५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

पथप्रदर्शक नै बाटोविहीन

भक्तपुरका स्थानीय पथप्रदर्शक केही समयअगाडि संस्कृतिविद् प्राध्यापक पुरुषोत्तमलोचन श्रेष्ठसँग कलासंस्कृतिबारे जानकारी लिँदै। तस्बिर ः उपेन्द्र/नागरिक

भक्तपुर ब्यासीका विशाल सुवाल दुई दशकदेखि स्थानीय पथप्रदर्शक (लोकल गाइड) का रुपमा कार्यरत छन्। संसारभरका पर्यटकलाई बाटो देखाउँदै आएका सुवाल ५ महिनादेखि भने आफैं गन्तव्यहीन भएका छन्। ‘हाम्रो गुजारा र आम्दानीको स्रोत भनेकै पर्यटक हुन्’, उनले भने, ‘कोरोनाका कारण पर्यटक नआउँदा आम्दानी ठ्याक्कै सुकेको छ।’

बेरोजगार भएको महिनौं बित्दा पनि सरोकारवालाले चासो नदेखाएका कारण उनी थप दुःखी छन्। ‘कतिपय साथीको त बिहान बेलुकाको छाक टार्न समेत समस्या परेको छ,’ उनले भने, ‘सरोकारवालाले उनीहरुको समस्या समाधानका लागि तत्काल पहल गर्न जरुरी छ।’

भक्तपुर क्षेत्रमा ८५ जनाले पथप्रदर्शकको तालिम लिएका छन्। तीमध्ये आधाभन्दा बढीको मुख्य पेसा नै पर्यटकलाई पथ प्रदर्शन गर्नु हो। ‘बाहिरबाट आएर डेरा गरेर बस्ने पनि छन्,’ सुवालले थपे, ‘उनीहरुले पीडा सुनाउने ठाउँसमेत भेटेका छैनन्।’

खोटाङ बतासेका राजेन्द्र राईको अवस्था पनि उस्तै छ। गाइडको काम गर्न थालेको १६ वर्ष भयो। यसबीचमा उनले हजारौं पर्यटकलाई बाटो देखाए। ५ महिनादेखि भने उनी पनि विशालजस्तै गन्तव्यहीन भएका छन्।

सुवाल र राईमात्रै होइन, पर्यटकलाई पथप्रदर्शनको पेसा अँगाल्ने सबैको साझा पीडा हो यो। अरुलाई बाटो देखाएर गुजारा चलाउँदै आएका पथप्रदर्शक अहिले आफ्नै जीवन कुन बाटो अघि बढाउने भनेर अन्योलमा छन्। कोरोनाका कारण पर्यटक आगमन ठप्प भएपछि उनीहरु गन्तव्यहीन बनेका हुन्।

नेपाल पर्यटक गाइड एसोसिएसनका अध्यक्ष केदार तामाङ गाइडहरुको समस्या पर्यटन बोर्ड, पर्यटन विभाग र विभागीय मन्त्रीलाई समेत जानकारी गराएको बताउँछन्। उनले काठमाडौं उपत्यका र आसपासमा दुई हजार टुरिस्ट गाइड भएको जानकारी दिए। ‘पर्यटकलाई सहरी संस्कृति र जनजीवनबारे जानकारी दिँदै आएका उनीहरु अहिले मौन छन्,’ तामाङले भने, ‘उनीहरुको समस्या तम्त्काल समाधान गर्न आवश्यक छ।’

पर्यटकसँग धार्मिक, सांस्कृतिक, जातीय विविधताबीच सुन्दर एकता रहेको नेपाल भनी चर्चा गर्ने उनीहरुले अहिले एक्लो भएको महसुस गरेको तामाङले सुनाए। ‘गाइड भनेको मुलुकका अवैतनिक सांस्कृतिक दूत पनि हुन्,’ उनले भने, ‘उनीहरुले देखाउने, बताउने र गर्ने व्यवहारबाट संसारले नेपाललाई चिन्ने गर्छ।’

अरुलाई बाटो देखाएर गुजारा चलाउँदै आएका पथप्रदर्शक कोरोना कहरबीच जीवन अगाडि बढाउने बाटो नदेखेपछि अन्योलमा छन्।

तामाङले गाइडहरुलाई उनीहरुको अनुमतिपत्र धितो राखेर भए पनि राज्यले कर्जा उपलब्ध गराउनुपर्ने बताए। लामो समयसम्मको बन्दाबन्दीले गाइडहरु पलायन हुने स्थिति आएको र यो समग्र पर्यटन क्षेत्रकै लागि दुर्भाग्यपूर्ण हुने उनको बुझाइ छ।

यता ट्रेकिङ गाइडको समस्या झनै विकराल छ। ट्रेकिङ गाइड एसोसिएसन अफ नेपालका अध्यक्ष कर्ण घले लकडाउन सुरु भएपछि ३५ हजार ट्रेकिङ गाइडको रोजगारी गुमेको बताउँछन्। अहिले सबै पथप्रदर्शक बेरोजगार बनेको र दैनिक गुजारा चलाउन समेत समस्यामा परेको उनको भनाइ छ। ‘पर्यटन व्यवसाय नियमित सञ्चालन नभएसम्म प्रतिव्यक्ति १० देखि १५ लाख रूपैयाँसम्म सहुलियतपूर्ण ऋण उपलब्ध गराउनुपर्ने माग राखेका छौं,’ उनी भन्छन्, ‘तर राज्यले केही बोलेको छैन।’

अब लकडाउनको केही समय बाटो हेर्ने, माग पूरा नभए आन्दोलनमा उत्रनुको विकल्प नभएको उनले बताए। ‘बाँच्न नै समस्या हुने अवस्था छ,’ उनले भने, ‘यस्तै बेलामा त राज्यको सहयोग चाहिने हो।’

उनले पर्यटन क्षेत्रमा काम गर्ने सबै मजदुलाई आवश्यक तालिम उपलब्ध गराउन र सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने व्यवस्था मिलाउन समेत माग गरिएको जानकारी दिए। यसअघि टिम्सबापत उठाएर मजदुर कल्याणकारी कोषमा राखिएको रकमबाट पर्यटन क्षेत्रमा काम गर्ने मजदुरका लागि राहत उपलब्ध गराउन उनले माग गरे।

नेपालमा पर्यटक आउने मुख्य दुई सिजनमध्ये पहिलोमा मार्च ,अप्रिल र मे पर्छन् भने दोस्रोमा सेप्टेम्बर, अक्टोबर र नोभेम्बर। ‘पहिलो सिजनमै थुप्रैले समूहले भ्रमण रद्द गरे’, घलेले भने, ‘दोस्रो सिजनमा त बुकिङ नै भएन।’ सिजनमा कमाएर सालभर पेट पाल्ने पर्यटक गाइड अहिले हात बाँधेर बसेको उनी बताउँछन्।

‘अरु केही गर्न नसके पनि हिमाली क्षेत्रमा रहेका शेर्पालाई त्यस क्षेत्रको सरसफाइमा लगाउन सकिन्छ,’ उनले भने, ‘अन्यलाई आवश्यक तालिम तथा काम दिएर पनि जोगाउन सकिन्छ।’

अग्लाअग्ला हिमाल चढेर समेत नथाक्ने शेर्पाको अवस्था उस्तै छ। शेर्पा गाइड नेपालका पासाङ डेन्डी शेर्पा पर्यटकलाई हिमाल चढाएर परिवार चलाउने समुदाय पनि अभावको खाडलमा परेको अनुभव सुनाउँछन्। ‘हिमालमा आउने आँधीभन्दा पनि कडा रह्यो अहिलेको समय र समस्या,’ उनले भने, ‘यसबाट शेर्पा समुदायलाई जोगाउन राज्यले पहल गर्नुपर्छ।’ हिमाल र पहरामा हिँड्दा पनि मुस्कुराउने शेर्पाहरु काम नहुँदा मानसिक तनाब झेल्न बाध्य भएको उनले बताए। राज्यले जिम्मेवारी बोध गरेर आवश्वासन मात्र दिएपनि उनीहरुलाई सन्तोष हुने शेर्पा सुनाउँछन्। ‘मानसिक रुपमा स्वस्थ रहे भोलि खुलेपछि पनि राम्रो काम गर्न सक्छन्,’ उनले भने, ‘यसतर्फ राज्यले ध्यान दिनुप¥यो।’

नेपाल पर्यटन बोर्डका सूचना अधिकारी मणिराज लामिछाने गाइडहरुका समस्या समस्या समाधान गर्न कुरा अगाडि बढेको सुनाउँछन्। ‘पछिल्लो समयमा युनडिपीको सहयोगमा २ सय ५० जनाजतिलाई अन्नपूर्ण र सगरमाथा आधार शिविर क्षेत्रमा काम दिने योजना अगाडि बढेको छ’, उनले भने, ‘यो सफल भएमा यसको दायरा फराकिलो बनाइनेछ।’ उनले गाइडका समस्या थुप्रै रहेको बताउँदै माथिल्लो तहबाटै तिनको सम्बोधन हुनुपर्ने खाँचो औंल्याए।

अर्थ मन्त्रालयका प्रवक्ता कमलप्रसाद भट्टराई पनि गाइडहरुका समस्याबारे मन्त्रालय अवगत भएको र समाधानका दिशामा अगाडि बढेको बताउँछन्। कतिको रोजगारी गुमेको छ, तत्काल के गर्न सकिन्छ लगायतका विषयमा अध्ययन भइरहेको उनले बताए। सरल कर्जाको सवालमा पनि मन्त्रालय सकरात्मक रहेको उनले जानकारी दिए। ‘सम्पूर्ण पर्यटन क्षेत्रलाई लक्षित गरेर निश्चित रकम छुट्ट्याउने योजना छ,’ उनले भने, ‘रकम अर्थ मन्त्रालयबाट फुकुवा भएपछि प्रक्रियाअनुसार राहत प्याकेजका रुपमा प्रयोगमा आउनेछ।’

सन् २०१९ मा नेपालमा करिब १२ लाख पर्यटक आएको पर्यटन मन्त्रालयको तथ्यांक छ। कोभिडका कारण यस वर्ष पयर्टक आगमन ठप्प छ। जसका कारण पर्यटन क्षेत्रमा प्रत्यक्ष रोजगार पाएका २ लाख ७३ हजार व्यक्तिका साथै अरु थुप्रैले पनि समस्या भोगेका छन्।

प्रकाशित: २६ भाद्र २०७७ ०१:२० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App