१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आठ दिनपछि आफन्तले बुझे शव

सम्झनाको बलात्कार र हत्या प्रकरण

सम्झनाको बलात्कारपछि हत्या घटनाका अरोपित राजेन्द्र बोहरालाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्दै प्रहरी। तस्बिर: जगत/नागरिक

बलात्कारपछि हत्या गरिएकी १२ वर्षीया सम्झना कामीको शव आठ दिनपछि आफन्तले बुझेर परम्पराअनुसार दाहसंस्कार गरेका छन्। मष्टा गाउँपालिका–२ की उनको असोज ७ गते हत्या भएको थियो। दोषीलाई चाँडोभन्दा चाँडो कानुनी कठघरामा ल्याएर कडाभन्दा कडा सजाय नदिएसम्म र पीडितले न्याय नपाएसम्म शव नबुझ्ने अडान परिवारको थियो। मंगलबार जिल्ला प्रशासन कार्यालयमा सर्वदलिय–सर्वपक्षीय बैठकपछि घटनाका आरोपित राजेन्द्र बोहरालाई प्रहरीले साँझ सार्वजनिक गरेपछि परिवार सम्झनाको शव बुझ्न राजी भएको हो।

सम्झनाका काका बालम कामीले भने, ‘छोरीको शव होइन, सडेर बचेको हड्डी बुझेका छौं। न्याय मिल्ने आशा छ। प्रहरी प्रशासन र अदालतले के गर्ने हुन्, सबै अधिकार उनीहरूकै हातमा छ। हामी पीडित छौं।’ जिल्ला प्रशासनमा बसेको सर्वदलीय–सर्वपक्षीय बैठकको निर्णय सुनेर र जिल्ला प्रहरी कार्यालयले घटनाका मुख्य दोषीलाई सार्वजिनक गरेपछि भतिजी सम्झनाले न्याय पाउने आशा राखेर शव बुझेको उनको भनाइ छ। हत्यारालाई फाँसी दिनुपर्ने भए पनि नेपालमा त्यस्तो कानुन नभएकाले आजीवन काराबासको सजाय कुनै हालतमा हुनुपर्ने आवाज उठाए। सम्झनाको परिवारलाई गृह मन्त्रालयले राहतस्वरूप १० लाख दिने निर्णय गरेको जनाइएको छ।

असोज ७ गते दिउँसो ४ बजे घरभन्दा आधा घन्टा टाढाको सिम भन्ने ठाउँमा गाईभैंसी र गोरु बाँध्न गएकी सम्झना गोठमा पुग्न नपाउँदै अपहरणमा परेकी थिइन्। त्यसपछि सिम देवताको मन्दिर नजिकै बलात्कारपछि उनको हत्या भएको थियो। सम्झनाको पोस्टमार्टम रिपोर्ट प्रहरी कार्यालयमा आएको छ। डिएनए परीक्षणका लागि प्रक्रिया अघि बढाइसकिएको प्रहरीले जनाएको छ। स्थानीयसँग बुझ्दा र घटनास्थलको अनुसन्धान गर्दा मष्टा–२ का २० वर्षीय राजेन्द्र धामीले सम्झनाको बलात्कार र हत्या गरेको बुझिएको प्रहरीको भनाइ छ। ‘थप अनुसन्धान भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रूपक खड्काले भने, ‘राजेन्द्रविरुद्ध सम्झनाका बाजे गारेख कामीले किटानी जाहेरीसमेत दिएका छन्।’

राजेन्द्रले झिर (फलामको सुइरा), काठ, ढुंगा र अन्य वस्तु प्रयोग गरेर निर्घात तरिकाले कुटपिट गरी हत्या गरेको जनाइएको छ। प्रमाण सबै जुटिसक्दा पनि उनले घटनामा आफ्नो संलग्नता रहेको अझै स्वीकार गरेको छैन। यसअघि गाउँकै दमाई जातिकी १३ वर्षीया बालिकालाई गत साउन २९ गते बलात्कार गरेको र केटाकेटी पक्ष मिलेर गाउँमै लुकाएको भन्ने लिखित जाहेरी पनि प्रहरीमा पुगेको छ। राजेन्द्रमाथि २०७५ मंसिर १३ गते गाउँकै शेरबहादुर कामीकी ११ वर्षीया छोरा रूपेश कामीलाई सदावहार वनभित्र उल्टो हँसियाले घाँटीमा हानेर भीरबाट खसाएको बहना बनाई कानमा लगाइएको सुनको मुद्रा लगेर भारत गएको, भाउजू नाता पर्नेलाई जर्बजस्ती करणी गरेको लगायत आरोप छन्। त्यस्तै चोरी, लुटपात र अन्य आपराधिक घटनामा समेत उनको संग्लनता रहेको खुलेको छ।

गाउँका दलित बालिका मात्र बलात्कृत हुनुमा गरिबी र कथित उपल्लो जाति हुनुको अहंकार हुन सक्ने एक अध्यनले जनाएको छ। १० जना दमाई परिवारको बस्ने घर आफ्ना नाममा नापीनक्सा भए पनि ११ कामी परिवारका भने घरजग्गा आफ्ना नाममा छैन। गैरदिलतको डरले सबै घटना लुकाउन बाध्य हुने दलित समुदाय सरकारी नियमभन्दा पनि गाउँका मालिकको नियम पालना गनुपर्ने बाध्यतामा रहेको बताइएको छ।

प्रकाशित: १५ आश्विन २०७७ ०३:३० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App