पछिल्लो साता काठमाडौं उपत्यकामा ११ हजार १ सय ८६ सहित देशभर १८ हजार ८ सय ८९ कोरोना संक्रमित थपिए । यो तथ्यांकका आधारमा उपत्यकाको अवस्था भयावह हुने आँकलन गर्न थालिएको छ । कोरोना संक्रमणकै कारण पछिल्लो एक सातामा ८१ जनाले ज्यान गुमाए । देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ भने ५ सय ९० जनाले ज्यान गुमाइसकेका छन् । कोरोना पोजेटिभको कुल संख्या एक लाखनजिकै पुगेको छ ।
‘नेपालमा कोरोना सामान्य रहन्छ, तातोपानी र बेसारले यसलाई सहजै पराजित गछर्’ भन्ने प्रधानमन्त्री केपी शर्मा ओलीको तर्क र त्यस तर्कलाई समर्थन गर्दै होमा हो जोड्नेको दाबीलाई माथिको तथ्यांकले सोझै खण्डन मात्रै गर्दैन, स्थिति थप भयावह बन्दै गएको संकेत पनि गर्छ । जनस्वास्थ्य विज्ञ तथा सरकारी अधिकारीहरूको मूल्यांकनले पनि कोरोना कहर अझै भयाभव हुने देखाउँछ । प्रधानमन्त्रीलगायत सरकारी तथा जिम्मेवार तहमा बसेकाहरूले नै कोरोनालाई सामान्य रूपमा अथ्र्याएपछि सर्वसाधारणले पनि यसलाई निकै सामान्य ढंगले लिइरहेका छन् । परिणाम कोरोना नियन्त्रणभन्दा बाहिर जाने अवस्था सिर्जना हुन थालेको छ ।
स्वास्थ्य मन्त्रालयकै अधिकारीहरूले अब सरकारी प्रयासले मात्र कोरोना नियन्त्रण सम्भव नहुने बताउन थालेका छन् । ‘जनता आफैं सचेत नभए अवस्था नियन्त्रणबाहिर जान सक्छ,’ मन्त्रालयका सहायक प्रवक्ता डा. समीर अधिकारी भन्छन्, ‘कोरोना नियन्त्रण र रोकथाम स्वास्थ्य संस्थाहरूले मात्र पार लगाउन सम्भव छैन, सबैको भूमिका र व्यवहारमा परिवर्तन आवश्यक छ तर अहिलेसम्म त्यस्तो देखिएको छैन,’ उनले भने ।
जनस्वास्थ्यविद्हरू पनि कोरोना संक्रमणको दरले सरकारको प्रयासलाई फिक्का बनाइदिएको बताउँछन् । स्वयं स्वास्थ्य मन्त्रालयका अधिकारीहरू पनि यस कुरामा सहमत छन् । ‘सरकारले क्षमताअनुसार काम गरिरहेको छ तर संक्रमण दर हेर्दा हाम्रो प्रयास धेरै पछि परिसकेको छ,’ मन्त्रालयका एक उच्च अधिकारीले भने ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने ज्वरोका बिरामीलाई सिटामोलको सहज व्यवस्था र सास फेर्न गाह्रो भएकालाई अक्सिजन सहज ढंगले कसरी उपलब्ध गराउन सकिन्छ भन्दै हाल क्षमता अभिवृद्धिको प्रयास भइरहेको बताउँछन् ।
बढ्दो संक्रमण दरलाई ध्यानमा राखेर सरकारको तयारी के छ त ? स्वास्थ्य मन्त्रालयका अधिकारीहरू भने ज्वरोका बिरामीलाई सिटामोलको सहज व्यवस्था र सास फेर्न गाह्रो भएकालाई अक्सिजन सहज ढंगले कसरी उपलब्ध गराउन सकिन्छ भन्दै हाल क्षमता अभिवृद्धिको प्रयास भइरहेको बताउँछन् ।
उनीहरूको एउटै तर्क छ, ‘कोरोनाको औषधि पत्ता लागेको छैन र नेपालभन्दा सम्पन्न मुलुकहरूको अवस्था पनि कमजोर छ, त्यसैले नागरिक आफैं सचेत हुनुपर्छ ।’ मन्त्रालयका सहायक प्रवक्ता अधिकारी सरकारले आफ्नो क्षमताअनुसार काम गरिरहे पनि नागरिक जिम्मेवार नहुँदा समस्या भइरहेको बताउँछन् ।
स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले अहिलेकै गतिमा संक्रमण बढ्दै गए नेपालको स्वास्थ्य प्रणालीले थेग्न नसक्ने बताइसकेका छन् । कोरोना नियन्त्रणका लागि गठन भएका सरकारी संयन्त्र तथा समग्र सरकारका गतिविधि हेर्दा कोरोना नियन्त्रणभन्दा पनि शक्ति र सत्ताको जोडघटाउमै ध्यान केन्द्रित देखिन्छ ।
पछिल्ला केही दिनयता काठमाडौं उपत्यकामा सरकारी तथा निजी अस्पतालमा समेत सहजै आइसियु र भेन्टिलेटरसहितका शड्ढयाको अभाव भएको गुनासा सुनिन थालेका छन् । तर सरकारी अधिकारी भने यसमा सहमत छैनन् । मन्त्रालयका सहायक प्रवक्ता अधिकारी अहिले नै आइसियु र भेन्टिलेटर अभाव भइनसकेको दाबी गर्छन् ।
‘कतिपय अस्पतालमा बेड उपलब्ध नभएको हुन सक्छ तर सबैतिर बेड नपाउने अवस्था आइसकेको छैन,’ उनले भने, ‘एउटा अस्पतालमा नभए अर्काेमा पाउन सकिन्छ ।’
स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार उपत्यकाका सरकारी अस्पतालमा १ सय २१ र निजी अस्पतालमा ७२ गरी १ सय ९३ आइसियु उपलब्ध छन् । तीमध्ये ८२ वटामा बिरामी उपचाररत छन् ।
त्यस्तै भेन्टिलेटरको संख्या सरकारी अस्पतालमा ५४ र निजीमा २८ गरी ८२ रहेको छ । तीमध्य २७ वटामा मात्र बिरामीको उपचार भइरहेको छ । यस अर्थमा अहिल्यै आइसियु र भेन्टिलेटर अभाव भइनसकेको सरकारी अधिकारीहरूको भनाइ छ ।
प्रकाशित: २३ आश्विन २०७७ ०१:३१ शुक्रबार