५ वैशाख २०८१ बुधबार
समाज

लोकसेवामा संक्रमितलाई छुटाउन नपाइने

सर्वोच्च अदालतले लोकसेवा आयोगलाई कोरोना संक्रमितलाई नछुटाई सुरक्षित तरिकाले परीक्षा दिलाउनू भनी अन्तरिम आदेश जारी गरेको छ। न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले कोरोना महामारीको कुनै विकल्प नभएकाले शारीरिक दूरीसहित व्यवस्थित तरिकाले परीक्षा सञ्चालनको व्यवस्था गर्न अन्तरिम आदेश दिएको हो।

आयोगको मापदण्डले संक्रमित व्यक्तिले परीक्षा दिन नपाउने भनेकाले त्यसविरुद्ध रिट निवेदन दर्ता भएको थियो। सर्वोच्चले स्वघोषित संक्रमितलाई निजको गोपनीयता र आत्मसम्मानको संरक्षण गर्दै आवश्यक वैकल्पिक सुरक्षित व्यवस्थासहित परीक्षा सञ्चालन गर्ने व्यवस्था गर्नू भनी अन्तरिम आदेश जारी गरिदिएको छ। संक्रमित व्यक्ति परीक्षा दिनबाट बन्चित भई उसको संविधान प्रदत्त पेसा, रोजगार गर्न पाउने हक, समानताको हक, स्वास्थ्य अवस्थाको आधारमा विभेदविरुद्धको हकसमेत उल्लंघन हुन जाने सर्वोच्चको आदेशमा उल्लेख छ।

‘संक्रमित व्यक्तिले आफू संक्रमण भएको अवस्था घोषणा नगरे यसले सबैलाई जोखिममा पु¥याउने अवस्था सिर्जना हुनसक्छ,’ आदेशमा भनिएको छ, ‘लक्षण नभएका पनि संक्रमित हुनसक्ने भएकाले संक्रमण नखुलेका व्यक्ति पनि परीक्षा केन्द्रमा हुनसक्ने उल्लेख छ।’ परीक्षामा आएका परीक्षार्थी, कर्मचारी तथा निजको सम्पर्कमा आउने व्यक्ति संक्रमणको जोखिममा पुगी व्यक्तिको बाँच्न पाउने संवैधानिक अधिकारमा समेत असर पर्ने आदेशमा उल्लेख छ।

प्रकाशित: ३० आश्विन २०७७ ०१:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App