१४ चैत्र २०८२ शनिबार
image/svg+xml
समाज

बिन्दास झोंसेको सम्झना

ज्ञान न्यौपाने, काठमाडौं, कात्तिक ५ - झोछेंका गल्लीमा अहिले न दिउँसै गाँजाले लठ्ठ पर्यटक भेटिन्छन्, न त्यहाँका रेस्टुराँमा 'जी आइटम' नै बेचिन्छ। यो त सन् ६० देखि ७० बीचको समयको सम्झनामात्र हो। विदेशीका आँखामा नेपाल पहिलोपटक परेदेखि नै झोंछे पहिलो जमघट थलो बन्यो। विदेशीले नै त्यो गल्लीको नामकरण गरिदिए- 'फ्रिक स्ट्रिट'।

अहिले त्यही ठाउँलाई 'ओल्ड फ्रिक स्ट्रिट' नाउँ दिएर संरक्षणकर्मी र टोलबासी पर्यटक बोलाउँदैछन्।

स्थानीय संरक्षणकर्मी गणपतिलाल श्रेष्ठ भन्छन्, 'फ्रिक स्ट्रिट ऐतिहासिक भए पनि त्यसलाई आउँदो पुस्ताले गाँजासँग जोडेर नहेरून् भनेर त्यसो गरिएको हो।'
पर्यटकका लागि नेपाल व्यावसायिक रुपमा सक्षम थिएन त्यतिबेला। राजधानी काठमाडौंसँग पनि विदेशी पर्यटक पाल्ने पूर्वाधार थिएनन्। पुराना सहरमध्येको झोछें केही राम्रो भएकाले पर्यटक त्यतै झुम्मिए। पहिलेदेखि नै व्यवस्थित काठमाडौं दरबार स्क्वायरनजिक रहेकाले पनि झोछें पर्यटकहरुको आ"खामा पर्‍यो।
घरपरिवारको चिन्ता नभएका, नशामा लठि्ठएर हिँड्ने र साहित्य एवं संगीतका सौखिन पर्यटकले फ्रिक स्ट्रिट गुलजार बनाए जो हिप्पी भनेर चिनिए। पश्चिमा जगतमा बढिरहेको पुँजीवादी अर्थ व्यवस्थाबाट विरक्तिएर धेरै युवा खुसी खोज्ने बहानामा नेपाल छिरेकाले त्यसरी यो नाम जुराएका थिए उनीहरुले। जसको सम्बन्ध 'फ्रिड्म' अर्थात् 'स्वतन्त्रता' सँग हुन्थ्यो। अमेरिका-भियतनाम युद्धविरोधीका रुपमा 'नो वार' भन्ने अभियानको एउटा पाटो पनि थियो हिप्पिजम जसको केन्द्र यही झोंछें बनेको थियो।
हनुमानढोका आसपासमै अधिकांश सुटिङ भएको सन् १९७१ मा निर्मित बलिउड चलचित्र 'हरे कृष्ण, हरे राम' मा पनि काठमाडौंको हिप्पिजम र सहजै गाँजा व्यापार हुने परम्परा खिचिएको छ। हिप्पीहरु कोही पैसावाल पनि हुन्थे त कोही नेपाल सस्तो ठाउ" भएकाले घुम्न आएका हुन्थे। 'आफूले ल्याएका सामान फर्कंदा सित्तैमा वा सस्तोमै बेचेर जान्थे,' झोछें टोलसुधार समितिका अध्यक्ष श्याम मानन्धरले भने, 'नेपालको भिसा चार्ज त्यसबेला कम थियो जसले त्यस्ता पर्यटक लामो समयसम्म बस्थे। हिप्पीहरु महिना दिनदेखि लिएर एक वर्षसम्म पनि बसेका छन् फ्रिक स्ट्रिटमा।' उनका अनुसार कोठामा धान्न नसकेर पिँढीमै समेत सुताउनुपर्ने अवस्था आउन थालेपछि बल्ल काठमाडौंमा अन्य होटल खुल्न थालेका थिए।
सन् १९६० देखि १९७० बीचको समयमा युरोपेली र अमेरिकीहरू उताबाट नेपाल र भारतमा आएर लामो समय बिताउने यात्रा 'हिप्पी ट्रायल' मा समेत फ्रिक स्ट्रिट प्रमुख मानिएको हुँदा झोंछेको यस गल्ली अझै विश्वभर चर्चित छ। त्यसबेला हिप्पीहरू सस्तोमा विश्व घुम्थे। उनीहरु दाया" हात वा त्यसको बुढीऔंला देखाएर लिफ्ट माग्थे, सस्तो सार्वजनिक गाडी वा ट्रेनमा यात्रा गर्थे। हिप्पी ट्रेलमा उनीहरु पूर्वी युरोपबाट टर्की, इरान, अफ्गानस्थान, पाकिस्तान, भारत हु"दै काठमाडौंसम्म आइपुग्थे। ब्रिटिस मोडलको 'डबलडेकर' बस त्यसैकारण काठमाडौंसम्म आइपुगेको थियो। जसको सुरुवात लन्डनबाट भएर अन्त्य काठमाडौंमा हुन्थ्यो।
सन् १९६० तिरबाट सुरु भएको हिप्पिइज्मको लहर १९७० को मध्यतिर नेपालबाट एकाएक हरायो। त्यसले नेपालीलाई समेत असर गर्‍यो भनेर राजा वीरेन्द्रले हिप्पीलाई प्रोत्साहित नगर्ने नीति सार्वजनिक गरे। काठमाडौंमा उनीहरुलाई पहिले जसरी लामो कपाल पालेर हिँड्न, खुला रुपमा गा"जा खान प्रतिबन्ध लगाइयो। मानन्धर भन्छन्, 'तर हिप्पीले नै विदेशी पुस्तक पढ्न र परिकार बनाउन, अंग्रेजी बोल्न, नेपालीहरुमा रहेको हीन भाव हटाउन सिकाए भने पाश्चात्य साहित्य, संगीत र फेसनस"ग परिचित बनाए।'
त्यतिबेलै पपगायक बब मार्ली, बेलायती रक ब्यान्ड 'द बिटल्स', चर्चित गिटारिस्ट ह्यान्ड कक, कवि ग्यारिस माइडर काठमाडौं आएका थिए। उनीहरुले यहा" सेकेन्ड ह्यान्ड पुस्तकपसल पनि खोलेका थिए।
'धेरै पुराना पर्यटक नेपाल आए भने अहिले फ्रिक स्ट्रिट आउन छाड्दैनन्,' संरक्षणकर्मी श्रेष्ठ भन्छन्, 'नेपालबारे लेखिएका पुराना पुस्तकमा फ्रिक स्ट्रिट छुटेको सायदै होला।'

प्रकाशित: ५ कार्तिक २०६९ ०५:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App