७ वैशाख २०८१ शुक्रबार
समाज

'काकाकुल' गाउँमा पानी आएपछि खुसियाली

वर्षाैंदेखि खानेपानी अभाव झेलिरहेको इलाम नगरपालिका–११, सोयाकमा डिप बोरिङबाट निकालिएको पानी । तस्बिर: भीम/नागरिक

इलाम नगरपालिका ११ (साविक सोयाक गाविस–७)का नरेन्द्रप्रसाद आचार्य गाउँमा खानेपानीको चरम अभाव भएपछि घर छाडेर बसाइँ हिँडे। स्थानीय बालकन्या विद्यालयका शिक्षकसमेत रहेका आचार्य बिहान–बेलुका हातमुख जोर्ने जागिरभन्दा प्राण धान्ने खानेपानी चाहिँ बढी आवश्यक भएपछि गाउँ बसिरहन सकेनन्।

गाउँबाट धेरै तल खोलाको छेउमा १० वर्षअघि बसाइँ सरेका आचार्य अहिले पुरानै घर उक्लिएका छन्। अहिले गाउँमै खानेपानी आएपछि उनको परिवार घर फर्केको हो। ‘जसोतसो खानेपानी टारियो भनेमात्रै बाँच्न सकिनेरहेछ,’ उनले सुनाए, ‘अब पक्कै पनि पहिलाजस्तो काकाकुल भएर बस्नुपर्दैन होला।’  

उसबेला खानेपानी लिन घरबाट दिनहुँ २ किलोमिटर धाउनुपथ्र्याे। गाउँका कम्तीमा पनि दर्जन घरले एउटै कुवाको पानी खानुपथ्र्यो। ‘बिहान २ बजेतिर उठेर कुवामा पुग्नेले पानी पाउँथ्यो, ढिलो गर्नेले फेरि कुवा भरिउञ्जेल पर्खिनुपथ्र्यो,’ उनले दशकअघिको सास्ती सम्झिए, ‘डोकामा गाग्री बोकेर कुवा पुगेका कतिजना त पानी नपुगेर रित्तैसमेत फर्किनुपथ्र्याे।’ आचार्य गाउँ फर्केर पुरानो घर स्याहार्दैछन्। नयाँ घरसमेत बनाउँदैछन्।  

औल भेगको अत्यन्तै उर्बर भूमि, ‘दरबार’जस्ता ठुल्ठूला घर छाडेर बसाइँ सर्ने आचार्य एक्ला होइनन्। यहाँका ११ परिवार खानेपानीले आँत भिजाउनै नपाएपछि तराईका जिल्लातिर बसाइँ सरे। स्थानीय डिल्लीराम आचार्य, कमल आचार्य, यादव आचार्य, टीकाराम आचार्य, युवराज आचार्य, डोलाराम आचार्य, भेषराज आचार्य, कुलप्रसाद आचार्य, बुद्धिसागर आचार्य र गोपाल आचार्यलगायतका परिवार दशकअघि बसाइँ हिँडे। उनीहरूले छाडेका घर अहिले भग्नावशेष भएका छन्।

तर, खानेपानीको चपेटा सहेर भएपनि गाउँमै अडिएका परिवारको सास्ती भने अहिलेसम्म उस्तै थियो। दशकौंदेखि हरहर भएको आँत भिजाउन पाउने भएपछि अहिले स्थानीयमा हर्षको सीमा छैन। स्थानीय जुनु मगर भन्छिन्, ‘झन्डै १ घण्टाको बाटो धाएर डोकामा पानी बोक्दा–बोक्दा ढाडै पिल्सिएको छ। अब चाहिँ घरमै धारो आइपुगेकाले सास फेर्न पाइएलाजस्तो छ।’ करेसो जोडिएको खड्का परिवार १२ वर्षअघि पानी पिउन नपाएर झापाको दुर्गापुर बसाइँ सरेको उनले सुनाइन्। गाउँमा पानी पुगेपछि कतिपय छिमेकी पुनः गाउँ फर्किने तर्खर गरिरहेको स्थानीय सुनाउँछन्।

पहाडी गाउँको तल्लो भेगतिर कुवा, खोल्साखाल्सी रसाएपनि माथिल्लो भेगमा कतै खानेपानी मुहान नभएका कारण यहाँको सयभन्दा बढी परिवार दशकौंदेखि सास्ती खेपिरहेको थियो। इलाम नगरपालिकाले अढाई करोड रुपैयाँ खर्चेर गाउँमै डिप बोरिङबाट पानी निकालिदिएपछि स्थानीय गद्गद् छन्। कम्तीमा १५ किलोमिटरभन्दा नजिक कुनै मुहान नभएकाले घरमा खानेपानी धारा आउने कल्पनासम्म नगरेका गाउँलेले डिप बोरिङबाट पानी निस्किएपछि खुसी व्यक्त गरे। ‘जन्मेदेखि काकाकुल भएर बसेका हामीले यसरी आँगनमै धारो आउँछ भनेर कहिल्यै कल्पना गरेका थिएनौं!’ स्थानीय गुञ्ज बस्नेतले खानेपानी उद्घाटन समारोहमै भने, ‘इलाम नगरपालिकाले साह्रै ठूलो गुन लगाएको छ।’

नेपाल सरकारको अनुदान, इलाम नगरपालिका र स्थानीयसमेतको थप लगानीमा आर्थिक वर्ष २०७५/०७६ मा सुरु गरिएको सोयाक खानेपानी आयोजना निर्माणको काम करिब सकिएको छ। २०७६ चैतमा निर्माण सुरु गरिएको आयोजनाले स्थानीय ७० घरमा धारो पुर्‍याइसकेको छ भने थप ३० घरमा विस्तार गर्दैछ। १ सय २३ मिटर डिप बोरिङ गरी निकालिएको पानी करिब १ लाख ७० हजार लिटर अटाउने बेग्लाबेग्लै ३ ट्यांकीमा संकलन गरिएको छ।  

‘कुनै बेला बाहिरी मुहानबाट पानी हाल्नुपर्‍यो भने पनि यही ट्यांकी प्रयोग गर्नेगरी निर्माण गरिएको छ,’ इलाम नगरपालिकाका इन्जिनियर दीपक गुरागाईंले भने, ‘पानी तान्ने ऊर्जाका लागि सोलार सेट जडान गरिएको छ र सोलारको विकल्पमा मात्रै बिजुली प्रयोग गरिनेछ।’ कुनैबेला बिजुली कटौती हुँदा पनि खानेपानी अभाव हुन नदिन ९.४५ र ६.३० किलोवाटका २ सोलार सेट जडान गरिएको छ। ‘बिजुलीका ठाउँमा सोलार प्रयोग गर्दा उपभोक्ताले तिर्नुपर्ने पानीको महसुल सस्तो हुन्छ,’ गुरागाईंले भने, ‘वर्षमा ९ महिना चाहिँ सोलारकै ऊर्जा प्रयोग गर्न सकिन्छ।’ एउटा बोरिङबाट प्रतिसेकेन्ड २ लिटर र अलि तल रहेको खोल्सीबाट अढाई लिटर पानी ट्यांकीमा जम्मा हुनेगरेको छ। आयोजना सञ्चालन कसरी गर्ने भन्नेबारे उपभोक्ता समिति निर्माण गरी निश्चित विधि तय गरिने नगरपालिकाले जनाएको छ।  

वडा ११ का वडाध्यक्ष रविन एक्तेनले अब गाउँबाट पानी नपाएर बसाइँ सर्नु नपर्ने भएको बताए। ‘यहाँका दर्जन परिवार त बसाइँ नै गइसक्नुभएको थियो, बाँकी परिवार सधैं काकाकुल थिए,’ उनले भने, ‘अब चाहिँ खानेपानी नपाएर बसाइँ जानुपर्दैन। बरु, पहिला बसाइँ सरेकाहरूसमेत आफ्नो गाउँ फर्किन सम्पर्क गर्दैहुनुहुन्छ।’ उनले ३ हजार ६ सय जनसंख्या रहेको वडामा अब खानेपानीको चरम अभाव टरेको जनाए।  

इलाम नगरपालिका मेयर महेश बस्नेतले पर्यटन प्रवद्र्धन र समृद्ध नगर निर्माण गर्न खानेपानी पहिलो सर्त भएकाले यहाँ ठूलो लगानी गरेर भएपनि आयोजना निर्माण गरेको बताए। ‘खानेपानी नपाएरै बसाइँ जानुपर्नेभन्दा ठूलो पीडा अरू केही हुँदैन भनेर यहाँ आयोजना निर्माण गरेका हौं,’ उनले भने, ‘जहाँ पानी हुन्छ, त्यहाँमात्रै जीवन सम्भव हुन्छ।’ उनले खानेपानी पिउनका लागि मात्र नभई गाउँको सरसरफाका लागि आवश्यक रहेको बताए। ‘अब चाहिँ स्थानीयले हिजोको चरम अभाव खेप्नुपर्दैन,’ उनले भने, ‘नगरका बासिन्दाको अनिवार्य आवश्यकता पूरा गर्न नगरले सधैं प्रयास गरिरहेको छ।’

प्रकाशित: २२ कार्तिक २०७७ १०:३८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App