प्रदेश १ देखि ५ सम्म विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन भन्दै मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनी जारी गरेको छ।
महाशाखाले आइतबार बिहान ६ बजे आगामी २४ घण्टा (सोमबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ– प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले ती स्थानका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।
अविरल वर्षाका कारण आजै बिहान मात्र सिन्धुपाल्चोकको बाह्रबिसेस्थित घुम्थाङमा भीषण पहिरो जाँदा ९ जनाको मृत्यु भएको छ भने यो खबर लेख्दासम्मा २२ जना हराइरहेका छन्।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारीसम्म वर्षा हुने सम्भावना छ।जसअनुसार आज आइतबार दिउँसो देशभर सामान्यतया बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
यस्तै राति पनि देशभर आंशिकदेखि सामान्यसम्म बदली रही केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ। प्रदेश १, बागमती प्रदेश, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
प्रकाशित: २८ भाद्र २०७७ ०७:३९ आइतबार





