coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

घुम्थाङ पहिरोः मृतकको संख्या नौ पुग्यो, २२ अझै बेपत्ता (अपडेट)

सिन्धुपाल्चोकको घुम्थाङ पहिरोमा मृत्यु हुनेको संख्या नौ पुगेको छ। पहिरोमा अझै २२ बेपत्ता छन्।  जिल्ला प्रहरी प्रमुख एसपी राजन अधिकारीले मृतक सबैको सनाखत भएको छ। उनका अनुसार पहिरोस्थलमा सात र भोटेकोसी तथा सुनकोसी नदीमा एक÷एकको शव भेटिएको हो। पहिरोमा ज्यान गुमाउनेमा नागपुजे गाउँका भक्तिमाया श्रेष्ठ (६३), ट्याक्से शेर्पा (९८), ज्ञानीमाया प्रधान (४२), भिरखर्क बिक टोलका जुनु बिक (२३), सुकुलाल बिक (२४), सन्देश बिक (८) तथा नेवार टोलका सर्किनी नेवार (६०), धनलाल नेवार (६५) र हिरामाया श्रेष्ठ (४२) छन्।

प्रहरीका अनुसार एक महिलाको शब घटनास्थल नजिक भोटेकोसी नदीको बसेरी र एक पुरुषको शब झण्डै आठ किमी तल सनकोसी नदीको बलेफीमा भेटिएको हो। घटनास्थलमा रहेका एसपी अधिकारीले बेपत्ताको खोजी र क्षतिको विवरण संकलन भइरहेको बताए। उनका अनुसार पहिरोमा भिरखर्क टोलका तीन, नागपुजेका १८ र नेवार टोलका एक जना पहिरोमा बेपत्ता छन्।  

प्रहरीको प्रारम्भिक विवरण अनुसार पहिरोले ११ घर बगाएको छ। नागपुजेका सात, भिरखर्कका दुई र नेवार टोलका दुई घर पहिरोले बगाएको हो। बाक्लो बस्ती रहेको नागपुजेमा धेरै जनधनको क्षति पुगेको प्रहरीको अनुमान छ। दुई शव नदीमा भेटिएकाले बेपत्ता कतिपयलाई पहिरोले हुत्याएर नजिकको भोटेकोसी नदी पु¥याएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ।  

अविरल वर्षासँगै आइतबार बिहान साढे दुई बजेतिर बाह्रविसे नगरपालिका–७ घुम्थाङमा बाक्लो बस्तीमाथिको भिरखर्कको ढिस्को खसेर पहिरो निम्तिएको हो। पहिरो बस्ती लछार्दै पाँच–सात सय मिटर  दुरीमा तल रहेको भोटेकोसी नदी पुगेको थियो। पहिरोको मुखैमा भिरखर्क र त्यसमुनि नागपुजे बस्ती छन्। नागपुजेमा बिक, नेवार लगायत टोल पर्छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयूक्त टोलीले बेपत्ताको खोजी गरिरहेको जिल्ला प्रहरीका सूचना अधिकारी डिएसपी प्रकाश सापकोटाले बताए।

प्रकाशित: २८ भाद्र २०७७ ०६:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App