१३ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु, तीन जना बेपत्ता (अपडेट)

कालिकोट जिल्लाको तिलागुफा गाउँपालिका–१ नाग्म बजारमा गएको सुख्खा पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु भएको छ। तीन जना बेपत्ता छन्। दुई जनाको उद्धार गरेर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा उपचार भइरहेको छ। उनीहरुको अवस्था सामान्य छ।  

मृत्युहुनेमा शुभकालिका गाउँपालिका–७ मुम्राह  गाउँका बर्ष ४० का परेक शाही, उनका ७ वर्षीया छोरी हिमा शाही, ५ वर्षको निराजन शाही र दुई महिनाको अकल शाहीको मृत्यु भएको हो। परेक शाहीको पत्नी पुन्ना शाही सामान्य घाइते छिन्। अर्को एक जना १३ वर्षीय बालक अर्जुन हमालको पनि उद्धार गरिएको प्रहरी कार्यालय कालिकोटले जनाएको छ।  

पहिरोमा परेर बेपत्ता भएका नागरिकको उद्धार कार्य जारी नै छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सक्रियतामा उद्धार कार्य चलिरहेको डिएसपी ओलियाले जानकारी दिए। नाग्म बजारमा टेलिफोन नलाग्ने भएकोले सम्पर्क गर्न कठिनाइ भइरहेको छ। डिएसपी ओलियाका अनुसार प्रहरी सञ्चार सेट मार्फत मात्र जानकारी आदानप्रदान भइरहेको छ।  

शाहीका परिवारले नाग्म बजारमा किराना पसल सञ्चालन गर्दै आइरहेका थिए। यो पहिरो भन्दा अघि  कालिकोटमा पहिरोबाट  ३२ जनाको मृत्यु भइसकेको छ। ७ जना अझै वेपत्ता छन्। प्रहरी प्रमुख ओलियका अनुसार कम्तिमा ३ जना वेपत्ता रहेको  अनुमान गरिएको छ। बजारमै पहिरो गएपछि त्रास बढेको छ। यो बजार पहिले देखि नै जोखिमयुक्त थियो। तल तिला नदिले कटान गरिरहेको छ। माथिबाट पहिरो आउन सक्ने खतरा पनि उत्तिकै छ। बिहान ८ बजे मात्र पहिरो गएको थियो। लकडाउनका कारण कुनै पनि परिवार घर बाहिर निस्कन सकेका थिएनन्।  

प्रकाशित: १४ भाद्र २०७७ १२:५४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App