८ वैशाख २०८१ शनिबार
समाज

सालिकमा बहादुर शाह

सामान्यतः कसैको सालिक जन्मस्थान, कर्मथलो, कतै बास बसेको वा यस्तै कुनै संयोग परेको ठाउँमा स्थापना गरिन्छ। नेपाल एकीकरणका महत्वपूर्ण अभियन्ता बहादुर शाहको गोकर्णेश्वर नगरपालिकको दक्षिणढोकासँग गोरु बेचेको साइनोसमेत छैन। तर पनि ओझेलमा परेका शाहको ७ फिट २ इन्च उचाईको ढलौटको सालिक निर्माण भएको छ।  

‘उहाँ यहाँबास बसेको हैन तर हाम्रो मनमा बस्नुभएको छ,’ बहादुर शाह सालिक स्थापना तथा संरक्षण समितिका अध्यक्ष नानीकाजी गिरीले भने, ‘नेपाल एकीकरणमा उहाँले पु-याउनु भएको अतुलनीय योगदानको कदर गर्दै सालिक बनाएकाहौँ।’ नेपाल ट्रस्टको नाममा रहेको अढाई रोपनी जग्गामा निर्मित ‘दक्षिणढोका शान्तिवाटिका’मा करिब १२ लाख रूपैयाँको लागतमा सालिक स्थापना गरिएको गिरीले जानकारी दिए।  

‘आकर्षक सालिक नियालेपछि प्रयाः मान्छेले बहादुर शाहसँग यस ठाउँको नाता सोध्छन्,’ उनले भने, ‘एकीकरण अभियानका योद्धालाई नेपालको जुनसुकै ठाउँमा पनि सम्झन सकिन्छ भन्ने गरेको छु।’ बहादुर शाहको सालिक नेपालकै पहिलो हो÷होइन भन्ने एकिन नभए पनि आफूले अन्तकतै स्थापना भएको थाहा नपाएको उनले बताए।

छरिएका टुक्राटाक्री एकीकृत गरेर विशाल राज्य बनाउन सफल व्यक्तिको कदर गर्नमा देखिएको कन्जुस्याइँ पूरा गर्न आफूले पनि उक्त सालिक निर्माणका लागि सक्दो सहयोग गरेको वाग्मती प्रदेशका भौतिक पूर्वाधार मन्त्री रामेश्वर फुयाँलको भनाइ छ। उनले थपे, ‘हामी एकातिर राम्रो गर्ने मान्छे नै भएन भन्छौँ, अर्कोतर्फ राम्रो गरेकालाई पनि जस दिन सक्दैनौँ। हाम्रो यो अग्रसरता यही रिक्तता पूर्ति गर्ने सानो प्रयास हो।’

पृथ्वीनारायण शाहको निधनपछि बाबुको एकीकरण अभियानको नेतृत्व उनका छोरा बहादुर शाहले गरेका थिए। एकीकरण अभियानको स्वर्ण कालसमेत मानिने युगको नेतृत्व गरेका बहादुर शाहले नेपालको सिमाना पूर्वमा टिष्टा र पश्चिममा कुमाउ गढवालसम्म पु¥याएका थिए। १८१४ सालमा जन्मेका बहादुर शाहले १८४२ सालमा राजेन्द्रलक्ष्मीको मृत्युपश्चात रणबहादुर शाहको नायवी ग्रहण गर्दै नेपाल एकीकरणको अभियान अघि बढाएका थिए।

‘उहाँ यहाँबास बसेको हैन, हाम्रो मन–मनमा बस्नुभएको छ,’ संरक्षण समितिका अध्यक्ष नानीकाजी गिरीले भने, ‘नेपाल एकीकरणमा उहाँले पु¥याउनुभएको अतुलनीय योगदानको कदर गर्दै दक्षिण ढोकामा सालिक निर्माण गरेकाहौँ।’

१८५४ सालमा मृत्यु भएका उनै बहादुरलाई २ सय २३ वर्षपछि गोकर्णवासीले सम्झेका हुन्। ‘राम्रा मान्छे र राम्रा कुरा कहिल्यै पुराना हुँदैनन्,’ संरक्षण समितिका संयोजक एवं ७ नम्बर वडाध्यक्ष केशव गुरुङले भने, ‘कालापानी, लिम्पियाधुरालगायतका स्थानमा सीमा मिचिएको सन्दर्भमा उहाँको सम्झना झनै सार्थक देखिएको छ।’ त्यसैले पनि बहादुर शाहको इतिहास जीवन्त राख्न सालिक ठड्याउने कार्य सान्दर्भिक रहेको स्थानीयको भनाइ छ। सालिक निर्माणमा सबैले सहयोग गर्नु यसको प्रमाण भएको गुरुङको भनाइ छ।

सालिक मात्र नभइ उनको सम्झनामा दक्षिणढोकाबाट जंगलको पश्चिम किनार हुँदै गोकर्णसम्म पुग्ने करिब तीन किलोमिटर सडकको नामसमेत बहादुर शाहमार्ग राखिएको छ । यस क्षेत्रका प्रदेश सांसदसमेत रहेका फुयाँलकै पहलान प्रदेश पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत १० लाख रूपैयाँ विनियोजन गरिएको थियो। त्यस बाहेक २ लाख ६७ हजार रूपैयाँ खर्च गरेर फाउन्डेसन तयार गरिएको संरक्षण समितिका सदस्य ज्ञानहरी ढुंगानाले बताए।

कुनै बेला राज परिवारको नियन्त्रणमा रहेको गोकर्णको जंगल कहिले चिडियाखाना सार्ने त कहिले गल्फ प्रतियोगिता हुने जस्ता कारणले लक्षिण ढोका चर्चामा आउने गर्छ। नजिकै अन्तर्राष्ट्रिय क्रिकेट रंगशालासमेत निर्माण भइरहेको छ।

प्रकाशित: २८ भाद्र २०७७ ०२:०८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App