१५ चैत्र २०८० बिहीबार
समाज

दसैंको मुखमा गाउँ झन् जोखिममा

एकै दिन ७५ जना थपिए

दसैं नजिकै आएको बेला पाल्पामा कोरोना संक्रमण समुदाय तहमै फैलन थालेको छ। लकडाउन खुकुलो भएसँगै स्वास्थ्य सुरक्षामा लापरवाही र मानिसहरुको आवतजावत बढ्न थालेपछि कोरोना संक्रमण गाउँ गाउँमा देखिन थालेको छ। स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा विभिन्न पेशा व्यवसायमा आबद्धहरुलाई समेत कोरोना संक्रमण पुष्टि भएको छ।  

पाल्पामा २ पालिकाका अध्यक्ष, ५५ जना स्वास्थ्यकर्मी, केहि जनप्रतिनिधिलाई कोरोना देखिएको हो। विरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि पाल्पा अस्पताल र रामपुर अस्पताल सिल गरिएको स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी ओमप्रकाश पन्थीले जानकारी दिए। उनका अनुसार समुदायका ३ सय ३० जनामा कोरोना देखिएको छ। दसैं पर्व दैलौमा आइसकेको अवस्थामा संक्रमणको दर पनि बढ्दै गएको छ। शनिबार ७५ जना कोरोना संक्रमित थप भएको स्वास्थ्य कार्यालयले जनाएको छ। लकडाउन अर्थात बन्दाबन्दी खुलेपछि यति संख्यामा संक्रमित देखिएको पहिलो पटक हो।  

५५ जना पुरुष र २० जना महिला एकै दिन थप भएका हुन। यस्तै जिल्लामा सबैभन्दा धेरै संक्रमण रामपुर क्षेत्रमा देखिएको छ। यहाँ समुदाय तहका नागरिकमा बढी संक्रमण देखिएको छ। रामपुर व्यापरिक केन्द्र र बाहिरबाट समेत मानिसहरुको आवागमन धेरै हुने भएकाले संक्रमितहरु धेरै देखिएको नगरपालिकाका प्रमुख रमणबहादुर थापाले बताए।  

उनले अधिकांशमा लक्षण नदेखिएकाले होम आइसोलेसनमा बस्ने व्यवस्था गरिएको तर त्यसमा लापरवाही हुँदा पनि नियन्त्रणमा समस्या भएको बताए। स्थिती असहज हुन नदिन योगाहल, बौद्धविहार, स्मृति भवनलाई समेत आइसोलेसनका लागि तयारी अवस्थामा राखिएको नगरप्रमुख थापाले बताए।  

स्वास्थ्य कार्यालयका अनुसार रामपुर नगरपालिकामा १ सय ९४, पूर्व खोलामा १ सय ८७ र निस्दी गाउँपालिकामा १ सय ६ जना संक्रमित छन्। तानसेन नगरपालिकामा भने ९९ जना संक्रमित छन्। शहरी इलाकामा भन्दा ग्रामिण क्षेत्रमा बढी संक्रमण फैलिएको सूचना अधिकारी पन्थीले बताए। ‘केहि दिनअघिसम्म दिनमा ३० देखि ४० को हाराहारीमा संक्रमित देखिएका थिए, अब विस्तारै बढ्दै छ, दशैंको बेलामा थप स्थिती भयावह हुन सक्छ’ उनले भने। उनका  

अनुसार जिल्लामा कोरोना संक्रमितको संख्या ९ सय ६९ जना पुगेको छ। जसमध्ये २ सय १५ जना उपचाररत (सक्रिय) संक्रमित छन्। बजारदेखि ग्रामिण भेगसम्म कोरोना संक्रमितहरु थपिन थालेपछि नजिकै आएको दशैं, तिहार र छठ पर्वलाई लक्षित गरि जिल्ला प्रशासनले भिडभाड नगर्न सूचना जारी गरेको छ।  

पूजापाठ वाहेक दर्शनका लागि भेला हुने, जात्रा, पर्व, सराय नाँच, देउँसी भैलौ, राजनीतिक कार्यक्रम एंव शुभकामना आदानप्रदान कार्यक्रम गर्न निषेध गरेको प्रमुख जिल्ला अधिकारी रमशे न्यौपानेले बताए। पाल्पामा कोरोना संक्रमणका कारण हालसम्म २ पुरुष र २ महिला गरि ४ जनाको मृत्यु भएको छ।

प्रकाशित: १ कार्तिक २०७७ १२:२३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App