१० मंसिर २०८१ सोमबार
image/svg+xml
समाज

विमानस्थलमै चार घण्टा इन्टरनेट बन्द

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गम्भीर लापर्बाही गरिएको पाइएको छ। विमानस्थलमा कात्तिक २३ गते राति इन्टरनेट सेवा अवरुद्ध भएको पाइएको हो। विमानस्थलमा डेस्क हेर्ने कर्मचारीले सबैतिर फोन गर्दा पनि इन्टरनेट सेवा करिब चार घण्टा सञ्चालन हुन सकेन। यसलाई गम्भीर लापर्बाहीका रूपमा हेरिएको छ।

‘सबैतिर फोन गरियो, राति कसैले पनि इन्टरनेट सेवा सञ्चालन गर्न नसक्ने जानकारी दिए’, विमानस्थल डेस्कमा त्यस दिन खटिएका एक कर्मचारीले भने । ती कर्मचारीका अनुसार के कारणले इन्टरनेट सेवा बन्द भयो भन्ने जानकारी कसैले गराएनन्। इन्टरनेट नचल्दा विमानस्थलको रेडार पनि बन्द हुने अवस्थामा पुग्दा चार घण्टाजति अन्योल भएको दाबी गर्दै ती कर्मचारीले भने, ‘इन्टरनेट सेवा बन्द हुँदा पनि विमानस्थलमा रहेका प्रशासकले राति कुनै रेस्पोन्स गरेनन्, विमानस्थल भर्खरै बन्द भएको थियो तर आकाशमा कुनै विमान आएको भए फर्काउने वा सूचना दिने प्रणाली नै बन्द हुँदा अन्योल उत्पन्न भएको थियो।’

विमानस्थल विस्तार र मर्मतका लागि २३ कात्तिकबाट चैतसम्म दैनिक राति १० बजेदेखि १० घण्टासम्म विमान उडान र अवतरण बन्द गरिएको छ। विमानस्थल बन्द सुरु गरिएको राति नै इन्टरनेट सेवा अवरुद्ध भएको थियो। इन्टरनेट बन्द भएपछि हारगुहार गर्ने क्रममा ती कर्मचारीले प्रहरीको सहायताबाट गृहसचिव गोकर्णमणी दवाडीको मोबाइलमा सूचना प्रवाह गरेका थिए। त्यो खबर गृहसचिव दवाडीले सञ्चारसचिव राधिका अर्याललाई एसएमएसमार्फत पठाए। राति कही कसैले फोन उठाउने अवस्था नभएपछि इन्टरनेट सेवा अभावकै कारण ठुलो दुर्घटना हुने सम्भावना रहेको भन्दै विमानस्थलमा रहेका कर्मचारीले गृहसचिवलाई जानकारी गराएका थिए।

राति २ बजे बल्ल सञ्चारसचिव राधिका अर्यालले इन्टरनेट सेवा चालु भएको जानकारी गराएकी थिइन्। स्रोतका अनुसार विमानस्थलमा इन्टरनेट सेवा प्रवाह गरिरहेका संस्थाले पनि तत्काल सेवा खुलाउने प्रयास नै गरेनन्। राति सञ्चारसचिव अयोलको आग्रहमा सुबिसुले इन्टरनेट सेवा चालु गरिदिएको थियो। विमानस्थलमा सबै प्रकारका इन्टरनेट प्रदायक संस्थाले सेवा प्रवाह गरिरहेका छन्।

यो विषयमा जानकारी लिन खोज्दा त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक जगन्नाथ निरौलाले आफूलाई जानकारी नभएको बताए। घटनाक्रम सबै भन्दा पनि उनले एक मिनेट पनि इन्टरनेट सेवा नरोकिएको दाबी गरे। ‘विमानस्थल मर्मत भैरहेको छ, इन्टरनेट भनेको तारले चल्ने होइन, यो वाइफाईमार्फत चल्ने हो त्यसकारण बन्द हुने कुनै पनि कारण छैन’, निरौलाले भने।

अहिले त्रिभुवन विमानस्थलमा करिब ३० प्रतिशत उडान कटौती गरी मर्मत र विस्तारको काम भइरहेको छ। त्यसक्रममा भूमिगत रुपमा बिछ्याइएको इन्टरनेटको तार चुँडिएको र मर्मत नगर्दा सबै इन्टरनेट प्रदायकको राउटरबाट प्रवाह हुने वाइफाई बन्द भएको थियो। यसबारे न इन्टरनेट प्रदायक कम्पनीले बेलैमा थाहा पाए न विमानस्थल प्रशासनले। जतिबेला थाहा भयो त्यतिबेला सबैजसो कर्मचारी घर गइसकेका थिए। राति भएकाले मर्मत हुने सम्भावना गुज्रिसकेको थियो।

‘संवेदनशील क्षेत्रमा यसरी गम्भीर त्रुटि भयो। यसलाई भोलिपल्ट कोही कसैले मनन गरेको र यस्तो नहोस् भन्ने प्रायश्चित गरेको पाइएन। कोही कसैले के भएको हो भनेर जानकारी लिने प्रयास पनि गरिएन’, विमानस्थलमा कार्यरत ती कर्मचारीले भने। यो विषयलाई विमानस्थल प्रशासनलगायतका सरोकारवाला सबै कार्यालयले गोप्य राख्न खोजेको ती कर्मचारीले बताए।

अहिले विमानस्थल विस्तार गुरुयोजनाअन्तर्गत काम भइरहेको छ। गुरुयोजना अनुसार अहिलेको अन्तर्राष्ट्रिय टर्मिनल भवनलाई आन्तरिक टर्मिनल भवनमा परिणत गर्ने र अन्तर्राष्ट्रिय टर्मिनलका नयाँ भवन बनाउने गरी काम भैरहेको विमानस्थलले जनाएको छ। अन्तर्राष्ट्रिय एप्रोन, समानान्तर ट्याक्सी वे र एक्जिट ट्याक्सी वे निर्माणको काम पनि भइरहेको छ । विमानस्थल पूर्वाधार निर्माण गर्दा आइकाओ नियम पूर्ण पालना गर्नुपर्छ। त्यो गाइडलाइन अनुसार धावनमार्ग सबैभन्दा सुरक्षित राख्नुपर्छ। निर्माण कार्य र जहाज सञ्चालन एकै पटक गर्न मिल्दैन। ७५ मिटरभित्रको क्षेत्र निकै संवेदनशील मानिन्छ।

प्रकाशित: १० मंसिर २०८१ ०७:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App