५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
समाज

शुल्क नतिरेको भन्दै विद्यालय संचालकले अभिभावकको खुट्टा भाँचिदिए

अस्पतालमा उपचाररत घाइते कृष्णप्रसाद आचार्य ।

शिक्षण शुल्क नतिरेको विषयमा नवलपरासी पश्चिमका एक अभिभावक निजी बोर्डिङ स्कूलका सञ्चालकबाट निर्घात कुटिएर सख्त घाइते भएका छन्।  

नवपरासी (पूर्व) विनयी त्रिवेणी गाउँपालिका ६ रानीनगर स्थित उज्जवल शिशु इंगलिश बोर्डिङ स्कूलका सञ्चालक एंव प्रधानाध्यापक दीपक कुँवरको कु्टपिटबाट नवलपरासी पश्चिम सुस्ता गाउँपालिका वडा न ३ पत्थरकला निवासी ५२ वर्षीय कृष्णप्रसाद शर्माको दायाँ खुट्टा भाँचिएको हो।  

साउन २८ गते प्रधानाध्यापकले दुई छोराहरुको बक्यौता शुल्क माग गरेको र कोरोना कहरका कारण तत्तकाल पैसा तिर्न नसक्ने बताएपछि अभिभावक आचार्यमाथि कुटपिट भएको थियो। आचार्यको हाल बुटवलस्थित लुम्बिनी सिटि अस्पतालमा उपचार भइरहेको छ।  

विगत २४ दिनदेखि उपचाररत आचार्यले एक्कासी शिक्षक जस्तो व्यक्तिले आक्रमण गरि जीवनभरका लागि अशक्त बनाइदिएको गुनासो गरे। दुई छोराहरुले तीन वर्षअघि एसईई दिने बेलामा अध्ययन गरेको ३० हजार शुल्क तिर्न बाँकी रहेको उनले बताए ‘विचमा उहाँले पैसा माग्नुभएन, बजार हिडेको बेला पैसा माग्नुभयो, अहिले १० हजार जति दिन्छु बाँकी पछि दिउला सर भनेको मात्र के थिएँ, लात्ति लात्तिले हान्नुभयो’ अस्पतालको बेडमा रहेको आचार्यले भने।  

घटना भएको लामो समयसम्म विद्यालय सञ्चालक कुँवरले पहुँचका आधारमा मुद्धा दर्ता नगर्न दबाव दिएको र प्रहरीले समेत दोषीलाई उन्मुक्ति दिएको पीडित परिवारको गुनासो छ।  

न्याय नै नपाउने अवस्था आउने भएपछि जिल्ला प्रहरी कार्यालय नवलपरासी (पूर्व) मा मुद्धा दर्ता गरेको छोरा लक्ष्मणप्रसाद आचार्यले बताए। उनले आर्थिक रुपमा कमजोर परिवारमा सञ्चालक कुँवरको कुटपिटबाट ठूलो अपरेशन गर्नुपरेको बताए। औषधि उपचारमा मात्रै अहिलेसम्म २ लाख भन्दा बढी रकम खर्च भइसकेको छोरा लक्ष्मणले बताए। शुल्क नतिरेपछि उत्पन्न विवादपछि घटना भएको प्रहरीले जनाएको छ।

पीडितले भदौ ९ गते मात्रै जिल्ला प्रहरी कार्यालय नवलपरासी ९पूर्व) कावासोतीमा अङ्ग भङग मुद्धा दर्ता गरेको प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाँणले जानकारी दिए। उनले मुद्धा दर्ता भएकाले अनुसन्धान प्रक्रिया अघि बढाइएको र पिडकको खोजी कार्य भइरहेको बताए। 

तर विद्यालय सञ्चालक कुँवरले भने राजनीतिक पहुँचका आधारमा खुलम खुल्ला हिडिरहदा पनि प्रहरीले पक्राउ नगरेको पीडितको आरोप छ।

प्रकाशित: १९ भाद्र २०७७ १३:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App