२६ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

सहिदभूमि पिस्कर पुग्ने सडक कालोपत्रे हुँदै

क्याप्शन

पूरानो व्यापारिक केन्द्र बाह्रविसेदेखि सहिदभूमि पिस्कर जोड्ने सडक स्तरोन्नति तथा कालोपत्रे सुरु भएको छ। सडक ट्रयाक खुलेको डेढ दशकपछि साढे १७ किलोमिटर लामो बाह्रविसे–सुनकोसी–धुस्कुन–पिस्कर सडक पक्की बनाउने काम थालिएको हो।  

बाह्रविसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई सिधा जोड्ने यो सडकको स्तरोन्नति बागमती प्रदेश सरकारको सहयोगमा थालिएको पूर्वाधार विकास कार्यालयका सिनियर डिभिजनल इन्जिनियर राजु श्रेष्ठले बताए। उनका अनुसार ३९ करोड ४० लाख रुपैयाँ लागत रहेको सडकको काम सुरु भइसकेको छ। कान्छाराम कन्ट्रक्सनले यो सडक स्तरोन्नति तथा कालोपत्रे गर्ने ठेक्का पाएको छ।  

सम्झौताअनुसार कन्ट्रक्सनले दुई वर्ष ६ महिनामा सडकको काम सक्नु पर्ने छ । सम्झौता अवधि अगावै दुई वर्ष एक महिनामा काम सके प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले ठेकेदार कम्पनीलाई पुरस्कृत गर्ने घोषणा गरेको छ। सडक स्त्तरोन्नति अन्तर्गत चौडा बनाउने, नाला, कल्भर्ट, कजवेको व्यवस्था गर्दै कालोपत्रे गरिने सिनियर डिभिजनल इन्जिनियर श्रेष्ठले बताए।  

‘नेपालमा अहिलेसम्मकै उन्नत् मानिएको आस्फल प्रविधिबाट कालोपत्रेले गरिने छ। सडक आठ मिटर फराकिलो हुनेछ,’ उनले भने। उनका अनुसार अक्सफाल कंक्रिट ४० एमएम मोटाइएको हुने छ भने सडकमा रंगरोगन, ट्राफिक चिह्न र सुरक्षा संकेतको व्यवस्था गरिने छ। ग्रामीण बाटो भए पनि राजमार्गकै झल्को दिने गरी सडक बन्ने श्रेष्ठले जनाए।  

सहिदभूमि पिस्कर त्रिपुरासुन्दरी गाउँपालिकाको केन्द्र हो। गाउँपालिका केन्द्रबाट यो सडकले सात किमी दूरीमा छिमेकी लिसंखुपाखर गाउँपालिका र दोलखा जिल्लाको भीमेश्वर नगरपालिका जोड्ने त्रिपुराका अध्यक्ष भूपेन्द्र श्रेष्ठले बताए। ‘यो सडक ऐतिहासिक त हुँदै हो। यसले दोलखाको लागि बैकल्पिक मार्गको रुपमा समेत काम गर्छ,’ उनले भने।

राजनीतिक परिवर्तनमा पिस्कर चर्चित नाम हो। २०४० माघ १ गते प्रजातान्त्रिक अन्दोलनमा जनमत बटुल्न आयोजित सांस्कृति कार्यक्रममा तत्कालीन पञ्चायती सरकारले दमन गर्दा स्थानीय इली र बिरे थामीले साहदात प्राप्त गरेका थिए भने दर्जनौँ घाइते भएका थिए। पञ्चायतकालमा पिस्कर अहिलेका चर्चित कम्युनिस्ट नेताको आश्रयस्थलसमेत हो। झलनाथ खनाल, अमृत बोहोरा, अष्टलक्ष्मी शाक्य लगायत थुपै्र नेकपाका नेताहरुले यहीँ आश्रय लिएर प्रजातान्त्रिक आन्दोलन हाँकेका थिए। उनीहरुलाई पक्राउ गर्न जाँदा भएको यो घटना मुलुकमा पिस्कर काण्डले चर्चित छ।

प्रकाशित: २६ कार्तिक २०७७ ०९:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App