‘जिउँदाको जन्ती, मर्दाको मलामी’ चल्तीको उखान हो। जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई हाम्रो समाजले निकै उपलब्धि ठान्छ। तर, कोरोना भाईरस संक्रमणको कहरमा यो उखान उत्ति मेल खाँदैन। मर्दा पनि एक्लै (मलामीबिना) जानुपर्ने र मृतकका परिवार पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था यो संक्रमणले ल्याईदिएको छ। मृतकको मलामीको साक्षी केही सुरक्षाकर्मी र शवबाहनका चालक मात्र हुने गरेका छन्।
त्यसबाहेक आफन्त गुमाउँदा शोकमा परेका परिवारका सदस्यलाई सान्त्वना दिन पनि कोही पुग्दैनन्। एकातिर संक्रमणको डरले आफन्तको भेटघाट रोकिएको छ भने अर्कोतिर सामाजिक दृष्टि पनि उत्तिकै डरलाग्दो बन्दै गएको छ। आफन्त गुमाउँदाको पीडामा परेका परिवारका सदस्यको घाउमा मल्हम लगाउन यो कहरमा कोही पुग्दैन। त्यसले आफन्तमाथि झनै पीडा दिने गरेको छ।
भदौ २ गते तनहुँको ब्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको पोखरामा कोरोना संक्रमणले मृत्यु भयो। सरकारी निकायले उनको पोखरामै शव व्यवस्थापन गरिदियो। तर, ती महिलाकी छोरीलाई परेको यो पीडामा साथ दिने कोही भएन। १२ कक्षा पढ्दै गरेकी ती छोरी आमासँगै दमौलीको अम्रेनीमा बस्दै आएकी थिइन। सिकिस्त भएकी आमालाई उपचारका लागि पोखरा ल्याएकोमा यही ज्यान गएको थियो। आमाको रेखदेखमा खटिएकी छोरीमा पनि परीक्षण गर्दा कोरोना पुष्टि भयो। त्यसपछि छोरीलाई उपचारका लागि तनहुँको खैरेनीटारस्थित जिपि कोइराला श्वासप्रश्वास केन्द्रमा लगियो। आइतबार मात्र उनी निको भएर घर फर्किइन।
‘आमा भेन्टिलेटरमा हुँदा एकपटक दमौलीको गल्बुबेसीबाट सानिमा भेटन् पुग्नुभो, त्यसपछि मेरो कसैसँग भेट हुन पाएन,’ उनले भनिन, ‘आमा भेट्न पुगेकी सानिमा पनि क्वारेन्टिनमा बस्नुपर्योक। आमाको मृत्युपछि म आफै पनि संक्रमित भएकीले मलाई भेट्न आफन्त आउन सक्नुभएन। म हिजोमात्र अस्पतालबाट घर फर्किए।’ बुबा पनि नभएकी उनकी एकजना दिदि अमेरिका छिन्। आमाको मृत्युपछि उनी एक्लिएकी छन्। आफु एक्लै हुँदाको पीडा भन्दा पनि यो अप्ठेरोमा कसैको साथ नपाउने अवस्था आउँदा झनै पीडा थपिएको उनले सुनाईन।
‘जिउँदाको जन्ती, मर्दाको मलामी’ चल्तीको उखान हो। जिउँदो छँदा जन्ती र मर्दा मलामी कमाउनुलाई हाम्रो समाजले निकै उपलब्धि ठान्छ। तर, कोरोना भाईरस संक्रमणको कहरमा यो उखान उत्ति मेल खाँदैन। मर्दा पनि एक्लै (मलामीबिना) जानुपर्ने र मृतकका परिवार पनि एक्लै थुनिएर बस्नुपर्ने अवस्था यो संक्रमणले ल्याईदिएको छ। मृतकको मलामीको साक्षी केही सुरक्षाकर्मी र शवबाहनका चालक मात्र हुने गरेका छन्।
‘म आफै अस्पतालमा थिए। आफै संक्रमित भएकोले अरु आफन्त भेट्न आउने कुरै भएन,’ उनले भनिन, ‘आमा गुमाउनुको पीडा अस्पतालमा एक्लै रोएर बिताउनुपर्योत। यो बेला आफन्तको पनि साथ पाउन सकिएन।’ बेलाबेला फोन गरेर सम्झाएपनि आफन्तलाई अँगालो हालेर रुन पनि नपाउने गरि कोरोनाले पराई बनाइदिएको उनले बताइन्। ‘बल्ल हिजो घर फर्केकी छु, कोरोनाको यो अप्ठेरोमा कसैको साथ नपाइने रहेछ,’ उनले भनिन, ‘आफन्त, छरछिमेक सबै पराई हुने रहेछन। संक्रमणको त्रासले नै यो अवस्था आएको हो। यदी अरुबेला मलाई यो दु:ख आउँथ्यो भने पनि पक्कै आफन्तको साथ पाउँथे।’
संक्रमित व्यक्ति, मृतक र उनीहरुका परिवारलाई हेर्ने दृष्टिकोणले भने उनलाई निकै नै दु:खी तुल्याएको छ। ‘कसैसँग नजिकै पर्नै नहुने अवस्था अहिले आएको छ। तर, यो भन्दैमा समाजले नकारात्मक लाञ्छना लगाउनु राम्रो होइन,’ उनले भनिन, ‘कसैले जानाजानी यो संक्रमण भित्र्याएको होइन।’
भदौ २ गते नै पोखराका ८७ वर्षीय पुरुषको कोरोना संक्रमणले ज्यान गयो। उनको मृत्युपछि परिवारका सदस्यले पनि उस्तै पीडा खेपे। मृतकका ज्वाई भेषबहादुर गुरुङ कोरोनाले ‘जो मर्योउ त्यो हार्यो ,’को अवस्थामा ल्याइदिएको बताउँछन्। ‘ससुराबुबाको मृत्युपछि आफन्तसँगको भेटघाटलाई हामी आफैले स्वीकारेनौ, तर, मृतकको अन्तिम संस्कार समेत गर्न नपाउँदाको खड्को बाँकी नै रह्यो,’ गुरुङले भने,‘कम्तिमा हामी अन्तिम संस्कारमा सहभागि हुन नपाए पनि हाम्रा केही चाहनालाई राज्यले सुनिदिएको भए यत्तिको पीडा पर्दैनथ्यो।’
उनका अनुसार गुरुङ जाती भएपनि मृतकको शव जलाउने संस्कार छ। त्यही संस्कार अनुसार जलाउने बेला मावलीबाट मृतकको शव ढाक्नका लागि कपडा दिने चलन छ। मावलीबाट पाएको त्यो कपडाले मृतकको शव ढाक्न सके स्वर्गमा पुग्ने विश्वास छ। त्यसबाहेक फूलको माला, धुप, अक्षता चढाउने चलन पनि छ। ससुराको मृत्युपछि अन्तिम संस्कारका सामान तयार पारिदिन भनेर प्रहरीले फोन गरेपनि ती सामान लिन कोहि नआएको उनले सुनाए।
‘मावलीबाट पाएको कपडा, फूल, अक्षता, धुप तयारी गरेर कुरिबस्यौ,’ उनले भने,‘तर ती सामान लिन कोही आएन। केहीबेरपछि मृतकको शव व्यवस्थापन भयो भनेर फोन पो आयो। कम्तिमा हामी सहभागि हुन नपाएपनि ती सामाग्री प्रयोग गरिदिएको भए दुखमा पनि मन खुसी हुन्थ्यो।’ ससुराको अन्तिम संस्कारका लागि तयार पारिएको सामाग्री पछि अन्यत्रै फ्याक्नुपरेको उनले बताए। ‘ससुराबुबाको हातमा केही महंगा गहना थिए। ती सामान पनि हामीले बुझ्न पाएनौ,’ उनले भने।
कोरोनाका कारण सबैतिरबाट एक्लिनुपरेको उनले बताए। ‘मलामी त जाने कुरै भएन, परिवारमा पनि छुट्टिएर बस्नुपर्ने अवस्था रह्यो,’ उनले सुनाए। ससुराको मृत्युपछि परिवारका सदस्यको दुई पटकसम्म कोरोना परीक्षण गर्दा दुवैपटक नेगेटिभ रिपोर्ट आएपनि आफन्तसँगको भेटघाटलाई आफैले अस्वीकार गरेको उनले बताए। ‘हामीले केहीदिनका फरकमा दुईपटक पिसिआर गर्यौंक। दुवैपटक नेगेटिभ रिपोर्ट आयो,’ उनले भने, ‘नेगेटिभ रिपोर्ट आएपछि आफन्तहरु घरमा आउन चाहेका थिए। तर हामीले नै घरमा नआउनु भन्यौ।’ पितृकार्य पनि गुम्बामा गरेको उनले बताए। ‘जाने (मर्ने) मान्छे पनि एक्लै जाने र बस्ने पनि एक्लै भयौ,’ उनले भने, ‘घटना भएको तीनसाता भयो, तर, हामी अझै सचेत छौ। सबै आफन्तलाई घरमा नआउनु भनेका छौ।’ कोरोनाले परिवार, साथीभाई, छरछिमेक, नाताकुटुम्ब सबैतिरबाट एक्ल्याउने गरेको अनुभव उनले सुनाए। ‘संक्रमितको मृत्युमा मलामी जाने कोही छैन। मृतकका परिवारका सदस्य नै आफन्तबाट पराई बनिरहेका छन्,’ उनले भने।
संस्कृतिकर्मी तीर्थ श्रेष्ठ कोरोना कहरले अप्ठेरोमा परेको बेला पनि आफन्त र साथीभाईबाट साथ नपाउने अवस्था आएको बताउँछन्। ‘मान्छे सामान्य प्राणि भएकोले समाजमै बाच्ने र समाजमा मर्ने हो। एकअर्काको अन्तरनिर्भरतामा हामी बाँचेका छौ। एकअर्काबिना सम्भव छैन,’ श्रेष्ठले भने, ‘तर, कोरोनाले निर्भरता टुटाईदिएको छ।’
कोरोना संक्रमणले समाज र व्यक्तिलाई आवश्यकता पर्दा साथ दिने छ की छैन भन्ने अवस्थामा पुर्यामएको उनले बताए। ‘आवश्यकतामा पनि कसैको साथ छैन भन्ने अवस्था भयो। बाहिरबाट हेर्दा धेरै आफन्त छन, तर, अहिले आवश्यकता पर्दा आउन सक्दैनन भन्ने अवस्था आयो,’ उनले भने, ‘परिवारको प्यारो सदस्य गुमाउँदाको पीडामा आवश्यक पर्ने आफन्त पनि उपलब्ध नहुने अवस्था कोरोनाले निम्त्याइदियो।’
सान्त्वना दिने बेलामा पनि दुखमा रहेको परिवार एक्लिनुपर्ने अवस्था निम्तिएको उनले बताए। ‘चोट लागेको बेला मल्हम लगाउने हो। तर, अहिले चोटमा मल्हम लगाइदिने कोही छैन,’ उनले भने, ‘कसैको पनि साथ नपाउने अवस्थामा परिवारका सदस्य झनै विक्षिप्त हुने गरेका छन्। पीडा पर्नेलाई मात्र थाहा हुन्छ, अरुले त बाहिरबाट मात्र हेर्ने हुन्।’ पीडाभित्र पनि सचेत हुनुपर्ने अवस्था अहिले आएको उनले सुनाए।
यही रुपमा समय अघि बढ्दै जाने हो भने संस्कार र संस्कृति नै जोगाउन नसकिने उनले बताए। ‘संस्कार र संस्कृति यत्तिकै बनेका होइनन भन्ने कोरोनाले देखायो। संस्कार कति वैज्ञानिक रहेछ भन्ने अहिले बल्ल थाहा भएको छ,’ उनले भने। मृत्युपछि आफन्तको शव अर्कैले गाडिदिएको वा जलाईदिएको भनेर खबर फोनबाट थाहा पाउँदा संस्कृतिमाथि प्रहार हुने उनले बताए।
कोराना संक्रमणले गर्दा भयका बीचमै मान्छे बाँच्नुपरेको उनले बताए। ‘कोरोनाको जहाँकही त्रास छ, तर, यहाँ यो भय दशौं गुणा ठूलो बनेको छ। मरेका मान्छेको मात्र सूचना छ। बाँचेका मान्छेको उत्तिकै सूचना आउँदैन,’ उनले भने, ‘हर्षको सूचनालाई सानो बनाएर दु:खको सूचनाले प्राथमिकता पाएको छ।’
प्रकाशित: २२ भाद्र २०७७ १०:२४ सोमबार