१६ चैत्र २०८० शुक्रबार
समाज

वृद्धवृद्धाले पाएनन् दसैं भत्ता

खाँदबारीका वृद्धवृद्धाको यस सालको दसैं खल्लो हुने भएका छ। कोरोना भाइरस संक्रमण तथा बढ्दो महँगीमा वर्ष दिनको चाडमा मीठोमसिनो खाने र नयाँ लुगा लगाउने आश बोकेका वृद्धवृद्धा निराश भएका छन्।  

कोरोना महामारीका कारण देखाउँदै खाँदबारी नगरपालिकाले सामाजिक सुरक्षा भत्ता नदिने भएको छ। सरकारले भत्ता नदिएपछि खाँदबारीका धेरैजसो ज्येष्ठ नागरिकले दशैंँ कसरी मनाउने भन्ने चिन्ता लागेको बताएका छन्।  

आफूहरु ऋण खोजेर दसैं मान्न बाध्य भएको खाँदबारी–४ का ८६ वर्षीय बैरव राईले गुनासो गरे। कोरोना महामारी र संकट परेका बेला भत्ता नपाउँदा झन् मन खिन्न भएको राईको भनाइ थियो।  

नगरपालिकामा ज्येष्ठ नागरिक, एकल महिला, विधवा र दलितसहित दुई हजार ६४३ जनाले सामाजिक सुरक्षा भत्ता पाएका छैनन्। त्यस्तै पाँचखपन नगरपालिकामा एक हजार चार सयभन्दा बढीले सामाजिक सुरक्षा भत्ता पाएका छैनन्।  

सरकारले जेष्ठ नागरिकलाई तीन हजार रुपैयाँ, ज्येष्ठ नागरिक एकल महिलालाई दुई हजार रुपैयाँ, विधवालाई दुई हजार रुपैयाँ, दलित ज्येष्ठ नागरिकलाई दुई  हजार रुपैयाँ, अपांगता भएका (क)लाई तीन हजार रुपैयाँ, अपांगता भएका (ख) लाई एक हजार ६ सय रुपैयाँ र बाल संरक्षणका लागि चार सय रुपैयँँका दरले भत्ता उपलब्ध गराउँदै आएको छ।  

नगरपालिकाले ढिला गरी रकम निकासा गरेका कारण बैंकले समय भुक्तानी गर्न नसकेको राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालयका प्रबन्धक अनिश रायमाझीले बताए। रासस

प्रकाशित: ५ कार्तिक २०७७ १२:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App