७ वैशाख २०८१ शुक्रबार
समाज

राजेश हमाललाई समेत जाेडेर ‘जातको प्रश्न’बारे भ्रम फैलाइयो : समता फाउन्डेसन

‘जातको प्रश्न’ कार्यक्रम प्रसारण भइरहेकै बेला आफ्नो लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको तस्बिरसमेत दुरुपयोग गरी सामाजिक सञ्जालमा अफवाह फैलाइएको घटनाप्रति कार्यक्रम निर्माता ‘समता फाउन्डेसन’ले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

दलित समुदायविरूद्ध भइरहेका शृंखलाबद्ध हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको संस्कृति बढाउन ‘जातको प्रश्न’ टेलिभिजन कार्यक्रम उत्पादन गरिएको र यसमा कुनै निश्चित जात, धर्म, लिंग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाग्रह नराखिएको समता फाउन्डेसनले विज्ञप्ति जारी गरी ‘स्पष्ट’ पारेको हाे।

‘उक्त पोस्टर समता फाउन्डेसनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको पनि यसै विज्ञप्तिमार्फत प्रस्ट्याउँछौं,’ संस्थाका कार्यकारी अध्यक्ष प्रदीप परियारले जारी गरेको विज्ञप्तिमा भनिएको छ- ‘अनधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गररी पोस्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारको साइबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं।’

यस्तो छ विज्ञप्तिको पूर्णपाठ :  

समता फाउन्डेसन एक दशकदेखि सामाजिक न्यायको क्षेत्रमा अध्ययन/अनुसन्धान तथा नीतिगत पैरवी गर्दै आइरहेको सामाजिक संस्था हो।  

देशमा कोभिड-१९ को महाव्याधिले अपूरणीय क्षति निम्त्याएको छ। सारा विश्व महाव्याधिसँग संघर्ष गरिरहेका बेला रुकुम पश्चिममा नवराज विकसहित ६ जनाको नरसंहार होस् वा रूपन्देहीमा बलात्कारपछि ज्यान गुमाएकी अंगिरा पासी। भोकले ज्यान गुमाउने मलर सदा, सूर्यबहादुर तामाङ हुन् वा प्रहरी हिरासतमा मारिएका विजयराम चमार। बन्दाबन्दी भएको ५ महिनाको समयमा मात्र दलित समुदायका १५  जनाको हत्या भएको देखिन्छ।

दलित समुदायविरूद्ध भइरहेका यी शृंखलात्मक हिंसा र विभेदबारे सरोकारवाला पक्ष र समुदायस्तरमा पनि संवादको संस्कृति बढाउन समता फाउन्डेसनले जातको प्रश्न नामक टेलिभिजन कार्यक्रम उत्पादन गरेको हो।

हाल यो कार्यक्रम कान्तिपुर टेलिभिजनबाट प्रसारण भइरहेको छ। यो कार्यक्रमकोे मुख्य उद्देश्य नै जातीय विभेदसम्बन्धी घरघरमा संवादको सुरुवात गर्नु रहेको छ। यस कार्यक्रममा कुनै निश्चित जात, धर्म, लिंग, क्षेत्रप्रति कुनै पनि प्रकारको पूर्वाहग्रह नराखेको स्पष्ट गर्न चाहान्छौं।  

कार्यक्रमबारे आएका समालोचनात्मक तथा रचनात्मक सल्लाह र सुझावलाई हामी सदैव स्वागत गर्दछौं। हाम्रो समाजमा विद्यमान जातीय विभेदका विविध पक्षमा विचार–विर्मश होस् भन्ने हाम्रो उद्देश्यलाई स्वस्थ बहसले थप बल र सहयोग पु¥याएको छ।  

यसका लागि कार्यक्रमका दर्शक तथा शुभचिन्तकका साथै हाम्रो कामका लागि समालोचनात्मक चेत भरिदिनुहुने सम्पूर्णलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौं।  

कार्यक्रम प्रसारण भइरहेकै बेला समता फाउन्डेसनको लोगो र कार्यक्रम प्रस्तोता राजेश हमालको फोटोलाई समेत दुरुपयोग गरी सामाजिक सञ्जालमा गलत अभिव्यक्ति राखेर अफवाह फैलाइएको घटनाप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको छ।  

उक्त पोस्टर समता फाउन्डेसनले नबनाएको र त्यसमा संस्थाको कुनै संलग्नता नभएको पनि यसै विज्ञप्तिमार्फत प्रट्याउँछौं। अनधिकृत रूपमा संस्थाको लोगो र व्यक्तिको फोटो प्रयोग गररी पोस्टर बनाई भ्रम फैलाउनु नेपाल सरकारको साइबर कानुनबमोजिम दण्डनीय क्रियाकलाप भएको तथ्यबारे ध्यानाकर्षण गराउँदै सम्बन्धित सबैलाई सचेत हुन अनुरोध गर्दछौं।

नेपाल सरकारको प्रचलित नीति–नियम र कानुनबमोजिम संस्थाले विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूको सहकार्य र सहयोगमा सञ्चालन भएका परियोजना तथा कार्यक्रमहरू पारदर्शी ढंगले सञ्चालन गर्दै सामाजिक उत्तरदायित्वलाई संस्थाले प्राथमिकतासाथ वहन गर्दै आएको छ। समता फाउन्डेसनको गतिविधि र कार्यक्रमबारे स्वस्थ आलोचना र सिर्जनात्मक सुझावलाई हामी सधैं स्वागत गर्दछौं।

प्रदीप परियार

कार्यकारी अध्यक्ष, समता फाउन्डेसन

प्रकाशित: २७ आश्विन २०७७ ०८:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App