१६ चैत्र २०८० शुक्रबार
समाज

मधेसमा मौलाउँदै अपराध

गत वैशाख ३० गत्ते लहान नगरपालिका– १७ गोविन्दपुर गाउँका ३७ वर्षीय मोहम्मद सफिदको हत्या भयो । शरीर र टाउ छुट्टाछुट्टै अवस्थामा प्रहरीले अर्को दिन शव फेला पा-यो । घटना भएको चार महिना पूरा हुँदा पनि हत्यामा संलग्न अझै पत्ता लागेका छैनन् । स्थानीय मोहम्मद इसाकका चार छोरामध्ये सफिद कान्छा थिए । घरनजिकै रहेको बारीमा सफिदको टाउको नभएको शव भेटिएको थियो । छातीदेखि पेटससम्म गहिरो चोट थियो ।  

कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता भए पनि घटनाको चार महिनासम्म पनि घटनाको विषयमा प्रहरी अझै बेखबर छ । यस्तै गत जेठ २३ गत्ते लहान नगरपालिका–१९ का नुरजहा खातुनको हत्या भयो । समान्य विवादमा गाउँमा झगडा भएपछि अर्को पक्षको कुटाइबाट घाइते भएका उनको उपचारको क्रममा मृत्यु भयो । प्रहरी कर्तव्य ज्यान कसुरमा मुद्दा दर्ता गरेर चार जना प्रतिवादी ठहर गरेको छ । तर अहिलेसम्म चारै जना प्रतिवादीलाई प्रहरीले पक्राउ गर्न सकेको छैन ।  

यस्तै गत्त साउन ३१ गते गरुडा नगरपालिका– ८, जिंगडियामा २२ वर्षीय निरन्जन रामको घाँटी रेटेर हत्या गरिएको थियो । भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पूजारी श्रीराम साहको गोली हानी हत्या भयो । मन्दिरमा पूजा सकेर खाना खान बसेका साहको हत्या भएको थियो ।  

चालु आर्थिक वर्षको साउन र भदौमा मात्रै यस प्रदेशमा १४ जनाको हत्या भएको छ । हत्यामा संलग्न रहेको आरोपमा प्रहरी कार्यालयमा ४५ जनाविरुद्ध किटानी जाहेरी दर्ता भएको छ । अहिलेसम्म २२ जना पक्राउ परेका छन् भने २३ जना अझै फरार छन्।

यि केही उदाहरणी घटनाले प्रदेश २ मा आपराधिक घटना बढ्दै गएको देखिन्छ । लकडाउनको समयमा आवतजावत बन्द हुँदा पनि यहाँ हत्या अपराधका घटना रोकिएनन् । चालु आर्थिक वर्ष ०७७/७८ को साउन र भदौ महिनामा मात्रै यस प्रदेशमा १४ जनाको हत्या भएको प्रहरीको तथ्यांक छ । यि घटनामा ४५ जना प्रतिवादी मध्ये २२ जना पक्राउ परेका छन् भने २३ जना अझै फरार रहेका छन् । आर्थिक वर्ष ०७४/०७५ मा यस प्रदेशमा एक सय २५ जनाको हत्या भएको थियो । यस्तै आर्थिक वर्ष ०७५/७६ मा एक सय २० जनाको हत्या र आर्थिक वर्ष ०७६/७७ मा ९० जनाको हत्या भएको प्रहरीको तथ्यांक छ ।  

प्रहरी झुक्याउने अपराध
गत माघ २२ गत्ते सिरहा नगरपालिकाका ककुलतीदेवी दासको मृत्यु भयो । प्रहरीलाई सूचना गयो उनले विष सेवन गरेर आत्महत्या गरिन । प्रहरीले शव परीक्षणका लागि जिल्ला अस्पताल सिरहा पु-यायो । विष सेवन गरी आत्महत्या गरेको सूचना पाएको प्रहरीलाई शव परीक्षण रिपोर्टले आश्चर्यमा प-यो । उक्त रिपोर्टमा दासको बाहिरी बस्तुको प्रहारबाट फियोमा चोट लागि रगत जमेको कारण मृत्यु भएको उल्लेख थियो । त्यसपछि प्रहरीले हत्या गर्ने व्यक्तिको पहिचान गर्न अनुसन्धान सुरु ग-यो ।  

‘रिपोर्ट प्राप्त भएपछि विशेष टोली परिचालन गरी घटनाको शुक्ष्म अनुसन्धान सुरु गर्यौं,’ सिरहा प्रहरी प्रमुख एसपी उमाशंकर पंजीयारले भने, ‘घटनाको अनुसन्धान गर्दै जाँदा हत्या भएको निचोडमा पुगेका छौं ।’ घटनाको अघिल्लो राति मृतकको घरमा झगडा भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगायो । मृतकको मोबाइलमा आएको फोनको विषयमा सासू बुहारी र पतीसँग झगडा हुँदा कुटपिट भएको प्रहरीले पत्ता लगायो । सोही क्रममा मृतकको फियोमा चोट लाग्न गएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।  

प्रहरीले घटनामा संलग्नमा संलग्न रहेको आरोपमा मृतककी सासू र पतीलाई पक्राउ गरेर कारबाही अघि बढाएको छ । मधेसमा हुने अधिकांश घटनाले यसरी अर्कै रूप लिने गरेका छन् । प्रहरी सचेत र सक्रिय नहुँदा घटनाको वास्तविक्ता लुक्दा दोषीले सजाबाट उन्मुक्ति पाउने गरेका छन् । सजाय नपाउँदा आपराधिक घटना बढ्दै गएको अधिकारकर्मीको भनाइ छ ।

रोटी–बेटीको आडमा ‘आश्रय’
नेपाल–भारत सीमा सिल भएको बेला रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहिया टोलस्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहको हत्यामा संलग्नलाई पक्राउ गर्न सबै जिल्लामा प्रहरीले खबर गरेको थियो । अनुसन्धानमा संलग्न प्रहरी स्रोतका अनुसार हत्यामा चार जना संलग्न भएको आशंका छ । दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । दुई जना अझै फरार छन् । उनीहरू हत्या गरेकै दिन भारत पुगेको अनुसन्धानबाट पुष्टि भएको छ ।  

यस्तै भदौ २९ गत्ते सप्तरीको डाक्नेश्वरी नगरपालिका–७ का १७ वर्षीया किशोरीको सामुहिक बलात्कार भयो । बलात्कारपछि उनीहरू सीमापारी फरार भए । प्रहरीले भारतीय समकक्षीसँगको सहयोगमा दुई जनालाई पक्राउ गर्न सफल भयो, तर दुई जना अझै भारत लुकेर बसिरहेका छन् । सीमा नाका सिल भएको अवस्थामा कसरी सशस्त्र प्रहरी र नेपाल प्रहरीको सुरक्षा घेरा छलेर ‘आपराधी’ भारत पुगेका छन् भन्ने प्रश्न खडा भएको छ ।

नेपाली भूमिमा अपराध गरेर भारतमा  लुक्ने र भारतमा अपराध गरे लगत्तै नेपालमा आएर लुक्ने गरेको प्रहरी अधिकारीले बताएका छन् ।  

नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि चैत पहिलो साताबाटै नेपाल–भारत सीमाबाट आवतजावतमा कडाइ गरिएको छ  । हरेक ५० मिटर दूरीमा सशस्त्र प्रहरी र भित्री घेरामा नेपाल प्रहरी परिचालन भएका छन् । नेपाल–भारत चार सय ३५ किलोमिटर लम्बाईको प्रदेश २ को सीमानाकामा अहिलेसम्मकै सबैभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । अत्यावश्यक बस्तु तथा सेवा सम्बन्धी सवारी साधन पनि प्रशासन र प्रहरीको मात्रै अनुमतिमा सञ्चालन हुन पाउँछन् ।

नेपाली भूमिमा अपराध गरेर भारतमा लुक्ने र भारतमा अपराध गरे लगत्तै नेपालमा आएर लुक्ने गरेको प्रहरी अधिकारीले बताएका छन् । खुला सीमाक्षेत्रका कारण अपराधिहरू अर्को देशमा पुगेर लुक्ने गरेका छन् । नेपाल र भारतका सीमावर्ती क्षेत्रका स्थानीयबीच रोटी–बेटीको सम्बन्ध रहेको छ । यो सम्बन्धलाई केही अपराधीले दुरूपयोग गर्दै आएका छन् ।  

नेपालमा आपराध गरेर भारतमा रहेका आफन्तकोमा आश्रय लिने गरेका छन् । ‘नातासम्बन्धको आवरणमा अपराधीलाई लुक्न सजिलो भएको छ,’ रौतहटका प्रहरी प्रमुख एसपी शिद्धिबिक्रम साहले भने, ‘नेपालका प्रहरी भारत गएर सहजै अपराधी/आरोपितलाई पक्राउ गर्न मिल्दैन, यसका लागि कानुनी रित पूरा गर्नुपर्छ ।’ भारतका प्रहरीलाई पनि यहीँ जटिलता रहेको ।

प्रकाशित: ८ आश्विन २०७७ ०४:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App