारमा स्वास्थ्य मन्त्रालयले निको हुनेहरुको संख्या सार्वजनिक गर्ने गरेको पनि चन्दले बताए। ‘यहि नीतिलाई आधार मानेर पठाइएको सुची अनुसार नै सरकारले निको हुनेहरुको देशभरको तथ्यांक सार्वजनिक गर्ने हो,’ उनले भने।  

पछिल्लो तथ्यांक अनुसार जिल्लामा २ हजार ६ सय ७८ जना कुल संक्रमित हुँदा २ हजार ६७ जना निको हुनेहरुको तथ्यांक छ। तर जिल्ला जनस्वास्थ्य कार्यालयको भनाईलाई आधार मान्ने हो भने कोरोना जाँचमा नेगेटिभ रिजल्ट आएकाहरुको मात्रै यो संख्या भने हैन। ‘संक्रमित भएको १४ दिन कटाएकाहरुको सबैको तथ्यांकका रुपमा यसलाई बुझ्नु पर्छ,’ चन्दले भने ‘कतिपय १४ दिनपछि नेगेटिभ पनि भए होलान कतिपय पुनः जाँचका क्रममा पोजेटिभ भएकाहरु पनि हुन सक्छन्।’

घोराही १५ गौतमनगर टोलकी ललिता शर्मालाई सरकारी नीति अनुसार बाहिर सार्वजनिक हुन सजिलो छैन। तीन साताअघि कोरोना संक्रमित उनी १४ दिनपछि पुनः परीक्षणका क्रममा संक्रमित नै भईन्। तर सरकारले उनलाई १४ दिनपछि नै संक्रमणमुक्तको सुचीमा राखिसकेको छ। ‘सरकारको नीति हो भने म अब संक्रमणमुक्त भैसकेँ, तर समाजले नेगेटिभ रिपोर्ट नआएसम्म मलाई संक्रमण मुक्त भनेर कसरी स्वीकार्छ?’ उनले भनिन् ‘नेगेटिभ रिपोर्ट हातमा नपर्दासम्म मैले आँफूलाई कसरी संक्रमण मुक्त भएको सम्झने?’

घोराही १५ स्थित सुदीप गौतमको ९ जनाको परिवार कोरोना संक्रमित छ। झण्डै तीन साताअघि संक्रमित प्रमाणित भएको यो परिवार अहिले सम्म होम आइसोलेसनमै छ। घर बाहिर निस्कन नसकेको यो परिवार पनि राज्यको नजरमा अब संक्रमण मुक्त छ। तर सुदीप भन्छन् ‘हामीहरुलाई यिनीहरु संक्रमण मुक्त भैसके भनेर समाजले कसरी पत्याउँछ? कोरोना संक्रमणसंगै सामाजिक बहिस्कारको चुनौतीको कुरा छ।’ सरकारले उनीहरुलाई संक्रमण मुक्तको सुचीमा राखिसकेका कारण अब संक्रमित उनीहरुले पुनः चेकजाँच गर्ने कि नगर्ने अर्को प्रश्न गौतम परिवारमा छ। ‘हामीहरुको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ छ, तर राज्यले हामीहरुलाई १४ दिन कटाएपछि नेगेटिभको सुचीमा राखेको हो भने अब हामीहरुले पुनः परीक्षण गर्ने कि नगर्ने त?’ गौतमले भने ‘कित राज्यले १४ दिनपछि कसैले पनि चेक नगराउँदा हुन्छ, सबै नेगेटिभ हुन्छ भनिदिनु पर्यो नि।’  

संक्रमित परिवारमा देखिएको यो अन्यौलता मात्रै हैन, सरकारको यो नीतिले कोरोना संक्रमण ब्यापक बन्ने झनै खतरा बढ्ने देखिन्छ। संक्रमण भएकाहरु पनि निष्फीक्रि हिँड्डुल गर्न थाल्ने वातावरण यो नीतिका कारण बन्ने भएकाले समाजमा कोरोना संक्रमणको अवस्था ब्यापक बन्ने खतरा संक्रमितहरु बताउँछन्।

प्रकाशित: २७ कार्तिक २०७७ १२:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App