१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घरैपिच्छे कोरोना संक्रमित, टोल सिल

सुनसरी सदरमुकाम इनरुवा वडा नं. ५ को प्रगतिपथमा घरैपिच्छे कोरोना संक्रमित भेटिएका छन्। कोरोना संक्रमित कठिनपूर्वक होम आइसोलेसनमै बसेका छन्।  

कृष्णजन्म अष्टमीमा कोरोनाको लक्षण देखिएका केही व्यक्ति सामूहिक पूजामा भेला भएपछि पहिलो चरणमा पिसिआर परीक्षण गर्दा एक जनामा पुष्टि हुन पुग्यो। उनीसँगको सम्पर्कमा रहेका थप १३ जनाको पिसिआर परीक्षण गर्दा तिनीहरुमा पनि पुष्टि नै हुन पुग्यो।  

यसरी एकपछि अर्कोमा कोरोना पुष्टि हुने क्रमसँगै अहिले त प्रगतिपथको घरैपिच्छे कोरोनाका बिरामी भेटिन्छन्। ‘कुनै घरमा दुई जना कुनैमा चारजना सम्मलाई कोरोना पुष्टि भएको छ,’ पत्रकार समेत रहेका स्थानीय लक्ष्मी दंगालले भने, ‘पिसिआर परीक्षण गर्दा दिनैपिच्छे संख्या उकालो लागि रहेको छ।’ कोरोना पुष्टि भएका स्थानीयले कठिनपूर्वक बस्न बाध्य भएका छन्। ‘दुःख गरेर अलग अलग बस्ने र शौचालय बनाएका छन्,’ दंगालले भने, ‘अन्यत्र आइसोलेसनमा लगेर राखिएको छैन्।’  

कोरोना संक्रमितको अवस्था अहिलेसम्म सामान्य रहेपनि अन्यत्रै लगेर राख्नुपर्ने अवस्था रहेको प्रमुख जिल्ला अधिकारी चण्डेश्वर पोखरेलले बताए। ‘घरहरु व्यवस्थित छैनन, गढी गाउँपालिकाको आइसोलेसनमा लगेर राख्ने कुरा भइरहेको छ,’ उनले भने। घर व्यवस्थित नभएकाले गर्दा आइसोलेसनमा राख्नुपर्ने प्रजिअ पोखरेलले बताए।  

बाक्लो वस्ती भएको र गाउँलेबीच घनिष्ट सम्बन्ध भएकाले गर्दा पनि घरमा बस्दा प्रर्याप्त सावधानी अपनाए पनि बाहिर हिड्ने क्रममा चुकेकैले गर्दा कोरोना भुसमा आगो लागे जसरी फैलिएको माथिल्लो गाउँका कृष्ण भट्टराईले बताए। ‘बाहिर हिड्दा गाउँलेले सावधानी अप्नाउन चुकेकैले गर्दा पुरै फैलिएको हो,’ उनले भने, ‘गाउँले सव ठीकठाक छम भन्ने सोच राख्दा यस्तो हुन पुग्यो।’  

वडा नं. ५ को प्रगतिपथमा अहिलेसम्म ६१ जनालाई कोरोना पुष्टि भइ सकेको छ। प्रगतिपथलाई सिल गरिएको छ। गाउँबाट बाहिर जान कसैलाई दिइदैन भने यो गाउँमा प्रवेश गर्न पनि रोक लगाइएको छ।  इनरुवा नगरपालिका क्षेत्रभित्र अहिलेसम्म कुल ११६ जनालाई कोरोना पुष्टि भएको छ।  

 

प्रकाशित: २२ भाद्र २०७७ १२:३३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App