१९ असार २०८१ बुधबार
image/svg+xml
समाज

महरा पत्नीको निधनमा प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

प्रतिनिधिसभाका सदस्य तथा पूर्वसभामुख कृष्ण बहादुर महराकी पत्नी सिता महराको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले श्रद्धाञ्जली व्यक्त गरेका छन्। सामाजिक सञ्जाल ट्विटर मार्फत उनले पूर्वसभामुख महरासहित सम्पूर्ण परिवारमा गहिरो समवेदनासमेत व्यक्त गरेका छन्।

उनले ट्विटरमा लेखेका छन्– ‘प्रतिनिधि सभाका सदस्य एवं पूर्वसभामुख कृष्णबहादुर महराकी श्रीमती सिता महराको आज बिहान नर्भिक अस्पतालमा भएको निधनबाट अत्यन्त दुःख लागेको छ। म दिवंगत सिता महराप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै पूर्वसभामुख महराजी सहित शोकाकुल परिवारमा गहिरो समवेदना प्रकट गर्दछु।’

दसैंमा पुख्यौँली घर रोल्पा मेबाङ गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनलाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो। निमोनिया र स्वासप्रश्वासको समस्या देखिएपछि कार्तिक १४ गते शुक्रबार उनलाई हेलिकोप्टरबाट काठमाडौं ल्याइएको थियो।

उनको १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनको पीसीआर परीक्षण गर्दा कोरोना संक्रमणसमेत देखिएको थियो।

२०१८ साउन १३ गते रोल्पाको गजुल धौलेगाउँमा जन्मिएकी उनी महरासैँगै माओवादी जनयुद्धमा भूमिगतसमेत भएकी थिइन्।

कृष्णबहादुर महरासँग उनको २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्।

उनी १० वर्षदेखि माइस्थेनिया नामक रोगबाट पीडित थिइन्। 

प्रकाशित: १९ कार्तिक २०७७ ०४:०७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App