७ वैशाख २०८१ शुक्रबार
समाज

तस्करद्वारा असईको घाँटी रेटी हत्या, ११ जना नियन्त्रणमा

मोहना नदीमा फेला पर्‍यो शव, प्रहरी जवान अझै बेपत्ता

तस्करीको ट्रान्जिट प्वाइन्ट मानिने कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १० बनकट्टी घाटमा तस्करहरुको समूहले शनिबार राति गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक गोविन्द बिकको घाँटी रेटेर विभत्स तरिकाले हत्या गरेको छ । हत्या गरेर बिकको शव करिब ३ सय मिटर दक्षिणमा रहेको मोहना नदीमा फालिएको अवस्थामा आइतबार बिहान फेला परेको हो । उनीसँगै गएका प्रहरी जवान रामबहादुर साउँदको अवस्था अझै अज्ञात रहेको छ ।  

घटनास्थलको प्रकृति हेर्दा गस्तीमा रहेका प्रहरी सहायक निरीक्षक बिक र प्रहरी जवान साउँदलाई तस्करको समूहले घेराबन्दी गरेर आक्रमण गरेको देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीले बताए । उखुबारीको छेउमा रहेको बाँझो खेतमा लछारपछार भएजस्तो माटो देखिएको छ, भने छेउमै प्रहरीको एउटा जुत्ता पनि फेला परेको छ । त्यसको करिब ५० मिटर पर स्लिपिङ ब्याग र चप्पल भेटिएको छ भने त्यो भन्दा अझै ५० मिटर दक्षिणतर्फ खेतमै रगत देखिएको छ । 

‘तस्करहरुले घेराबन्दी गरेर उखु छेउको जमिनदेखि रगत भएको ठाउँसम्म लगेर हत्या गरेको हुनसक्छ,’ अनुसन्धानमा खटिएका एक प्रहरीले भने,‘हत्या गरेर शव मोहना नदीमा फालिएको देखिन्छ ।’ रगतदेखिएको नजिकै फुटेको अवस्थामा मोबाइल पनि भेटिएको उनले बताए । घटनास्थल नेपाल र भारत दुवैतर्फका तस्करहरुको ट्रान्जिट प्वाइन्ट रहेको स्थानीयले बताएका छन् । ‘गोरुगाडामा भारतबाट सामान ल्याएर उखुबारी छेउमा राख्ने र त्यहाँबाट नेपालतर्फका तस्करहरुले सामान लैजाने गर्छन्,’ एक स्थानीयले भने,‘यहाँ त रातभर मानिसहरु हिँडेको हिँड्यै गर्छन् ।’ 

यो नाका भएर भारतमा मटर, भटमास तथा दलहन बस्तु तस्करी हुने गर्छ भने भारतबाट नेपालतर्फ दैनिक उपभोग्य सामाग्री मध्ये चिनी, लुगाकपडा, सुर्तीजन्य पदार्थ, हार्डबेयरका सामग्री, इलेक्ट्रिक्स सामानहरु अवैध आयात हुने गर्छ । प्रहरीकै सेटिङमा नियमित तस्करी हुने गरेको स्थानीय बताउँछन् । ‘जुगेडामै अस्थायी प्रहरी पोष्टका साथै नेपाल सशस्त्र प्रहरीको विओपी पोष्ट रहेको छ,’ नाम नबताउने शर्तमा अर्का एक स्थानीयले भने,‘प्रहरी र सशस्त्रकै सेटिङमा तस्करी हुने गर्छ ।’ तर तीन महिना अघि अस्थायी प्रहरी पोष्टको इन्चार्ज आएर आएका असई बिकले तस्करीमा कडाइ गरेका कारण आज उनको यो अवस्था भएको स्थानीय प्रताप बिष्ट बताउँछन् । ‘असई बिकले तीन महिनाको समयमा पटक–पटक तस्करीको सामान बरामद गरेका थिए,’ उनले भने,‘असई बिक अन्य इन्चार्ज भन्दा फरक व्यवहार भएकै कारण उनको हत्या भएको हो ।’

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक प्रतीक बिष्टले साँझ गस्तीमा निस्केका बेला सम्पर्कविहीन भएका मध्ये असई बिकको धारिलो हतियारले हत्या गरेको अवस्थामा नदीमा शव फेला परेको बताए । उनले भने,‘असई बिकले बोकेको एक थान हतियार र गोली फेला परेको छैन ।’ प्रहरी जवान साउँदको खोजीकार्य भइरहेको उनले बताए । घटनाका बारेमा थप अनुसन्धान भइरहेको बताउँदै सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख तथा प्रहरी नायव महानिरीक्षक उत्तम सुवेदीले तस्करले हत्या गरेर नदीमा फालेको प्रारम्भिक अनुसन्धानमा खुलेको बताएका छन् । डिआइजी सुवेदी आफै घटनास्थलमा पुगेका थिए । संन्दिग्ध ११ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको उनले बताए । अस्थायी प्रहरी पोष्ट जुगेडामा दुई महिलासहित दस जना प्रहरीको दरवन्दी रहेको छ ।  

यस्तो छ घटना विवरण

शनिबार बेलुकी ८ः३० बजे अस्थायी प्रहरी पोष्ट जुगेडाका प्रहरी सहायक निरीक्षक गोविन्द बिक खानाखाइवरी प्रहरी हवल्दार रामबहादुर साउँदलाई मोटरसाइकलमा राखेर गस्तीमा निस्किए । उनी प्रहरी पोष्टदेखि करिब ५ किलोमिटर दक्षिण नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रणका लागि निस्केका थिए । रातिको समयमा चोरी तस्करी हुने भएकाले सो क्षेत्र सम्बेदनशील मानिन्छ । प्रहरीका अनुसार रातिको समयमा गस्तीमा निस्केका उनीहरु करिब साढे १० बजेपछि सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन उनीहरुलाई आइतबार  बिहान खोज्दै जाँदा धनगढी उपमहानगरपालिका–१० जुगेडास्थित बनकट्टी घाट भएर बग्ने मोहना नदीमा प्रहरी सहायक निरीक्षक बिकको शव घाँटी काटिएको अवस्थामा फेला परेको हो । उनीसँगै गएका अर्का प्रहरी हवल्दार साउँद भने अहिलेसम्म बेपत्ता छन् । उनको खोजीकार्य भइरहेको प्रहरीले बतायो ।  

गाउँदेखि केही टाढा रहेको बनकट्टी घाट भारतीय बजार बनकट्टीबाट अवैध सामान ओसार्ने ठाउँले चिनिन्छ । नजिकै भारतीय बजार रहेकाले त्यहाँबाट अवैधरुपमा मालसामान नेपाल भित्रने गरेको छ । घटनाको प्रकृति हेर्दा अवैध तस्करी गर्नेहरुसँग जम्काभेट भएपछि तस्करीको सामान रोक्न खोज्दा तस्करहरुले नै घाँटी रेटेर हत्या गरी घिसार्दै मोहना नदीमा फालेको हुनसक्ने निष्कर्ष प्रहरीले निकालेको छ । घटनास्थल नजिकै उखुबारी रहेको र उखुबारी नजिकै खेतमा घम्साघम्सी भएको देखिएको बताउँदै एक प्रहरीले भने,‘यसो हेर्दा पाँच ठाउँमा घटना भएको देखिन्छ ।’ 

पहिलो स्थानमा प्रहरीको एउटा जुत्ता फेला परेको छ भने दोस्रो स्थानमा प्रहरीकै ‘स्लिपिङ व्याग’ र चप्पल भेटिएको छ भने त्यसको केही पर रगतको छिटा देखिनुका साथै त्यो भन्दा पर मोबाइल फुटेको अवस्थामा बरामद भएको छ । मृतक बिकका दुई छोरी र श्रीमती छन् । उनी कञ्चनपुरको पुनर्वास नगरपालिका–९, ख गाउँका स्थायी बासिन्दा हुन् ।

 

यो पनि पढ्नुहोस्

गस्तीमा गएका प्रहरीका असई मृत फेला, जवान बेपत्ता

 

प्रकाशित: २ कार्तिक २०७७ ११:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App