७ वैशाख २०८१ शुक्रबार
समाज

एसओएसले व्यवसायका लागि ४५ परिवारलाई दियो ५० हजार

व्यवसाय सञ्चालनका लागि कोपिला र सुमित्रालाई ५० हजारको चेक हस्तान्तरण गर्दै वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीलगायत । तस्बिरः नगेन्द्र/नागरिक

वीरेन्द्रनगर नगरपालिका–१ कोलडाँडाकी कोपिला विक नौ वर्षको हुँदा बुवाको मृत्यु भयो। चार कक्षामा पढ्दै गरेकी उनले कमाउनका लागि स्कुल छोड्नु पर्‍यो। उनीपछि दुई बहिनी थिए। बुवा बितेको दुई वर्षमै आमाले अर्को विवाह गरिन्। सानै उमेरमा उनीमाथि दुई बहिनीको पालनपोषण र शिक्षा–दीक्षाको जिम्मेवारी पनि आइलाग्यो।  

मजदुरी गरेर गुजारा चलाउँदै आएकी कोपिलालाई एसओएसले घुम्तीसँगै ५० हजार नगद दियो। ‘अब घर नजिकै घुम्ती पसल सञ्चालन गर्छु,’ उनले भनिन्, ‘दैनिकी चलाउन अब धेरै सहज हुने भयो।’

एसओएसले कोपिलाका सात वर्षीया सपना र पाँच वर्षीया बहिनी पार्वतीलाई पढाउनका लागि पनि आर्थिक सहयोग गर्दै आइरहेको छ। बुवा बितेपछिका केही वर्ष कोपिलालाई धेरै संघर्ष गर्नु प¥यो। ‘दुई बहिनी हुर्काउन, खुवाउन र पढाउनका लागि मैले पढ्न छोडे,’ उनले भनिन्, ‘बहिनीहरु पढाउन खर्च पाउँदै आएकी थिएँ, अब व्यवसायका लागि पनि एसओएसबाट सहयोग पाएँ।’

१९ वर्षअघि श्रीमानको मृत्यु भएपछि दुई छोरीको शिक्षा–दीक्षा र पालनपोषणको जिम्मा सुमित्रा नेपालीको काँधमा आयो। श्रीमान मजदुरी गर्थे। वीरेन्द्रनगर नगरपालिका–१ त्रिपुरेश्वरको ऐलानी जमिनमा टिनको छानो थियो। छोरीहरु साना थिए। श्रीमानको मृत्युपछि सुमित्राले पनि मजदुरी सुरु गरिन्। ‘काम पाइएको दिन चुल्होमा आगो बल्थ्यो, काम नपाएको दिन भोकभोकै पनि सुत्नुपर्ने हुन्थ्यो,’ उनले दुःखका दिन सुनाउँदै भनिन्, ‘धेरै छाक आफूले नखाएरै छोरीहरुको पेट भरेकी छु।’

२०६० सालमा उनले एसओएस सामाजिक सेवा केन्द्रमार्फत छ महिने निःशुल्क सिलाई कटाई तालिम लिइन्। हातमा सीप भएपछि दुःखका दिनहरु कम हुँदै गए। मजदुरी गर्नुपर्ने बाध्यता हट्यो। अर्काकोमा कपडा सिलाएरै दैनिक चार–पाँच सय रुपैयाँ कमाई हुन्थ्यो,’ उनले भनिन्, ‘बचत गर्न नसकेपनि छाक टार्नलाई समस्या भएन।’

उनलाई आफ्नै टेलरिङ पसल सञ्चालन गर्ने धोको थियो। त्यसका लागि उनीसँगै पैसा थिएन। शुक्रबार सुमित्राले एसओएसबाट ५० हजार रुपैयाँको चेक बुझिन्। ‘अब आफ्नै पसल चलाउन सक्ने भएँ,’ उनले भनिन्, ‘अब केही रकम बचत पनि गर्न सक्छु।’ सुमित्राकी जेठी छोरीको विवाह भइसकेको छ। अर्की छोरी मञ्जु शिद्धपाइला कलेजमा अध्ययनरत छिन्।

एसओएसले कोपिला र सुमित्रा जस्तै ५४ जनालाई कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत आर्थिक सहयोग गरेको छ। कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत एसओएस बालग्राम अन्तर्गतको पारिवारिक सवलीकरण परियोजनामार्फत ४५ परिवारलाई ५० हजारका दरले सहयोग प्रदान गरिएको निर्देशक मुकुन्दकुमार गिरीले जानकारी दिए।

‘एसओएसले सहयोग गर्दै आइरहेका विपन्न बालबालिकाका परिवारलाई आयआर्जनमा सघाउ पुर्‍याउने उद्देश्यले कोभिड प्रतिकार्य कार्यक्रम अन्तर्गत रहेर सहयोग गरेका हौं,’ एसओएस बालग्राम सुर्खेतका निर्देशक गिरीले भने, ‘यहीँ महिनाभित्र छनोट भएका ४५ वटै परिवारसम्म हाम्रो सहयोग पुग्छ।’ एसओएसले आयआर्जन सम्वन्धी विजनेश प्लान पेश गरेका मध्ये ४५ परिवारलाई छनोट गरेको जनाएको छ।  

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले कोरोनाका कारणले रोजगारी गुमाएका र भारतबाट फर्केकाहरुलाई नगरपालिकाले विभिन्न कार्यक्रममार्फत सहयोग गर्दै आइरहेको बताए। ‘हातमा सीप भएका र व्यवसाय गर्न इच्छुकहरुका लागि नगरपालिकाले पनि सहयोग गर्छ,’ उनले भने, ‘यसका लागि आफूसँग भएको सीप र व्यवसायको प्रकृतिसहित नगरपालिकामा आउनुहोस्।’ उनले कोभिड प्रभावित ४०० घरपरिवारलाई सहयोग गर्नका लागि ‘क्यास फर वर्क’ कार्यक्रम सुरू भइरहेको बताए। उनले प्रत्येक वडामार्फत सुरु गरिएको कार्यक्रममा सहभागी हुन आग्रह पनि गरे। यस्तै सीप र विजनेश प्लान भएकाहरुलाई विना धितो ऋण दिनका लागि गाउँ नगर साझेदारी कार्यक्रम पनि सुरु गरिएको उनले जानकारी दिए।  

मेयर सुवेदीले विपन्नहरुको आयआर्जनमा सघाउ पुर्‍याउन र विपन्न बालबालिकाको शिक्षामा एसओएसले महत्वपूर्ण सहयोग गर्दै आइरहेको बताए। ‘एसओएसले गरिरहेका यस्ता सहयोगले नगरपालिकालाई धेरै सहज भएको छ,’ उनले भने, ‘हामी थप सहयोगको पनि अपेक्षा गर्दछौं।’

प्रकाशित: २२ कार्तिक २०७७ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App