७ वैशाख २०८१ शुक्रबार
समाज

एसिड आक्रमणबारे सरकारले ल्यायो अध्यादेश, यस्तो छ सजायको व्यवस्था

सरकारले तेजाब (एसिड) आक्रमणबारे कडा सजायको व्यवस्थासहित अध्यादेश ल्याएको छ। बिहीबारको मन्त्रिपरिषद् बैठकले फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्वन्धी ऐन संशोधन गर्न बनेको अध्यादेश पास गरेको हो। अध्यादेश कार्यान्वनको लागि राष्ट्रपतिबाट पास हुन भने बाँकी छ। राष्ट्रपतिबाट अध्यादेश पास भएसँगै कानुनको रुपमा आउने छ।

दुवै आँखा जली वा क्षति भई पूर्णरुपमा दृष्टि नष्ट भएमा, दुवै कान जली वा क्षति भई सन्ने शक्ति पूर्णरुपमा नष्ट भएमा, नाक जली वा क्षति भई काम नलाग्ने भएमा, अनुहार पूर्णरुपमा जली वा क्षति भई कुरुप भएमा, महिला भए दुवै स्तन जली वा क्षती भई काम नलाग्ने भएमा वा कसैको यौनाङ्ग जली वा क्षति भई नासिएमा त्यस्तफ कसूर गर्ने वा गराउने व्यक्तिलाई वीस वर्ष कैद र दशलाख जरिवाना हुने व्यवस्था कायम गरिएको छ।

एउटा, आँखा, एउटा कान, जली वा क्षति भई काम नलाग्ने भएमा, आंशिक रुपमा अनुहार जली वा क्षति भई कुरुप भएमा, महिला भए एउटा स्तन जली वा क्षति भई काम नलाग्ने भएमा, दुबै हात जली काम नलाग्ने भएमा वा दुबै गोडा पूर्ण रुपमा जलेर काम नलाग्ने भएमा, टाउकोको कुनै भाग जली क्षति भएमा वा मेरुदण्ड जली वा क्षति भई काम नलागने भएमा १० देखि २० वर्षसम्म कैद र ७ लाखदेखि १० लाखस्म्म जरिवाना गर्ने व्यवस्था अध्यादेशमा गरिएको छ।  

यस्तै शरीरको कुनै अंगभंग वा शारीरिक क्षति भएमा कसूरको प्रकृति बमोजिम पाँच वर्षदेखि दश वर्षसम्म कैद र एक लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवाना गर्ने व्यवस्था गरिएको छ।  

एसिड आक्रमणबाट पीडितको तत्काल मृत्यु नभई सोही कामको परिणाम स्वरुप पछि मृत्यु भएमा ज्यान मारेको मुद्दा लाग्नेछ।  

एसिड आक्रमण गर्दा सम्बन्धित व्यक्तिलाई नलागेमा पनि उद्योग गरेको मान्ने गरि नयाँ कानुन बनेको छ। यस्तो अवस्थामा  १० वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना हुने छ।

जरिवाना वापत प्राप्त रकम पीडितले पाउने व्यवस्था अध्यादेशमा गरिएको छ।

अध्यादेशले औषधोपचारको व्यवस्थासमेत गरेको छ। कसूरमा अभियुक्त पत्ता नलागेको वा अन्य कुनै कारणले अदालतमा मुद्दा दायर हुन नसकेमा पीडितलाई अस्पतालमा भर्नाभई औषधोपचार गर्दा लागेको बिल कमोजिमको रकम सम्वन्धित अनुसन्धान गर्ने अधिकारी र सम्वन्धित सरकारी वकिलको सिफारिसमा कोषबाट अस्पताललाई उपलब्ध गराउन सकिने व्यवस्था गरिएको छ।

 

प्रकाशित: ९ आश्विन २०७७ ०९:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App