२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

स्वास्थ्य बिग्रएपछि डा. केसीलाई काठमाडौं लगिँदै

चिकित्सा शिक्षा सुधारका लागि कर्णालीको जुम्लामा आमरण अनशन बसिरहेका डा. गोविन्द केसीलाई सोमबार नेपालगन्ज पु¥याइएको छ। आठौं दिनसम्म अनशन बसेका डा. केसीको स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि उपचारका लागि काठमाडौं लान लागिएको छ। सोमबार अबेर भएपछि डा. केसीलाई नेपालगन्जमै राखिएको छ।

मंगलबार बिहान उपचारका लागि काठमाडौं लगिने बताइएको छ। जुम्ला–नेपालगन्जको नियमित उडान तालिकामा हवाइजहाजमार्फत उनलाई नेपालगन्ज पु-याइएको छ। चिकित्सा शिक्षा सुधारका विभिन्न माग राख्दै उनी चन्दननाथ नगरपालिका रानीचौरस्थित बाबिरामस्ट मन्दिरमा आठ दिनदेखि अनशन बसेका थिए। छाती दुख्ने, सास फेर्न समस्या हुन थालेपछि अनशन बसेको स्थानबाट उनलाई शनिबार राति कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको थियो। सोही दिनदेखि डा. केसीलाई आइसियुमा राखिएको थियो।

रक्तचाप, मुटुको गति, शरीरको तापक्रम, अक्सिजनको मात्रा, पिसाबको मात्रालगायत स्वास्थ्य जाँच गर्न नमान्दा झन् समस्या भएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ। ‘डा. केसीको अवस्था गम्भीर बन्दै गएको छ,’ कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका चिकित्सक डा. पूजन रोकायाले भने, ‘उहाँको उपचार गर्न खोज्दासमेत उपचार गर्न दिनुभएन।’ अनशन बसेका सुरुका दिनमा डा. केसीले अनशनस्थलमै बिरामी उपचार गरेका थिए।

स्वास्थ्यमा समस्या आएपछि अनशनरत डा. केसी आफैं काठमाडौं जान खोजेको जिल्ला प्रशासन कार्यालय जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जनाए। ‘हामीले डा. केसीलाई केही हस्तक्षेप गरेका थिएनौं,’ उनले भने, ‘उहाँ (डा. केसी) विज्ञप्ति निकालेर आफैं काठमाडौं जान नेपालगन्ज पुग्नुभयो।’

प्रकाशित: ६ आश्विन २०७७ ०२:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App