१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

संयम र अनुशासन कोरोना खोपको विकल्प

मृत्युको मुखबाट फर्केकाको अनुभव

‘जीवन र मरणको दोसाँधमा हुँदा अजिबको छटपटी हँुदो रहेछ। सपना वा तर्कनामा केही वर्षअगाडि बितेका साथी र आफन्त हिँड जाऔं भन्दै तान्न आएका थिए। मचाहिँ जाँदै जान्नँ भन्दै बेड अठ्याएर बस्दो रहेछु। अनि बिउँझँदा हात नै दुख्नेगरी बेड समातेको पाउँथें।’

यो कोभिड–१९ ले मृत्युको मुखमा पुगेर फर्केका एक प्राज्ञको अनुभव हो। त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्रका सहप्राध्यापक डा. रञ्जनकुमार दाहाल नेपालमा बर्सेनि ठूलो धनजन क्षति गर्ने पहिरोका विज्ञ हुन्। उनले नेपालका सबै भौगर्भिक क्षेत्रमा वर्षाले हुने पहिरो प्रकोपबारे अध्ययन गरेका छन्। यसै विषयमा विद्यावारिधि र अन्य बग्रेल्ती शोधपत्र उनका नाममा छन्।

डा. रञ्जनकुमार दाहाल 

यिनै प्राज्ञको जीवनमा ५० दिनअघि ठूलो पहिरो गयो। त्यो वर्षाको पानीले ल्याएको प्राकृतिक विपद् थिएन। कोरोना भाइरसको संक्रमण र त्यसपछि उनले भोगेको कहालीलाग्दो अवस्थाको पहिरो थियो त्यो। कोरोेना भाइरससँगको लडाइँमा १३ दिन सघन उपचार कक्ष र पाँच दिन जनरल बेडमा बिताएका उनी घर फर्केर आराम गरिरहेका छन्। तर रोगले च्यापेका ती दिन र मृत्युसँगको त्यो लडाइँ एउटा दुस्वप्न बनेको छ उनलाई। ‘अस्पतालको आइसियुमा सुरुका तीन÷चार दिन, जतिबेला रोगले मलाई बेस्सरी च्यापेको थियो, त्यतिबेला ५÷६ वर्षअघि बितेका मेरा सानाबाले ल हिँड् म तँलाई लिन आएको भन्नुभयो,’ उनले सम्झे।  

यस्तै १५÷१६ वर्षअघि बितेका एक स्कुले साथी पनि उनको सपना र तर्कनामा आए। ‘ल हिँड, म आफ्नै तरिकाले गजबसँग बसिराछु,’ ती साथीले भने। ‘मैले धेरै काम गर्न बाँकी छ, म जान सक्दिनँ,’ उनी ती साथीलाई भन्थे। यही बार्तालापबीच उनी बिउँझन्थे। त्यतिबेला उनी च्याप्प ‘बेड’ नै समातिरहेका हुन्थे।  

दाहालले भोगेको जस्तै मृत्यु सन्निकट अनुभव अर्थात् ‘नियर डेथ एक्सपेरियन्स’ बारे विश्वमा धेरै अध्ययन र अनुसन्धान भएका छन्। कैयौं शोधपत्र र पुस्तक यही विषयमा लेखिएका छन्। संसारका विभिन्न धर्म र संस्कृतिअनुसार यी अनुभव फरक भए पनि एउटा कुरामा समानता छ, त्यो हो मृत्यु भइसकेका आफन्त तथा साथीभाइसँगको जम्काभेट। त्यसबाहेक हावामा तैरिएको शरीर, अवचेतन शरीर वरपरका दृश्यलाई परबाट हेर्ने, आध्यात्मिक शक्ति तथा ईश्वरसँगको भेट, जीवनका पुराना घटनाका स्मरणलगायत अनुभव हुने र अन्ततः शरीरमा फेरि फर्कनेलगायतका घटना त्यस्ता व्यक्तिहरूले सस्मरण गरेको विभिन्न अध्ययनले देखाएका छन्। ‘यस्ता अनौठा तर्कना र अनुभवले डरलाग्दो छटपटी हुँदो रहेछ,’ दाहालले भने, ‘सायद उपचारमा प्रयोग भएका औषधिले लठ्याएर त्यसो भएको हुन सक्छ।

न्युयोर्क टाइम्समा हालै प्रकाशित एक लेखमा दर्शनशास्त्रका प्राध्यापक जोन मार्टिन फिसर यस्ताखाले अनुभव ऐतिहासिक तथा सांस्कृतिक हिसाबले देखिएको बताउँछन्। ‘यस्ता परिघटनाले मानिसको मन दिमागभन्दा फरक हुने तर दिमागले काम नगर्दा पनि मनले काम गर्ने र त्यस्तो बेला मनले ‘स्वर्गीय’ र गैरभौतिक वास्तविकताको सम्पर्क गर्न सक्ने देखाउँछन्,’ फिसर लेख्छन्। न्युरो सर्जन इवान अलेक्जेन्डरले लेखेको एक पुस्तक ‘प्रुफ अप हेभेन’ को एक अनुच्छेद ‘द अल्ट्रा रियल’ मा भनेका छन्, ‘धेरै मानिससँग यस्ता अनुभव छन्। यी कुरा म बस्दै आएका घर र अगेनामा बलेका दाउराजस्तै वास्तविक हुन् तर मैले वर्षाैंसम्म हासिल गरेको मेडिकल अनुभव र वैज्ञानिक दृष्टिकोणसंँग यस्ता कुराका लागि ठाउँ छैन।’

सामाजिक घृणा  

बुबाआमा, भाइबुहारी, पत्नी र चार केटाकेटीसहितको संयुक्त परिवारमा राजधानीमा बस्दै आएका दाहाललाई त्यतिबेला लाग्थ्यो, ‘म बाँचिनँ भने मलाई प्लास्टिकमा बेरेर लगेर गाड्छन वा जलाउँछन् र परिवारले मेरो लाससमेत हेर्न पाउँदैन। साच्चै मैले के नै पाप गरेको रहेछु, यस्तो दुःख पाउनुप-यो।’ हेरचाह आवश्यक रहेका वृद्ध बुवाआमा, इन्जिनियरिङ गर्दै गरेकी एक छोरी र यो वर्षको एसइई परीक्षाको तयारी गरिरहेकी अर्की छोरी, पत्नी र भाइबुहारीको साथ गुमाउने हो कि भन्ने चिन्ता दाहाललाई हुन्थ्यो।

सामाजिक सञ्जालमा यो रोगका संक्रमितलाई लिएर व्यक्त हुने आमधारणाप्रति दाहाल गुनासो गर्छन्। ‘मलाई कोभिड–१९ संक्रमण भएको भनेर केहीले सामाजिक सञ्जालमा ‘मर्दैछ’ भन्नेसम्मको हल्ला चलाए। आफू बसोबास गर्दै आएको सिनामंगल गैरीगाउँमा तरकारी बेच्न आएका एकजनालाई छिमेकीले त्यो घरमा नजाऊ, कोरोना लागेको छ भनेछन्,’ उनी भन्छन्, ‘मेरी आमाले मलाई होइन, मेरा छोरालाई हो संक्रमण भएको भनेर तरकारी किन्नुभएछ।’ त्यसो त दाहालको घरका कुनै सदस्यलाई कोरोना पोजेटिभ देखिएको थिएन।  

अहिले पनि ४०/५० मिटर परका छिमेकी बरन्डामा देखिँदा नबोली भित्र छिर्दा दाहाल दुखी हुन्छन्। ‘राजधानीको शिक्षित समाजले पनि यो रोगबारे राम्रोसँग बुझेका छैनन्। सही सूचना तथा जानकारी नपुगेका कारण गाउँमा त्यस्तो हुनु एउटा कुरा हो तर सहरले पनि सामाजिक भेदभाव गर्नु सही होइन,’ उनको भनाइ छ।  

मृत्युको नजिक पुग्दा दाहाललाई आएका धेरै सम्झना र तर्कनामध्ये उनको भर्खर किनेको निसानको सेडान कार चढ्ने रहर पनि थियो।। उनले त्यो गाडी किनेर दुईपटक मात्र चढेका थिए। ‘भर्खरै ठूलो रहरले ऋणधन गरी किनेको निसानको सेडान कार प्रयोग गर्न नपाउने भएँ भन्ने मलाई त्यतिबेला लाग्थ्यो,’ उनी भन्छन्।

विपद व्यवस्थापन ‘शून्य’

विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ निर्माणमा सक्रिय योगदान पु¥याएका दाहालले पछिल्ला महिनामा प्रदेशप्रदेशमा गएर त्यहाँका प्रदेशसभा सदस्यलाई विपद् व्यवस्थापनबारे जानकारी गराएका थिए। ‘कोभिड–१९ महामारीले विपद् व्यवस्थापनामा देश शून्यको स्थितिमा रहेको देखाएको छ,’ उनी भन्छन्, ‘राजनीतिक चेतनाका हिसाबमा र अन्य केही क्षेत्रमा नेपालमा प्रगति भएको छ तर विपद् व्यवस्थापनमा हामी चुकेका रहेछौं र हाम्रो राजनीतिक प्रणाली यसमा दरो हुन सकेको रहेनछ।’

संयम र अनुशासन कोरोना खोपको विकल्प  

आफ्नै असावधानी र हेलचक्र्याइँले संक्रमण भएको ठान्छन् दाहाल। ‘मेरो जस्तो हालत तपाईंहरू कसैको नहोस्। मास्क, सेनिटाइजर र सामाजिक दूरीलाई जीवनको प्रमुख आधार बनाएर कोभिडसँग लड्न म अनुरोध गर्छु,’ उनी भन्छन्। पछिल्लो समय निषेधाज्ञा खुकुलो भएपछि संक्रमण हुन नदिने डा. दाहालको सुझाव छ, ‘अबको न्यु नर्मलमा हामीले हाम्रा आनीबानी सुधार्नैपर्छ। कोरोनाको खोप र उपचारको निक्र्योल भइनसकेको अवस्थामा व्यक्तिगत अनुशासन र संयम नै खोप हुन्।’  

अबको योजना  

कोभिड आक्रमणपछि अबको दोस्रो जीवन कसरी जिउने भन्ने विषयमा उनी भन्छन्, ‘मैले मेरो प्राज्ञिक योगदानलाई अझ बढी सशक्त पार्नेछु। सँगसँगै, कोरोनालाई लिएर रहेको सामाजिक विभेद र घृणालाई कम गर्ने मेरा प्रयास हुनेछ ।’

प्रकाशित: २९ भाद्र २०७७ ०१:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App