coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पर्वको पूर्वसन्ध्यामा देशभर बजार अनुगमन

चाडपर्व नजिकिँदै गर्दा देशभर बजार अनुगमन तीव्र हुन थालेको छ। देशका विभिन्न जिल्लाबाट नागरिककर्मीले बजार अनुगमनले तीव्रता पाएको खबर पठाएका छन्।  

गोरखामा म्याद नाघेका सामग्री  

गोरखाबाट प्राप्त समाचार अनुसार अनुगमनका क्रममा होलसेल व्यापारीले मापदण्डबाहिर रहेर कारोबार गरेको पाइएको छ। तिनले म्याद नाघेको र लेबल नभएका सामान बेचेको पाइएको छ।  

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले शुक्रबार गोरखा सदरमुकामका नौ खाद्यान्न पसलको अनुगमन गरी एक लाख २५ हजार जरिवाना गरेको प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईले बताए।

कारवाहीमा परेका श्रेष्ठ किराना स्टोर्स, कमला स्टोर्स, बिसाल न्यू किराना स्टोर्सलाई २० हजार रुपैयाँ जरिवाना तोकिएको छ। राना किराना स्टोर्स, खोप्लांगी सप्लायर्सलाई १५ हजार, जोशी क्वालिटी किराना, दिप्सम स्टोर्स, सौगात स्टोर्सलाई १० हजार, श्रीराम किराना पसललाई पाँच हजार जरिवाना तोकिएको छ।  

अनुगमन टोलीले २० वटा पसलमा गरेको अनुगमनमा बाँकीलाई सचेत गराइएको ६ वटालाई कार्यालयमा सम्पर्क गर्न बोलाएको प्रजिअ भट्टराईले बताए।  

रोल्पामा जिल्ला प्रशासनको अनुगमन  

रोल्पामा जिल्ला प्रशासन कार्यालयले मुख्य व्यापारिक केन्द्रमा बजार अनुगमन तीव्र बनाएको छ। गत साता सदरमुकाम लिवाङमा बजार अनुगमन गरेको प्रशासनले बुधबार जिल्लाको ठूलो व्यापारिक केन्द्र सुनिलस्मृति गाउँपालिकाको सुलिचौर बजार अनुगमन गरेको थियो।  

म्याद सकिएका खाद्य सामग्री बिक्रीवितरण र कालोबजारी गरिएको पाइएकाले विभिन्न सामग्री जफत गरी नष्ट गरिएको अनुगमनमा गएका सहायक प्रमुख जिल्ला अधिकारी रामबहादुर केसीले बताए। उनले भने, ‘म्याद सकिएका खाद्य सामग्री जफत गरेर नष्ट गरेका छौं भने कालोबजारीको डिजेल र पेट्रोल लिलाम गरेर राजस्व जम्मा गर्नेछौं।’  

दुर्गमका जिल्लामा व्यापारीले म्याद सकिन थालेका खाद्य सामग्री पठाउने तथा स्थानीय व्यापारीले पनि खान नमिल्ने भइसकेका सामग्री बेच्ने गरेकाले अनुगमनलाई तीव्र पारिएको प्रशासनले बताएको छ।  

भक्तपुरमा नियमित अनुगमन

दसैं नजिकिएसँगै भक्तपुरमा दैनिक बजार अनुगमन हुन थालेको छ। भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले खाद्य, फलफूल, तरकारी, मिठाइ, माछा लगायत पसल अनुगमन गरिरहेको छ।

अनुगमन टोलीले म्याद नाघेका सामान जफत गरी नष्ट गर्नुका साथै कैफियत देखिएका व्यवसायीलाई कमजोरी हटाउन निर्देशन दिएको छ। टोलीले दर्ता भएर व्यवसाय गर्न, दर्ता भइसकेकाले नियमित नवीकरण गर्न, म्याद नाघेका वस्तु छुट्टै राख्न, मूल्यसूची राख्न र सरसफाइमा ध्यान दिन निर्देशन दिएको छ।  

कपिलवस्तुमा म्याद नाघेका पेय  

कपिलवस्तुको बुुद्धभूमि नगरपालिका–२ गोरुसिंगेस्थित होटल मायोजमा म्याद नाघेका पेय पदार्थ बिक्री गरेको भेटिएको छ। जिल्ला प्रशासन कार्यालयको अगुवाइमा गएको अनुगमन टोलीले म्याद नाघेका पेय पदार्थ बेच्ने गरेको भेटेको हो।  

सहायक प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले उक्त होटलमा म्याद नाघेका विभिन्न पेय पदार्थ फेला परेको बताए। अनुगमन टोलीले म्याद नाघेका सामग्री जफत गरेको छ।

प्रकाशित: २५ आश्विन २०७७ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App