७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
समाज

कृषि पर्यटनको गन्तव्य बनाउँदै भेडास्रोत केन्द्र ओदी

कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जुम्लाको हिमा गाउँपालिका २ ओदी गाउँको ओल्खे पाटनलाई भेडास्रोतका रुपमा स्थापना गरेको छ।  कर्णालीका प्रत्येक जिल्लामा कुनै न कुनै विषयको स्रोत केन्द्र बनाउने सरकारी योजना अनुरुप जुम्लाको ओदीको ओल्खेमा भेडास्रोतको रुपमा स्थापना गरिएको हो।

यहाँ प्रसस्त चरन क्षेत्र छ। भेडापालनका लागि निकै अनुकुल भूगोल पनि छ। पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले भने,‘यहाँ स्थापित भेडास्रोत केन्द्रले यहाँको आर्थिक समृद्धिमा टेवा पुर्याउने निश्चित छ। साथै कृषि पर्यटनलाई टेवा पुग्नेछ। ’

भेडा स्रोत केन्द्रमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरबाट ल्याएका २१ वटा उन्नत जातका भेडा राखिएको छ । ओदी गाउँमा दुई सय घरधुरी छन्। सबै घरमा न्युनतम पन्ध्रदेखि २ सय भेडासम्म पालन गरिएको छ। त्यसैले पनि यो क्षेत्र भेडा स्रोत केन्द्र रुपमा लिइएको छ।  

भेडास्रोत केन्द्रसम्म सडक सञ्जाल जोडिएको छ।   भेडास्रोत केन्द्रमा स्थानीय जातको भेडा र उन्नत जातको भेडा राख्न छुट्टा छुट्टै खोर बनाइने भएको छ। स्रोत केन्द्रलाई भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौर जस्तै बनाउन पहल भइरहेको छ। पशु प्रमुख महत भन्छन्,‘अनेत्र जिल्लाबाट भेडाको माग भइआएको खण्डमा जति पनि पठाउन सकिने गरि भेडा पालन गरिनेछ। यो स्रोत केन्द्रबाट किसानले खोजेको जात दिन सकिने छ। ’

भेडास्रोत केन्द्रका लागि झण्डै आठ करोडको डिपिआर बनेको छ। स्रोत केन्द्र नजिकै होमस्टे, भ्युटावर र गेस्ट हाउस बनाएर पर्यटक ल्याउन सकिने स्थानीय बताउँछन्।

नाग्म गमगडी सडक देखि झण्डै तीन घण्टाको सवारीयात्रामा पुगिने ओल्खेपाटनमा कृषिमन्त्री बिमला केसी झण्डावाल गाडी लिएर पुगिन्। पहिलो पटक पाटनमै गाडी पुग्दा स्थानीयले स्वागत गरे।    

भेडास्रोत केन्द्र जुम्लामा संभावना छ भनेर स्थापना गरिएको कृषिमन्त्री केसीले बताइन्। कर्णालीमा हामीले स्रोत केन्द्रको सुरुवात गरेका छौँ। संभवना राम्रो छ। किसानको जाँगर र मेहनत पनि राम्रो छ, मन्त्री केसीले भनिन्,‘ अब यो क्षेत्र भेडामय हुनेछ। जिल्ला भित्र वा बाहिरको भेडाको माग सहजै रुपमा संवोधन गर्न सक्ने क्षेत्रका रुपमा स्थापित गर्न सकिने अवस्था छ। ’

भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरमा जान निकै कठिन भएको बताउँदै मन्त्री केसीले यहाँ पुग्न निकै सहज भएको बताइन् । यो क्षेत्र भेडास्रोत केन्द्रका रुपमा मात्र रहन सक्दैन्,कृषिमन्त्री केसीले थपिन्,‘ कृष पर्यटनको क्षेत्र बनाउन सक्छौ। रारा जाने पर्यटकलाई एक बास बसाल्न सक्छौँ। गेष्ट हाउस निर्माण गर्न सक्छौँ। यो आँट र साहस स्थानीय बासिन्दामा देखिनु पर्यो। ’ स्रोत केन्द्र् नजिकै लामा विष्ण्ुाको मन्दिर बनाएर नियमित पुजा गर्ने अवस्थाको निर्माण गर्नुपर्छ।

‘यो क्षेत्रबाट झण्डै १२ जिल्लाको भुगोल देख्न सकिन्छ। कर्णाली प्रदेश सरकार लगानी गर्न तयार छ। स्थानीयको इच्छाशक्ति र इमान्दारीताले ओदी बस्तीको जीवनस्तर त्यत्तिकै बढ्छ। जीवन बदल्नका लागि ठुलो आयस्रोत बन्छ। मेहनत गर्ने कुरामा नचुक्नु होला,’कृषिमन्त्री केसीले भनिन्।  

यो एउटा आधार हो। हाम्रै कार्यकालमा सफल हुन्छ। उत्साहका साथ लाग्नुस । सरकारले एक करोड रकम दिएको खण्डमा एक करोड बराबरको श्रमदान गर्नुस। मन्त्री केसल्ले भनिन्,‘यहाँको समृद्धि हाम्रै पालामा देख्न सकिनेछ। ’

नाग्म गमगडी सडक खण्डको कोइरेली,वड्की,स्यारगाउँ,ओेदी,लामाविष्ण्ुा मन्दिर,महादेव हुदै ओल्खे पुगिन्छ। झण्डै ७ हजार ५० बर्गमिटर क्षेत्रफलमा भेडास्रोत केन्द्र बनेको छ।  

स्रोत केन्द्रमा भेडिफर्म निर्माण भएकोछ। स्रोत केन्द्रको भवन बनिसकेको छ। घेराबार बाउण्डरी,पानीको व्यवस्थापन गरिएको छ। यो संगै भेडास्रोत केन्द्रमा आवश्यक पर्ने सबै सामान खरिद गरिसकिएको छ। लामा विष्णु भेडिपालन समुहका प्रेम रोकाया भेडास्रोत केन्द्र स्थापनाले गाउँमा खुसि छाएको बताए।  

उनले भने,‘यो क्षेत्र भेडापालनका लागि उपयुक्त छ। चरन क्षेत्र छ। यहाँका स्थानीय भेडापालन प्रति निकै आकर्षित भएकोले भेडास्रोत केन्द्रको भरपुर उपयोग हुने देखिन्छ। ’हिमा गाउँपालिका उपाध्यक्ष हिमाली रोकाया र हिमा २ को वडा कार्यालयले समेत भेडास्रोत केन्द्र निर्माणमा साथ दिएका छन्।

प्रकाशित: २४ आश्विन २०७७ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App