मकवानपुरको बकैया गाउँपालिकामा आफ्नै सुत्ने कोठाभित्र एक युवक शंकास्पद अवस्थामा मृत फेला परेपछि प्रहरीले श्रीमती, आमा र भाइसहित पाँच जनालाई नियन्त्रणमा लिएर ज्यान सम्बन्धी कसुरमा अनुसन्धान थालेको छ।
बकैया गाउँपालिका वडा नं-१२ धारापानी बस्ने मानबहादुर खत्रीका ३५ वर्षीय छोरा राज कुमार खत्री आफ्नै घरको कोठामा मृत अवस्थामा भेटिएका हुन्। घटना भदौ १९ गते दिउँसो करिब १ बजे सार्वजनिक भएको थियो।
घटनाको जानकारी पाउनासाथ इलाका प्रहरी कार्यालय ठिङ्गनबाट प्रहरी निरीक्षक सुशान्त मिश्रको कमाण्डमा खटिएको टोलीले घटनास्थललाई नियन्त्रणमा लिई सुरक्षित राखेको थियो।
घटना रहस्यमय देखिएपछि विस्तृत अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक (प्र.उ.) श्याम बहादुर खत्रीको कमाण्डमा घटनास्थल जाँच प्रविधि टोली तथा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक मुचुल्का तयार गरी शंकास्पद देखिएका पाँच जनालाई नियन्त्रणमा लिएको छ।
पक्राउ पर्नेहरूमा मृतककी ३५ वर्षीया श्रीमती सलिना घले, ६० वर्षीया आमा गोमा खत्री, ३३ वर्षीय भाइ दिनेश खत्री तथा स्थानीय ४५ वर्षीय अमर खत्री र ४५ वर्षीय राजेन्द्र घले रहेका छन्।
उनीहरू सबैलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको हिरासतमा राखेर अनुसन्धान भइरहेको छ। घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि हेटौंडा अस्पताल पठाइएको थियो।
भदौ २२ गते दिउँसो २ बजे पोस्टमार्टम सम्पन्न भएपछि शव मृतककी दिदी सजिना खत्रीले बुझेर लगेको प्रहरीले जनाएको छ। घटना हत्या हो वा अन्य कुनै कारण भन्नेबारे विस्तृत पोस्टमार्टम रिपोर्ट र अनुसन्धानपछि मात्र खुल्ने प्रहरीको भनाइ छ।
प्रकाशित: २२ भाद्र २०८३ १६:३८ सोमबार





