१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

पोखरामा डा. केसीको समर्थनमा दिनहुँ प्रदर्शन

जागौं पोखरा अभियान’ले आइतबार डा. गोविन्द केसीको समर्थनमा पोखरामा निकालेको प्रदर्शन। तस्बिर: उमेश पुन/नागरिक

चिकित्सा शिक्षामा सुधारका माग राखेर १९ औं पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको पक्षमा पोखरामा दिनहुँ प्रदर्शन हुन थालेको छ। डा. केसीका समर्थकहरुले दैनिक रुपमा पोखराका विभिन्न ठाउँमा प्रदर्शन गर्दै आएका छन्। ‘जागौं पोखरा अभियान’को नेतृत्वमा पोखरामा केसी समर्थनमा प्रदर्शन जारी राखिएको संयोजक शिरिष गुरुङले बताइन्।

प्रदर्शनका दिनहरु थपिदै जाँदा प्रदर्शन थप चर्काउँदै लगिएको छ। सुरुमा मौन प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरुले पछिल्ला दिनमा भने नारा, जुलुससमेत गर्न थालेका छन्। प्रदर्शनको पाचौं दिन आइतबार प्रदर्शनकारीले थाल, नाङ्लो ठटाउँदै नाराबाजीसमेत गरेका थिए।

पोखराका विभिन्न चोकहरुमा कहिले उभिएर त कहिले -याली निकालेर प्रदर्शनकारीले केसीका माग पूरा गर्न दवाब दिँदै आएका छन्। प्रदर्शनकारीहरुले प्रदर्शनको तरिकासँगै ठाउँ पनि दैनिक रुपमा परिवर्तन गर्दै आएका छन्। आइतबार भने पोखराको सभागृह चोकबाट मानव अधिकारचोक चिप्लेढुंगासम्म प्रदर्शन गरेका थिए। ‘सुतिरहेका जनता र निदाइरहेको सरकारलाई जगाउनका लागि हामीले फरक/फरक तरिका अप्नाएका हौं,’ संयोजक गुरुङले भनिन्।

केसीको माग जायज भएकाले उनको समर्थनमा प्रदर्शन गरिएको संयोजक गुरुङले बताइन्। डा.केसीका मागहरु एकदम जायज छन्, ‘उनले भनिन्,‘त्यहि भएर ति मागहरु पूरा गर्नका लागि दवाब दिन हामी सडकमा आएका हौं।’

मेडिकल माफियाको अन्त्य गर्ने, शिक्षा र स्वास्थ्य सुलभ हुनुपर्छ भन्ने माग नेपाल र नेपालीको लागि अपरिहार्य भएको उनको भनाई छ।

‘जागौं पोखरा अभियान’ले दवाबमूलक प्रदर्शन जारी राख्ने जनाएको छ। ‘डा.केसीका माग जबसम्म पूरा हुँदैन, तबसम्म हाम्रो आन्दोलन जारी रहन्छ,’उनले भनिन्।

‘जागौं पोखरा अभियान’ सामाजिक विकृति, विसंगतिका बिरुद्ध आवाज उठाउने संस्था हो। साथै यसले विकासमा जनसहभागिता हुनुपर्छ भन्दै आफैं पनि पोखराका सडकमा रहेका खाल्डाखुल्डी पुर्नेलगायतका कार्यलाई अभियानकै रुपमा पनि अगाडि बढाउँदै आएको छ।

प्रकाशित: १२ आश्विन २०७७ ०१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App