९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
समाज

भेन्टिलेटर थप्ने योजना बन्यो तर थपिएनन्

पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको नयाँ आईसोलेसन कक्षमा जडित भेन्टिलेटर। तस्बिरः उमेश पुन

कोरोना भाईरस संक्रमण देखिन थाल्दा गण्डकी प्रदेश सरकारले बैशाख पहिलो साता प्रदेशका सबै (११) जिल्ला अस्पतालमा भेन्टिलेटर सहितका आईसीयू सुविधा थप्ने निर्णय गर्यो। त्यो बेलासम्म गण्डकी प्रदेशको मुकाम पोखरामा बाहेक बागलुङको धौलागिरी अस्पतालमा मात्र भेन्टिलेटर जडान गरिएको थियो।  

बागलुङमा पनि चैतको सुरुवातमा दुईजनामा कोरोना संक्रमण देखिँदा हतारहतारमा पोखराबाट लगेर भेन्टिलेटर जडान गरिएको थियो। कोरोनाका बिरामी नहुँदासम्म धौलागिरी अस्पतालले पनि भेन्टिलेटर पाएको थिए। त्यसपछि यो अवधिमा गोरखामा मात्र भेन्टिलेटर जडान भयो, अरु कुनैपनि जिल्लामा अहिलेसम्म भेन्टिलेटर जडान भएका छैनन। यतिसम्मकी प्रदेश मुकाम पोखराका अस्पतालमा पनि अहिलेसम्म एउटै भेन्टिलेटर थपिएका छैनन्।

जिल्लास्थित अस्पतालमा भेन्टिलेटर थप्नका लागि प्रदेश सरकारले बजेट छुट्याएपनि झन्डै पाँचमहिना पुगिसक्दा अझैपनि भेन्टिलेटर थपिएका छैनन। लकडाउनलाई कारण देखाउँदै उपकरण भित्र्याउन नसकेको प्रदेशको स्वास्थ्य निर्देशनालायले बताउने गरेको छ। त्यसबाहेक स्वदेशी बजारमा उपकरण अभावमा पनि भेन्टिलेटर थप्न नसकेको पदाधिकारीको भनाई छ।  

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार अहिलेसम्म गण्डकी प्रदेशभित्र १७५ आईसियू कक्ष र ५३ वटा भेन्टिलेटर रहेका छन्। बैशाखसम्म प्रदेशका अस्पतालमा १३२ वटा आईसीयू रहेकोमा यो अवधिमा आईसीयूको क्षमता बढाएपनि भेन्टिलेटर भने एउटै नथपिएको उनले बताए। अहिले भेन्टिलेटर भएका अधिकांश अस्पताल पोखराका छन्। पोखरामा संचालित मेडिकल कलेजदेखि निजी र सरकारी अस्पतालमा मात्र भेन्टिलेटर छन्।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखराभित्रका मणिपाल शिक्षण अस्पतालमा सबैभन्दा बढी ३२ आईसीयू र १५ वटा भेन्टिलेटर रहेका छन्। त्यसपछि गण्डकी मेडिकल कलेजमा २३ आईसीयू र १० वटा भेन्टिलेटर रहेका छन्। पोखराकै चरक मेमोरियल अस्पतालमा १६ वटा आइसीयू र ६ वटा भेन्टिलेटर रहेका छन्। प्रदेशको सबैभन्दा ठूलो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (पश्चिमाञ्चल क्षेत्रीय अस्पताल) मा ११ वटा आईसीयू र २ वटा मात्र भेन्टिलेटर रहेका छन्। त्यसबाहेक बागलुङको धौलागिरी अस्पतालमा तीनवटा भेन्टिलेटर र तीनवटा आईसीयू कक्ष रहेका छन्। गोरखामा भने एउटा भेन्टिलेटर र दुईवटा आईसीयू कक्ष रहेको शर्माले बताए।

‘भेन्टिलेटर सहितको आईसीयू थप्ने योजना हो, तर प्रक्रियागत रुपमा काम ढिलाई भएको पक्का हो,’ शर्माले भने, ‘अब चाँही भेन्टिलेटर थप्ने तयारीले गति पाउनुपर्छ।’ नेपालमा कोरोना संक्रमण देखिएपनि केही हुँदैन भन्ने मानसिकता हावी हुँदा आवश्यक उपकरण जुटाउने कामले उत्तिसारो गति नलिएपनि अब भने लक्षण सहितका बिरामी भेटिन थालेपछि उपकरण आवश्यक पर्न थालेको उनले बताए। ‘अहिलेका भेन्टिलेटरले प्रयाप्त हुन पनि सक्छ। अवस्था सहज हुँदै गएमा यिनै उपकरणको पनि उपयोग नहुन सक्छ,’ उनले भने, ‘तर, तयारी अवस्थामा बस्नुपर्छ।’

प्रदेशका स्वास्थ्य निर्देशक डा. बिनोदबिन्दु शर्माले बागलुङ र गोरखामा केही भेन्टिलेटर सहित आईसीयु बेडका पूर्वाधार भित्रिएको र अरु जिल्लाका लागि पनि प्रक्रिया अघि बढिसकेको बताए। उनका अनुसार मनाङ र मुस्ताङमा ३–३ वटा आईसीयू बेडका लागि टेन्डर भईसकेको छ भने बागलुङ, गोरखा, मनाङ र मुस्ताङ बाहेक बाँकी ७ वटा जिल्लाका भेन्टिलेटर सहित ५–५ वटा आइसीयु बेडका लागि हरेक जिल्लाले बढिमा १ करोड ६९ लाख रुपैयाँ बजेट छुट्याएर उपकरण खरिदको प्रक्रिया अघि बढाईरहेको शर्माले बताए।  

निर्देशक शर्माका अनुसार उपकरण खरिदका लागि मात्र प्रदेश सरकारले १४ करोड रुपैयाँ छुट्याएको छ। त्यो रकम जिल्लास्थित अस्पताललाई दिइने उनले बताए। त्यसबाहेक लम्जुङ र तनहुँका जिल्ला अस्पतालले १० वटाका दरले आईसीयु थप्ने गरि २–२ करोड रुपैयाँ संघीय सरकारबाट बजेट पाएका छन्। ‘कतिपय उपकरण बिदेशबाट ल्याउने हो। लकडाउने उडान नहुँदा पनि उपकरण ल्याउन पाइएको छैन,’ निर्देशक शर्माले भने,‘भनेजस्तो समयमा काम नभएकै हो। अहिलेसम्म ढिलाई भएको देखिएपनि हामीले प्रक्रिया अघि बढाईसकेका छौ।’ उनका अनुसार चारवटा भेन्टिलेटर तत्काल ल्याउनका लागि हतार गरेर आपूर्तिकर्तालाई ताकेता पनि गरिएको छ।  

अघिल्लो महिनासम्म बिना लक्षणका कोरोना संक्रमित भेटिएकोले भेन्टिलेटरको उत्तिसारो आवश्यक नपरेपनि अहिले भने लक्षण सहितका संक्रमित भेटिन थाल्दा भेन्टिलेटर आवश्यक पर्न सक्ने उनले पनि बताए। ‘अब भने केही सचेत हुनै पर्ने छ। किनभने लक्षण सहितका संक्रमित भेटिएका छन्। यो संख्या अझ बढ्दो छ। त्यसैले उपकरण आवश्यक पर्ने देखिएको छ।’ उपकरण किन्न केही ढिलाई हुने भएकोले कहिलेसम्म तयारी पुग्छ भनेर यकिन गर्न नसकिने उनले बताए। एउटा भेन्टिलेटरको बजार मूल्य १५ देखि २२ लाख रुपैयाँ पर्छ।  

तनहुँस्थित जिल्ला अस्पतालका अध्यक्ष प्रदीप अधिकारीका अनुसार भेन्टिलेटर किन्नका लागि प्रदेश सरकारले १ करोड ६९ लाख रुपैयाँ दिएको र त्यो रकमबाट पाँचवटा आईसीयू सहित ३ भेन्टिलेटर खरिदको प्रक्रिया अघि बढेको छ। प्रदेशले दिएको रकम खर्चने गरि भदौ ११ मा एकमहिना पुग्ने गरि भेन्टिलेटर खरिदका लागि टेण्डर आव्हान गरेको पनि उनले बताए। ‘अब केहीदिनमा आपूर्तिकर्ता छनोट हुनेछन्। अहिलेसम्म सातवटा आपुर्तिकर्ताले टेण्डर हालेका छन्,’ अधिकारीले भने, ‘ती उपकरण नेपालमा पाइदैन। अन्तर्राष्ट्रिय बजारबाटै किन्ने हो।’ भदौ महिनाभर ती उपकरण भित्र्याएर जडान गर्ने लक्ष्य रहेको उनले बताए।  

त्यसबाहेक दमौली अस्पतालका लागि संघीय सरकारले पनि हालै चारवटा भेन्टिलेटर सहित १० वटा आईसीयू बेड व्यवस्थापन गर्न दुई करोड दिएको छ। एउटै प्रकृतिको कामका लागि संघीय र प्रदेश सरकारले बजेट दिएपछि संघीय सरकारको बजेटले भेन्टिलेटरसहितको आईसीयु स्थापना गर्ने र प्रदेश सरकारको बजेट अक्सिजन प्लान्ट जडान गर्नेमा योजना बनेको उनले बताए। ‘सघीय सरकारको बजेट भेन्टिलेटर र प्रदेश सरकारको बजेट अक्सिजन प्लान्टका लागि खर्चने योजना छ,’ उनले भने, ‘सबैखाले सुविधा जुटाउन सकियो भने बिरामीलाई उपचारमा सहज हुन्छ।’

 

 

प्रकाशित: ८ भाद्र २०७७ ११:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App