१९ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

दलित महिलामाथि निर्घात कुटपिट

कुटपिटबाट च्यातिएको कपडासहित शोभा हरिजन। तस्बिर: नागरिक

रुपन्देहीको शुद्धोधनमा एक दलित महिलालाई ६ जनाको समूहले निर्घात कुटपिट गरेका छन्। शुद्धोधन गाउँपालिका–१ बेलवाका २४ वर्षीया शोभा हरिजनलाई २०१७ सालदेखि जोतभोग गर्दै आएको आफ्नो जग्गामा घर बनाएको निहुँमा जातीय रुपमा अपमान र गाली गलौज गर्दै कुटपिट गरिएको हो।

कुटपिटबाट हरिजनले लगाएको कपडा च्यातिएको छ भने आँखा र हातमा चोट लागेको छ। गत असोज १६ गते बेलुका घटना भए पनि न्यायको खोजी गर्दै प्रहरीमा उजुरी गरेपछि मात्रै घटना सार्वजनिक भएको हो। पीडित हरिजनले शुद्धोधन गाउँपालिका–१ वेलवा बस्ने ४० वर्षीय शन्तराम लोनिया, सोही ठाउँका ३५ वर्षीय रामकेश लोनिया, ३७ वर्षीय विहारी मल्लाहा, ३९ वर्षीय श्रीकान्ती मल्लाहा, २५ वर्षीया मञ्जु मल्लाहा र ३० वर्षीया नर्वदा मल्लाहविरुद्ध जातीय भेदभाव र महिला हिंसा कसुरमा जाहेरी दर्ता गरेकी छन्। दलित सञ्जाल सैनामैना रुपन्देहीको पहलमा प्रहरीमा जोहेरी दर्ता भएको हो।

‘मलाई लठ्ठी र हात हाने, मेरो कपडा सबै च्यातिएको छ, धन्न छिमेकीहरुले देखेर बचाए,’ उनले भनिन्। घरमा श्रीमान् नभएको मौका छोपेर जातीय रुपमा अपमान र गाली गर्दै अश्लील शब्दसमेत प्रयोग गरी कुटपिट भएकाले जातीय छुवाछुत ीकसुर र सजाय ऐन २०६८ अनुसार कारबाही गरी न्याय पाउँ भनी शोभाले जोहरी दिएकी छन्। कुटपिटसँगै १५ हजार बरारको सुनको सिक्रीसमेत लुटेको उनले बताइन्।

लालपुर्जा नभएको उक्त जग्गा आफूहरुको पुख्र्यौली भएको शोभाको भनाइ छ। इँटाको पक्की घर बनाउन लागेपछि शन्तराम लोनिया र मञ्जु मल्लाहाले छलफल गरेर मात्रै बनाउन भनेपछि रोकेको शोभाका श्रीमान् रमेश हरिजनले बताए। २२ कठ्ठा १३ धुर जग्गा भएको ३ कठ्ठा मात्रै दिन खोजेको उनको भनाइ छ।

जग्गा कारोबारीसमेत रहेका पीडकहरुले गरिब, निमुखाहरुको जग्गा हडपेर बिक्री गर्ने गरेको हरिजनको आरोप छ। पीडकपक्षले भने आफूहरुले त्यस्तो जातीय अपमान नगरेको बताएका छन्। शिक्षित र सभ्य समाजमा पनि पछिल्लोसमय जातको आधारमा भेदभाव र हिंसा बढ्दै जाँदा समाजमा सामाजिक विभेद थप मौलाउँदै गएको अभियान्ता नरबहादुर सुनारले बताए।

इलाका प्रहरी कार्यालय बुटवलले जातीय छुवाछुत र महिला हिंसा भएको भन्दै जाहेरी परेकाले आवश्यक कारबाही अघि बढाएको जनाएको छ। ६ जनालाई विपक्षी बनाई परेको किटानी जाहेरीमध्ये ५ जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक नवीन चुँदालीले जानकारी दिए। पछिल्लोसमय रुपन्देहीमा जातीय भेदभावसम्बन्धी घटनामा जाहेरी हुने क्रम बढेको छ।

प्रकाशित: २४ आश्विन २०७७ ०३:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App