८ मंसिर २०८१ शनिबार
image/svg+xml
समाज

आइसीयु, भेन्टिलेटर खोज्दैमा जान्छ संक्रमितको ज्यान

भएका आइसीयु, भेन्टिलेटर त्यसै थन्किए

बुटवलका ६७ बर्षे एक पुरुषलाई ज्वरो र स्वासप्रस्वासको समस्या देखिएपछि आइतबार बिहानै लुम्बिनी प्रादेशिक अस्पताल लगियो। मुटुरोग र उच्च रक्तचापको समेत समस्या रहेका ती संक्रमितलाई तत्कालै आइसीयुमा राखेर उपचार गुर्न पर्ने थियो।

तर बिडम्बना बुटवलको कोभिड अस्पतालको आइसीयुमा बेड खाली  थिएन। भैरहवाको  भिम अस्पतालमा आइसीयु, भेन्टिलेरका उपकरण थिए तर सेवा थिएन। चिकित्सकहरुले बाध्य भएर संक्रमितलाई चितवन रेफर गरे। परिवारले बिहानभरी एम्बुलेन्स खोजे पाएनन्। केही सिप नचलेपछि प्रादेशिक अस्पतालकै फिबर क्लिनीकमा ती संक्रमितको उपचार थालियो। तर दिउसो उनको मृत्यु भयो। ‘समयमै आइसीयु भेन्टिलेरमा राख्न पाएको भए बचाउन सकिन्थ्यो की’ प्रादेशिक अस्पतालका कोभिड फोकल पर्सन डा सुदर्शन थापाले भने। 

गत सोमबार गैडहवाका एक जना संक्रमित पुरुषको भिम अस्पताल भैरहवामा मृत्यु भयो। घरको छतबाट खसेका ती पुरुषलाई कोरोना पुष्टि भएपछि  भैरहवा मेडिकल कलेजले भिममा रेफर गरयो। गम्भिर अबस्थाका ती संक्रमितलाई आइसीयु नहुँदा आइसोलेसन वार्डमै राखीयो। सोही दिन राती उनको मृत्यु भयो। आइसीयु भेन्टिलेर सुविधा नहुँदा गम्भिर अबस्थाका संक्रमितको उपचार प्रभावकारी हुन नसकेको भिमकै कोरोना फोकल पर्सन डा सुमित प्रजापतीले बताए। त्यसोत भिम पनि प्रदेशका सुविधा सम्पन्न भनिएका आइसोलेसन अस्पताल मध्येकै एक हो। तर बास्तविकता त्यहाँ भएका आइसीयु भेन्टिलेटरका उपकरण थन्काएर राखिएको छ।  

केही दिन अघि मृत्यु भएका रोहीणीका एकजना संक्रमित पुरुषले पनि बुटवल भैरहवाको कोरोना विशेष अस्पतालमा उपचार पाएनन। स्वासप्रश्सवासमा समस्या देखिएपछि ५० वर्षीय ती पुरुष सुरुमा बुटवलको गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पुगेका थिए। मुटु अस्पतालले कोरोनाको लक्षण देखिएको भन्दै प्रादेशिक अस्पताल बुटवल पठायो। प्रादेशिकमा आइसीयु खाली नभएको भन्दै फेरी मुटुमै पठाइयो। मुटुले पुन फिर्ता गरेपछि उनलाई भैरहवाको भिम अस्पताल पठाइयो। भिममा आइसीयु भेन्टिलेटर सेवा नभएकाले चिकित्सकै सल्लाहमा भारतको गोखरपुर लैजादै गर्दा नौतनवामा उनको मृत्यु भयो।  

यी केही प्रतिनिधि केश हुन। प्रदेशमा पछिल्लो समय लक्षण सहितका संक्रमितको संख्या दिनहुँ बढ्दो छ। तर अस्पतालहरुको सेवा सुविधा बिस्तार भएको छैन। जनशक्ति व्यबस्थापन नगरीदा भएका आइसीयु भेन्टिलेटरका उपकरण त्यसै थन्किएका छन। संक्रमितले  उचित उपचार पाउन सकिरहेका छैनन। केहीले आइसीयु भेन्टिलेटर सेवा खोज्दा खोज्दै ज्यान गुमाएका छन। केही रेफर भएर चितवन र काठमाण्डौं पुगेका छन। एम्बुलेन्स खर्चको जोहो गर्न नसक्नेहरु आइसोलेसन वार्डमा आइसीयुको पालो कुरेर बसेका छन्।बुटवलको कोरोना विशेष अस्पतालका डा सुदर्शन थापाका अनुसार आइसीयु मै राख्नु पर्ने अवस्थाका ८ जना संक्रमित अहिले पनि फिबर क्लिनीक र आइसोलेसन वार्डमा छन।  

लक्षण सहितका संक्रमितको संख्या बढीरहदा पनि प्रदेश सरकारले क्रिटिकल केयर टिमको व्यवस्थापनमा ध्यान दिएको छैन। जसका कारण सुविधा सम्पन्न आइसोलेसन अस्पताल भनेर प्रचार गरिएका भैरहवाको भिम,दाङ बेलझुण्डिको आइसोलेसन र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसीयु र भेन्टिलेर संचालन हुन सकेको छैन। प्रदेशका ४ वटा कोभिड अस्पतालमा ३३ वटा आइसीयु र १७ वटा भेन्टिलेटर रहेको तथ्याङ्क प्रदेशको स्वास्थ्य निर्देशनालय सँग छ। तर आइतबारसम्म ती  मध्ये बुटवलको कोरोना अस्पतालको ४ वटा भेन्टिलेर सहितको १६ बेड आइसीयु मात्र संचालनमा छ।  

भैरहवामा एउटा भेन्टिलेटर सहित ५  वेडको आइसीयु, बाँकेमा तीन वटा भेन्टिलेटर सहित १०  बेडको आइसीयु  र दाङमा २ वटा भेन्टिलेर सहित ५ बेडको आइसीयु संचालन हुन सकेको छैन। औषधी र जनशक्ति व्यवस्थापन नगरीदा आइसीयु भेन्टिलेटरका उपकरण गत बैशाखदेखि थन्किएका हुन। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा पुष्पराज पौडेलले भैरहवाको आइसीयु एक दुई दिनमै संचालन हुने बताए।  

बुटवल बाहेकका अस्पतालमा आइसीयु भेन्टिलेर सेवा नहुँदा गम्भिर प्रकृतिका संक्रमितको उपचारमा समस्या भएको डा थापाले बताए। ‘गम्भिर अबस्थाका बिरामीको चापलाई अब बुटवलले मात्रै धान्न सक्दैन’ डा थापाले भने। उपचारको पाटोमा सरकार गम्भिर नभए स्थिती भयावह हुन सक्ने भन्दै उनले चिन्ता व्यक्त गरे।

कोरोना नियन्त्रण तथा उपचार व्यवस्थापनकालागि प्रदेशको तयारी सन्तोषजनक नभएको  डब्लुएचओकै एक जना प्रतिनिधिले बताए। ती अधिकारी भन्छन ‘प्रदेशको अहिले कै तयारीले अवको क्षतीलाई धान्न सक्दैन’। डा थापाले पनि कोभिड अस्पतालहरुको क्षमता बिस्तार सँगै रुपन्देहीको मेडिकल कलेज वा सुविधा सम्पन्न नीजि अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा संचालन गर्नु पर्ने खाँचो औल्याए। त्यसोत संक्रमितको संख्या थपिदै जाँदा आइसोलेसन बेडकै पनि अभाव हुन थालेको छ। जसका कारण केही संक्रमित अहिले पनि क्वारेन्टाइनमा छन्।  

प्रदेशमा आइतबार दिउँसोसम्म सक्रिय संक्रमितको संख्या १ हजार ४१७ छ। कुल ६ हजार ३३३ संक्रमित मध्ये ४ हजार ८३८ कोरोना मुक्त भएका छन्।  २९ जनाको मृत्यु भइसकेको छ। प्रदेशका ४ वटा कोभिड अस्पतालमा १ सय १९ जनाको उपचार भइरहेको छ। ती मध्ये १७ जना संघन उपचार कक्षमा, २ जना भेन्टिलेटरमा छन।  १ हजार १९३ जना संक्रमित आइसोलेसन सेन्टरमा छन। १ सय ८ जना संक्रममित अहिले पनि क्वारेन्टाइनमै छन। उनीहरुलाइ आइसोलेसन सेन्टरमा ल्याउने भयारी भइरहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पौडेलले बताए।

 

प्रकाशित: १५ भाद्र २०७७ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App