जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रतिबन्धित जडिबुटी ‘रातो जडिबुटी च्याउ’ सहित एक जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय वीरेन्द्रनगरका अनुसार नेपालगञ्जतर्फ जाँदै गरेको बसलाई चेकजाँच गर्ने क्रममा बसको डिक्कीमा लुकाइछिपाइ राखिएको अवस्थामा पाँच बोरा प्रतिबन्धित जडिबुटी फेला परेको हो।
प्रहरीले बरामद गरिएको जडिबुटीको नापतौल गर्दा करिब ४ किलो ७४० ग्राम रहेको जनाएको छ। घटनामा संलग्न रहेको आरोपमा जुम्लाको सिँजा गाउँपालिका–६ घर भई हाल सुर्खेतको वीरेन्द्रनगरमा बस्दै आएकी ३२ वर्षीया चन्द्रकला बुढालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार चेकजाँचका क्रममा बरामद भएको जडिबुटी र बसलाई समेत नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको छ। प्रतिबन्धित जडिबुटीको ओसारपसार तथा कारोबारमा संलग्न अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले अवैध तथा प्रतिबन्धित जडिबुटीको संकलन, ओसारपसार र कारोबार नियन्त्रणका लागि निगरानी तथा चेकजाँचलाई थप कडाइ गर्ने जनाएको छ।
प्रकाशित: २८ श्रावण २०८३ ०८:०२ बिहीबार





