चालु आर्थिक वर्ष २०८२/०८३ को साउनदेखि फागुन मसान्तसम्म साढे आठ महिनाको अवधिमा कपिलवस्तुका १० पालिकाविरुद्ध अख्तियारमा ३३० उजुरी परेका छन्। यति धेरै उजुरी दर्ता भएको यो हालसम्मकै उच्च संख्या हो।
लुम्बिनी प्रदेशका नौ जिल्लामध्ये रुपन्देहीपछि दोस्रो बढी उजुरी पर्ने जिल्ला कपिलवस्तु रहेको छ। रुपन्देहीमा कुल ४६९ उजुरी परेका छन्। कपिलवस्तुमा सबैभन्दा बढी कृष्णनगर नगरपालिकामा ८४ र सबैभन्दा कम महाराजगञ्ज नगरपालिकामा ६ वटा मात्र उजुरी परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले कपिलवस्तुको कृष्णनगर नगरपालिकामा आयोजना गरेको भ्रष्टाचार नियन्त्रण तथा सुशासन प्रवर्द्धन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सो जानकारी गराइएको हो। आयोग बुटवलकी प्रमुख तथा सहसचिव विनिता भट्टराईले उक्त जानकारी दिएकी हुन्।
त्यस्तै दोस्रो बढी उजुरी पर्ने पालिकामा शुद्धोधन गाउँपालिकामा ६४ उजुरी परेका छन्। तेस्रोमा कपिलवस्तु नगरपालिकामा ५१ उजुरी रहेका छन्। यशोधरा गाउँपालिकामा ४६, बाणगंगा नगरपालिकामा २८, मायादेवी गाउँपालिकामा २५, विजयनगर गाउँपालिकामा ११, शिवराज नगरपालिकामा ८ र बुद्धभूमि नगरपालिकामा ७ उजुरी परेका छन्।
लुम्बिनी प्रदेशका नौ जिल्लामा आठ महिनाको अवधिमा १ हजार ३२१ उजुरी परेका छन्। त्यसमध्ये ६३३ फछ्र्यौट भएका छन् भने ६८८ उजुरी बाँकी रहेका छन्।
स्थानीय तहमा विकास निर्माण, शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा बढी उजुरी पर्ने गरेको प्रमुख भट्टराईले बताइन्। स्थानीय जनप्रतिनिधि, कर्मचारी र नागरिक समाज मिलेर भ्रष्टाचार नियन्त्रणमा सहयोग गर्नुपर्ने उनको भनाइ थियो।
विद्यालयका खाजाको नाममा, मन्दिर र मस्जिद निर्माण लगायतका कार्यसम्बन्धी उजुरी बढी पर्ने गरेको उनले जानकारी दिइन्।
सो अवसरमा कृष्णनगर नगरपालिकाका मेयर रजतप्रताप शाहले फेक उजुरीका कारण दुईतिहाइ सरकारलाई समेत समस्या परेको बताए। उनले उजुरीका नाममा चरित्र हत्या गर्ने र काम गर्न निरुत्साहित गर्ने प्रवृत्ति बढेको उल्लेख गरे।
उनले कृष्णनगर नगरपालिकामा सबैभन्दा बढी उजुरी परे पनि अहिलेसम्म कुनैमा पनि दोषी प्रमाणित नभएको दाबी गरे। साथै भ्रष्टाचार नियन्त्रणमा सबै पक्षको सहकार्य आवश्यक रहेको उनले बताए।
आयोग बुटवलकी प्रमुख भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रवक्ता हरिलाल चतुर्वेदी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए।
प्रकाशित: ३ चैत्र २०८२ १९:५३ मंगलबार





