११ मंसिर २०८१ मंगलबार
image/svg+xml
समाज

भारतबाट आएकालाई नरोक्दा समुदायमा संक्रमण

सुदूरपश्चिम प्रदेश

कोरोना संक्रमण व्यापक रूपमा फैलिरहेको भारतका विभिन्न ठाउँबाट फर्केका नेपालीलाई साउन सुरुदेखि नै क्वारेन्टिनमा नराखी सिधै घर पठाउन थालियो । कैलालीको त्रिनगर र कञ्चनपुरको गड्डाचौकी नाकाबाट अहिले पनि प्रवेश गरिरहेका नेपालीलाई सिधै घर पठाइन्छ । भारतबाट आएकालाई सिधै घर नपठाउन विज्ञहरूले दिएको सुझाव लागु हुन सकेको छैन । त्यसकारण सुदूरपश्चिममा कोरोना संक्रमण समुदायमै देखिन थालेको छ ।

यसअघि भारतसहित अन्य देशबाट आएका र उनीहरूको सम्पर्कमा रहेकालाई मात्र कोरोना संक्रमण देखिँदै आएकोमा पछिल्ला दिनमा समुदायमा समेत कोरोना देखापरेको छ । धनगढी उपमहानगरपालिकामा मात्र २ सय ३० जनामा संक्रमण पुष्टि भइसकेको छ । तीमध्ये ६३ जनासँग ट्राभल हिस्ट्री नरहेको उक्त उपमहानगरपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक लक्ष्मीराज उपाध्यायले बताए । धनगढीमा ट्राभल हिस्ट्री नभएका एउटै परिवारका पाँचजनासम्म संक्रमित छन् । त्यसैगरी ट्राभल हिस्ट्री नभएका शिक्षक, बैंक कर्मचारी, प्रहरी, सेना, स्वास्थ्यकर्मी, सरसफाइमा संलग्न व्यक्ति तथा सर्वसाधारणमा समेत कोरोना संक्रमण देखापरेको छ । यसैगरी कैलाली, डोटी, अछाम, बझाङ, बैतडी, डडेल्धुरालगायत जिल्लामा पनि ट्राभल हिस्ट्री नभएकाहरूमा धमाधम संक्रमण पुष्टि  हुँदै गइरहेको छ ।

‘समुदायमा कोराना देखा परिसक्यो, ट्राभल हिस्ट्री नभएका केस बढ्दैछन्,’ सेती प्रादेशिक अस्पताल कोरोना रोग उपचार विभाग प्रमुख वरिष्ठ फिजिसियन डा. शेरबहादुर कमर भन्छन्, ‘भारतबाट आएकालाई सिधै घर पठाएकाले समुदायमा संक्रमण बढ्दै गएको देखिन्छ ।’ परीक्षण बढाएर समुदायका संक्रमितलाई आइसोलेसन गर्नुपर्ने उनी बताउँछन् । परीक्षणको दायरा व्यापक रूपमा बढाएर संक्रमितलाई आइसोलेसनमा राख्न सके अझै समुदायलाई महामारीको चरणमा प्रवेश गर्नबाट रोक्न सकिने उनी बताउँछन् । तर सरकार र सरोकारवालाले त्यस किसिमको तयारी गरेको देखिँदैन । सुदूरपश्चिममा सरकार र सरोकारवाला निकायको चरम लापरबाहीका कारण संक्रमण समुदायमा पुगेको स्थानीय बताउँछन् । तर अहिले पनि कोरोना संक्रमण जटिल हुन नदिन अपनाउनुपर्ने सावधानी, क्वारेन्टिनको व्यवस्थापन, परीक्षणको दायरा वृद्धि, भेन्टिलेटर उपकरणलगायत थप पूर्वाधारमा आवश्यकताअनुसार तयारी र प्रभावकारी काम हुन सकेको देखिँदैन ।

साउन सुरुदेखि भारतबाट फर्किने सबैलाई कुनै जाँच नगरी र क्वारेन्टिनमा समेत नराखी सिधै घरघर पठाइँदै आएकोमा अहिले पनि त्यो क्रम जारी छ । भारतबाट आएकालाई क्वारेन्टिनमा राखेर जाँच गरेपछि मात्र घर पठाइनुपर्ने विज्ञ तथा वरिष्ठ फिजिसियन डा. शुभेशराज कायस्थ बताउँछन् । ‘धेरै संक्रमण फैलिएको भारतबाट आएकालाई सिधै घर पठाइनुहँुदैन, भारतीय नागरिकसमेत आउन दिएर समुदायमा घुलमिल हुन दिइराखिएको छ,’ उनी भन्छन्, ‘यसबाट समुदायमा कोरोको महामारी फैलिएर ठूलो संकट ल्याउने सम्भावना छ ।’

प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थीले सुदूरपश्चिममा संकट निम्तिने गरी सरोकारवाला निकायबाट चरम लापरबाही र कमजोरी भइरहेको स्विकारे । ‘भारतबाट आएकालाई क्वारेन्टिनमा नराखी सिधै घर पठाइनु गलत हो अनि भारतीयलाई अवैध रूपमा प्रवेश गराएर समुदायमा जान दिइनृु मानवताविरोधी काम हो,’ उनले भने, ‘यी कमजोरीले सुदूरपश्चिममा समुदायमा कोरोनाको महामारीको विस्फोट हुने खतरा उत्पन्न भएको छ ।’ भारतबाट फर्केकालाई क्वारेन्टिनमा राख्ने जिम्मा स्थानीय तहको भएको तर्क उनको छ । तर तीन तहका सरकारको समन्वयको अभावका कारण भारतबाट आएकालाई क्वारेन्टिनमा नराखी घरघर पठाउने अवस्था बनेको हो ।

परीक्षण दायरा नबढ्नुको कारण जनशक्ति अभाव
सुदूरपश्चिममा प्रत्येक दिन भारतबाट औसतमा ३/४ सयजना प्रवेश गरिरहेका छन् । उनीहरूको परीक्षण हुने गरेको छैन । विज्ञहरूले समुदायमा सामूहिक परीक्षण हुनुपर्ने भनिरहे पनि त्यसको दायरा अझै बढाउन सकिएको छैन । संक्रमितको कन्ट्याक्ट ट्रेसिङ गरेर सम्पर्कमा आएका सबैको समयमै परीक्षण हुन नसक्दा जटिलता थपिने देखिएको छ । सुदूरपश्चिममा २ हजारभन्दा बढी नमुना परीक्षण हुन नसकेर थुप्रिएका छन् । एउटाबाट बढाएर चारवटा मेसिन सञ्चालन ल्याइएको भए पनि जनशक्तिको अभावका कारण परीक्षणको दायरा बढ्न नसकेको हो । चारमध्ये धनगढीमा दुई तथा डोटी र डडेल्धुरामा एक÷एक मेसिन सञ्चालनमा छन् ।  

जनशक्ति अभावले मेसिनको क्षमताअनुसार परीक्षण हुन नसकेको प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख डा. गुणराज अवस्थी स्विकार्छन् । चार मेसिनबाट २४ घन्टामा ४ हजार नमुना जाँच गर्न सकिने भए पनि जनशक्तिको अभावमा १ हजार १ सय नमुना मात्र जाँच हुने गरेको उनी बताउँछन् । निषेधाज्ञामा पनि स्थानीय तहसँग समन्वय गरेर भारतबाट आउनेलाई गाडीमा पठाउने गरिएको कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञबहादुर बोहराले बताए । ‘दिनमा २–३ सय आइरहेका छन्, उनीहरूको सबै विवरण लिएर स्थानीय तहसम्म पठाउने गरेका छौं,’ उनले भने ।

प्रकाशित: १७ भाद्र २०७७ ०२:२६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App