७ वैशाख २०८१ शुक्रबार
समाज

आठ दिनमा ५६ संक्रमितको मृत्यु

मुलुकमा कोरोनाबाट मृत्युु हुनेको संख्या बढ्दै गएको छ। सरकारले समुदाय स्तरमा परीक्षण नगरी हचुवाका भरमा संक्रमण नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो बनायो। त्यसैको परिणाम मृत्युदर बढेको विज्ञहरूको अनुमान छ। व्यापारीहरूको दबाबमा बजार खोलियो, सार्वजनिक यातायात खुला गरियो। यसले झन् संक्रमण फैलियो। लकडाउन खुकुलो बनाएपछि नै संक्रमण र मृत्युदर ह्वात्तै उकालो लागेको देखिन्छ।

पहिलापहिलाका संक्रमित धेरैजसो भारतबाट आएका थिए। उनीहरू भारतका विभिन्न सहरमा रोजगारी गर्थे। रोजगारी गर्न गएका युवा बलिया र स्वस्थ भएकाले संक्रमणबाट उम्किन सहज भयो। तर, अहिले कोरोना संक्रमण समुदाय स्तरमा फैलिएको छ र वृद्धवृद्धा, बालबालिकालगायत विभिन्न रोगबाट ग्रसित मानिस प्रभावित बन्न थाले। उनीहरूमा स्वाभाविक रूपमा कोरोना भाइरसलाई जित्नसक्ने क्षमता नहुँदा पछिल्लो समय संक्रमण र मृत्युदर बढ्दै गएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन बताउँछन्।  

‘संक्रमण विस्तारै भित्रभित्रै समुदायतिर गइरहेको छ। टोल, परिवारमा छिरिसकेको छ,’ डा. पुनले भने, ‘पहिला संक्रमण समुदाय स्तरसम्म पुगेको थिएन र मृत्युदर कम थियो। विशेषगरी लकडाउन खुकुलो बनाएपछि संक्रमणको हटस्पट बनेका ठाउँबाट मानिस यत्रतत्र आवतजावत गर्दा अन्यत्र फैलियो। उमेर पुगेका र दीर्घरोगीसम्म संक्रमण पुगेपछि उनीहरूले त्यसलाई जित्न नसक्दा मृत्यु संख्या दिनदिनै बढिरहेको मेरो अनुमान छ।’

नेपालमा कोरोना संक्रमणबाट पहिलो मृत्यु जेठ ३ गते पुष्टि भएको थियो। साउनमा मृत्युदर बढ्यो। जेठमा कोरोनाबाट  १९ जना र असारमा २० जनाको मृत्यु भयो। साउन २१ सम्म कोरोनाबाट ६० जनाको मृत्यु भएको थियो। तर यो संख्या ह्वात्तै बढेर भदौ ८ मा एक सय ६० पुगेको छ। पछिल्ला १९ दिनमा एक सय जनाको मृत्यु भएको छ।  

सरकारले समुदाय स्तरमा परीक्षण नगरी हचुवाका भरमा संक्रमण नियन्त्रणमा आएको भन्दै लकडाउन खुकुलो बनायो। त्यसैको परिणाम मृत्युदर बढेको विज्ञहरूको अनुमान छ।  

संक्रामक रोग विशेषज्ञ डा. अनुप सुवेदीका अनुसार तीन सातायता संक्रमण बढी फैलिएको छ र यो अवधिमा मृत्युदर पनि बढेको छ। साउन ७ देखि लकडाउन खोलिएको थियो। साउन २२ पछि मृत्युदर उकालो लागेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ। साउनका अन्तिम ११ दिनमा ४४ जनाको मृत्यु भएको थियो। साउन ३२ सम्म कोरोनाबाट मृत्यु हुनेको संख्या एक सय चार पुगेको थियो। यसबाट औसतमा प्रत्येक २४ घन्टामा चारजनाको मृत्यु भएको देखिन्छ।

भदौमा मृत्युको ग्राफ अझ उकालो लागेको छ। भदौका आठ दिनमा कोरोना संक्रमणबाट ५६ जनाको मृत्यु भइसकेको छ। अहिले भइरहेको मृत्यु कम्तीमा पनि तीन साताअघि भएको संक्रमणको परिणाम हो। डा. सुवेदीका अनुसार समुदायमा जुन स्तरमा संक्रमण फैलिएको छ, त्यो लेभलमा टेस्ट र कन्ट्याक्ट ट्रेसिङ हुन सकेको छैन। ‘यस्तो अवस्थामा संक्रमित र मृत्युदर बढ्छ नै,’  उनले भने।

जनस्वास्थ्यविज्ञका अनुसार एक संक्रमितबाट उसको सम्पर्कमा आएका ५÷७ जनालाई संक्रमण भएको हुनसक्छ। संक्रमित पत्ता लगाएर उसको सम्पर्कमा पुगेकाको परीक्षण गर्ने र संक्रमितलाई आइसोलेट गर्ने काम जति छिटो हुनसक्यो, त्यति चाँडो महामारी नियन्त्रण गर्न सजिलो हुने जनस्वास्थ्यविद्हरूको भनाइ छ।  

संक्रमण तीव्र भएपछि अहिले जिल्लाजिल्लामा निषेधाज्ञा लगाइएको छ। तर यो अवधिमा समुदायमा भएका सम्भावित संक्रमितको पहिचान गर्ने काम जसरी हुनपर्ने हो, त्यो भएको छैन। संक्रमणलाई समुदाय स्तरमा थप फैलिनबाट रोक्न सकिएन भने मृत्युदर अझै बढ्ने जनस्वास्थ्यविद् बताउँछन्।

विदेशमा १९२ नेपालीको मृत्यु

कोरोना संक्रमणबाट विभिन्न १६ मुलुकमा रहेका एक सय ९२ नेपालीले ज्यान गुमाएका छन्। गैरआवासीय नेपाली संघ (एनआएनए) स्वास्थ्य समितिका अनुसार संक्रमणबाट पछिल्लो साता लग्जम्बर्गमा थप एकजनाको ज्यान गएको छ। कोरोनाका कारण बेलायत, संयुक्त अरब इमिरेट्स (युएई), साउदी अरेबिया, बहराइन, कुबेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड, स्विडेन, भारत, दक्षिण अफ्रिकालगायत देशमा रहेका नेपालीको ज्यान गएको हो। विश्वका ३८ देशमा रहेका नेपाली कोरोनाबाट संक्रमित भएको सो समितिले जनाएको छ।  

एनआरएनए समितिका संयोजक डा. सञ्जीव सापकोटाले अस्ट्रेलिया र युरोपका केही देशमा कोरोनाको दोस्रो लहर सुरु भएको उल्लेख गर्दै त्यहाँ रहेका नेपालीलाई सजग र सतर्क रहन आग्रह गरेका छन्। उनका अनुसार विभिन्न मुलुकमा गरी ३४ हजार तीन सय एक नेपालीमा कोरोना संक्रमण देखिएको छ। जसमध्ये ९३.५ प्रतिशत अर्थात् ३२ हजार २ सय ५३ जनाले कोरोनालाई परास्त गरेको संघको कोभिड–१९ उच्चस्तरीय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए।

प्रकाशित: ९ भाद्र २०७७ ०१:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App