१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

निर्माण सम्पन्न भएकाे दुई महिनामै भत्कियो सिँचाइ पोखरी

संसद कोषको रकम दुरुपयोग

निर्माण सम्पन्न भएको दुई महिनामै भत्किएको सिँचाइ पोखरी। तस्बिरः पुष्पराज जोशी/नागरिक

सिँचाइका लागि निर्माण गरिएको पोखरी सम्पन्न भएको दुई महिना पनि टिकेन। कैलालीको चुरे गाउँपालिका–१, पखिरमा निर्माण गरिएको सिँचाइ पोखरी दुई महिनामै भत्किएको हो।  कैलाली क्षेत्र नम्बर ४ का संघीय संसद लेखराज भट्टको निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रम अन्तर्गत छुट्याइएको ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको पोखरी भत्किँदा स्थानीय किसान आक्रोसित बनेका छन्।

गाउँभरिका ८५ घरधुरीका किसानको बारीमा बाहै्र महिना सिँचाइ पुगोस् भनेर निर्माण गरिएको सिँचाइ पोखरी निर्माण भएको दुई महिनामै भत्किएको स्थानीय किसान लालबहादुर बोहराले बताए। उनले भने,‘सिँचाइ पोखेरी निर्माणमा प्रयोग गरिएका सामग्री नै कमसल भएका कारण भत्कियो।’ स्टमेटमा आरसिसी ढलान गरिनुपर्ने उल्लेख भए पनि त्यहाँ ढुंगाको पर्खाला लगाएर एकतर्फ मात्रै प्लष्ट गरिएको उनले बताए।  

उनले भने,‘पोखरी निर्माणमा एक प्रतिशत पनि स्टमेट अनुसार काम भएको छैन, यो सरासर भ्रष्टाचार भएको छ।’ किसानको छल्ने काम भएको बताउँदै उनले भने,‘सिँचाइका लागि पोखरी बन्ने भयो भन्दा खुसी थियौँ, भत्किदा मन कटक्क भएको छ।’ यसपालिको हिउँदे तरकारी बाली लगाउने सोच बनाएको बताउँदै अर्का किसान गंगाराम सिम्तोलीले भने,‘तरकारी लगाउनका लागि गरा तयार बनाउँदै थें, सिँचाइका लागि बनाइएको पोखरी नै भत्किएपछि सपना चकनाचुर भएको छ।’ यहाँका किसान प्रायः सुन्तला खेती र बेमौसमी तरकारी खेतीमा निर्भर छन्। पोखरी निर्माण गर्दा आरसिसी ढलान हुनुपर्ने भए पनि त्यो नभएको बताउँदै अर्का किसान टेकबहादुर बमले भने, ‘स्टमेटमा एक छ, तर काम अर्कै भयो।’ सिँचाइ पोखरी निर्माण गर्दा एक टुक्रा पनि फलामे छड प्रयोग नभएको उनले बताए। ‘पोखरी निर्माणमा एक टुक्रा पनि फलाम प्रयोग भएको छैन,’ उनले भने,‘त्यही भएर पनि पोखरी भत्किएको हुनुपर्छ।’  

किसानका लागि भनेर बनाइएको सिँचाइ पोखरी भ्रष्टाचारको एक नमूना भएको बताउँदै स्थानीय नेता टीकाराम ढुंगानाले भने, ‘गाउँपालिकाका प्रशासकीय अधिकृत र वडा कार्यालयको मिलेमतोमा कमशल सामग्री प्रयोग गर्न लगाई संस्थागत भ्रष्टाचार भएको छ।’ उनले संसद कोषको रकमको व्यापक दुरुपयोग भएको बताउँदै भने,‘गुणस्तरहीन काम गरेको ठेकेदार कम्पनीसँग मिलेर काम सम्पन्न भएको भन्दै रकम निकासा गर्नु पनि भ्रष्टाचारलाई प्रश्रय दिनु हो।’

गाउँपालिकाले निर्माणपछि अनुगमन नै नगरी निर्माण कम्पनीलाई सबै रकम निकासा गरिसकेको हुँदा अब कम्पनीलाई दण्ड सजाय दिन सकिने ठाउँ नै नराखेको गाउँपालिकालाई उनले आरोप लगाए। ‘कमसेमक अनुगमन गरिदिएको भए आज पोखरीको यस्तो हालत हुने थिएन,’ उनले भने,‘यसमा गाउँपालिकाका जनप्रतिनिधि र प्रशासकीय अधिकृतको चरम लापरवाही भएको छ।’  

दस लाख लिटर क्षमताको सिँचाइ पोखरीका लागि निर्वाचन क्षेत्र स्थानीय विकास साझेदारी कार्यक्रमबाट बजेट पारिएको बताउँदै संसदका तर्फबाट कार्यक्रम हेर्ने अनुप महताले भने,‘किसानलाई सिँचाइको लागि सहयोग पुगोस् भनेर कार्यक्रम पारेका हौँ।’ आफूहरुले स्थानीय तहलाई हस्तान्तरण गरेको बताउँदै उनले भने,‘हामीले निरीक्षण मात्रै गर्ने हो, सबै काम स्थानीय तहलाई जिम्मा दिएका हौँ, त्यहीबाट गुणस्तरहीन काम भयो।’ उनले तत्कालै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत वसन्त बोहरालाई सोधपुछ गरेर यथार्थता बुझ्ने बताए।  

सिँचाइ पोखरी गुणस्तरहीन बनाएको बताउँदै चुरे गाउँपालिकाका अध्यक्ष धनबहादुर रोक्काले भने,‘स्टमेट अनुसारको काम भएको देखिएन, त्यसमा पनि पूरै गुणस्तरहीन काम भएको रहेछ।’ उनले निर्माण कम्पनीलाई बोलाएर पुनः काम गराउने बताए।

प्रकाशित: ३० भाद्र २०७७ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App