८ भाद्र २०८१ शनिबार
image/svg+xml
समाज

गोली हानी युवतीको हत्या

रौतहटमा गए राति एक विवाहित युवतीको गोली हानी हत्या भएको छ। रौतहटको माधवनारायण नगरपालिका वडा नम्बर ७ लौकाहा टोलका राम अयोध्या साह तेलीकी १८ वर्षीया छोरी अमृताकुमारी साहको अज्ञात समूहले गोली हानी हत्या गरेको प्रहरीले जनाएको छ।  

युवतीकी आमा घरबाट बाहिर शौचालय गएको मौका छोपी राति करिब ११ बजे अज्ञात समूह साहको घरमा पसी युवतीको कन्चटमा गोली प्रहार गरेको हो। गोली लागेपछि ढलेकी युवती साहको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।  

गत २०७६ फागुनमा युवतीको बिहे सर्लाहीको मधुवनगोठ गाउँका रुपेश साहसित भएको थियो। बिहे भएको केही समयपछि युवतीको एकजना युवकसित प्रेम सम्बन्ध रहेको बाहिर आएको थियो। युवतीका श्रीमान्लाई पनि अपरचित समूहले गत वैशाखमा चक्कु प्रहार गरेको थियो। युवतीको प्रेमीबाट युवतीको प्रेम सम्बन्धकै कारण चक्कु प्रहार भएको अनुमान युवक पक्षले गरेका थिए। चक्कु प्रहारबाट घाइते श्रीमान् लामो समय उपचारपछि बल्ल निको भएका थिए।

गत असार महिनामा युवतीको सम्बन्ध विच्छेद भइसकेपछि युवती माइती लौकाहामा नै रहँदै आएको युवतीका काका नेवालाल साहले जानकारी गराएका छन्।

घटनास्थलमा प्रहरी पुगिसकेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। गोली कस्ले हानेको हो भन्ने विषयमा रौतहट प्रहरी अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

प्रकाशित: २७ कार्तिक २०७७ ०२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App