१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मासु, नयाँ लुगा त परको कुरा, जमरासमेत पाएनन् वृद्ध दम्पतीले

सिउराम र विष्णु सुनार। तस्विरः गणेश विशु

तल्लो, माथिल्लो र वरिपरिका घरमा दसैंको भिन्नै रौनक थियो। विश्वभरि फैलिएको कोरोना भाइरसको त्रासका बीचमा मनाइएको दसैंमा सबैका घरघरमा मासु, भात पाक्यो। नयाँ कपडासँगै निधारमा रातो टीका र कानमा पहेँलो जमरा सबैले लगाए। वीरेन्द्रनगर नगरपालिका–५, खार्खोलाका सिउराम (६०) र उनकी श्रीमती विष्णु सुनारले (६५) दसैंमा पनि नयाँ लुगा फेर्न पाएनन्। उनीहरूले गत वर्ष छिमेकीले दिएका कपडासँगै दसैं मनाए। कस्तो संजोय घटस्थापनाका दिनमा राखेका जमरासमेत उम्रिएन, जसले गर्दा नयाँ कपडा र मासु खाने सपना त परको कुरा निधारमा रातो टीकासँगै जमरा लगाउने सपनासम्म पनि साकार भएन।

र्खोखोलाको किनार नजिकै सार्वजनिक जग्गामा झुपडी बनाएर बसेका उक्त दम्पतीलाई दसैंले गिज्याएर गयो। ‘सबैले नयाँ लुगा लगाए, मीठो मसिनो खाएर दसैं मनाए,’ सिउरामले भने, ‘हाम्रो त दसैं अरु दिनजस्तै भयो।’ सिउरामको परिवारका लागि यसपालिको दसैं पनि पहिलाजस्तै गरी गयो। केही वर्षदेखि सिउरामलाई दसैं तिहार जस्ता पर्वको खर्च गुटाउन मुस्किल हुँदै आएको छ। रोजगारी नहुँदा र सरकारले ‘दसैं प्याकेज’ नल्याउँदा पर्व मनाउन समस्या भयो। ‘नयाँ लुगा लगाउने, मीठो मसिनो खाने रहर त लाग्छ,’ उनले भने, ‘तर के गर्नु आफूसँग पैसा हुँदैन। रहर मात्र मानेर के गर्नु।’ ‘अरुले लगाएको र खाएको देख्दा मनमा अनेक कुरा खेले पनि पूरा हुँदैनन्,’ उनले भने।

सन्तान नभएका यो दम्पतीको सहारा कोही नहुँदा दसैं तिहार जस्ता पर्वको खर्च टार्नु त परको कुरा दैनिकी कसरी चलाउने भन्ने चिन्ता छ। यो वर्षको दसैंमा मात्र सिउराम र उनकी श्रीमतीले नयाँ कपडा नफेरेका होइनन्। यस भन्दा अघिका ३४ वटा दसैं अर्थात् ३४ वर्षदेखि सिउराम पुरानै कपडा लगाएर दसैं तिहार जस्ता पर्व मनाउँछन्। ‘छिमेकीले पुराना कपडा दिन्छन्, त्यही लगाउँछु,’ सिउराम भन्छन्, ‘पैसा नहुँदा नयाँ कपडा किन्न सक्दैन।’ सिउराम मात्र होइन उनकी श्रीमती विष्णुले पनि करिब पाँच वर्षदेखि नयाँ लुगा फेर्न पाएकी छैनन्। ‘आफूलाई नभए पनि उहाँ (सिउराम) ले मलाई नयाँ लुगा किन्दिनु हुन्थ्यो,’ विष्णुले भनिन्, ‘आजभोलि पहिलाको जस्तो काम पनि गर्न सक्नुहुन्न त्यसैले लुगा फेर्ने पैसा समेत हुँदैन।’ आफू पनि गाउँलेले दिएको पुराना लुगा लगाउने गरेको उनले बताइन्।

दसैंको आफ्नै महत्व भए पनि विशेष गरी मीठो मसिनो खाने, नयाँ लुगा लगाउने र मान्यजनबाट आशीर्वाद लिनेका रूपमा बुझिन्छ। तर सिउरामको दम्पती ति सबै कुराबाट बञ्चित भयो। ‘लगाएको जमरा समेत उम्रेन,’ विष्णुले भनिन्। उमेरले ६० नाघेका सिउराम कहिलेकसो मजदुरी गर्छन्। मजदुरी गरेको पैसाले घर व्यवहार चलाउँदै आएका उनको कोरोना भाइरसका कारण बन्दाबन्दी (लकडाउन) र बेलाबेला लागेको निषेधाज्ञाले गर्दा त्यही मजदुरी पनि खोसियो। जसको असरले दसैं खर्चका लागि आर्थिक जोहो गर्न सकेनन्। ‘काम गर्ने काम नै पाइँदैन,’ उनी भन्छन्, ‘साहुँबाट ऋण लिएर दसैं मनाउन हुन्थ्यो, भोलि ऋण तिर्न सक्दैनकी भनेर ऋण पनि लिएनँ।’ दसैंको दिन भात खानलाई सिउरामले नजिकैको पसलबाट उदारोमा १० किलो चामल ल्याएका थिए। अहिले उनको घरमा खाएर बचेको थोरै चामलबाहेक अरु छैन। उमेर हुँदा सिउराम रोजगारीका लागि भारतसम्म जान्थ्ये। तर अहिले उमेर ढल्किँदै गएपछि घरमै थला परेका छन्।

सिउरामकी श्रीमती विष्णु पनि असक्त छिन्। शौचालय जाँदा लडेर दायाँ खुट्टा भाँचिएको छ। त्यसैले उनी घरको कामबाहेक अरु गर्न सक्दैनिन्। ‘छोराछोरी पनि छैनन्,’ उनले भनिन्, ‘भोलिको सहारा पनि छैन। यो बुढेसकालमा आफ्नो स्याहारसुसार गर्नु त परको कुरा एक गाँस दिने मान्छेसमेत छैन।’ उनले तीन छोरा र तीन छोरीको जन्म दिए पनि कोही जीवित भएनन्। त्यतिबेला पनि आफूसँग उपचार गर्ने पैसा नहुँदा छोराछोरी जोगाउन नसकेको उनको भनाइ छ।

 

 

प्रकाशित: १३ कार्तिक २०७७ ०६:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App