८ वैशाख २०८१ शनिबार
समाज

काठमाडौंका स्थानीयबाट डाक्टर बसेको होस्टल घेराउ

नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल)मा काम गर्ने डाक्टर–नर्स बसेको होस्टेल घेराउ गरी स्थानीय टोलवासीले दुर्व्यवहार गरेका छन्। टोल सुधार समितिका अगुवा र स्थानीयले फ्रन्टलाइनका काम गर्नेलाई नजिक ल्याएर राखेको र जोखिम बढाएको भन्दै शनिबार बिहान होस्टेल सञ्चालक र डाक्टरहरूमाथि गालीगलौज गरेका हुन्।

आफूहरू घरमा आउजाउ गर्दा संक्रमण फैलनसक्ने डरले अस्पतालका केही डाक्टर, नर्स र कर्मचारी भदौ ४ गतेदेखि होस्टलमै बस्दै आएका थिए। काठमाडौं महानगरपालिका–३१ बानेश्वरको मिलनचोकस्थित उनीहरू बसेको लर्ड बुद्ध बोइज एण्ड गल्र्स होस्टल स्थानीयले घेराउ गरी तथानाम गाली गरेको गरेको होस्टलका सञ्चालक रोहित रानाले बताए। उनले डाक्टरहरूलाई किन राखेको भन्दै धम्कीसमेत दिएको बताए। शनिबार डाक्टर, नर्स र कर्मचारी होस्टलमै बसिरहेको अवस्थामा ५० जनाभन्दा बढी आएर होस्टलबाट निकाल्न खोजेका थिए। उनीहरूले होस्टल सञ्चालकले आफूहरूलाई जानकारी नै नदिई डाक्टरलाई राखेको भन्दै विरोध गरेका थिए। ‘उहाँहरूलाई बस्न अप्ठ्यारो भएपछि मैले होस्टल खोलेको थिएँ, तर तथानाम गाली र धम्की आइरहेको छ, यस्तो मानसिकता भएको समाजमा कसरी काम गर्ने ?,’ उनले भने।  

हुलदंगा गर्न आएका व्यक्तिको नेतृत्व बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतम र सचिव दिनेश खड्काले गरेका थिए। उनीहरूले अचानक आएर डाक्टर र नर्सलाई हटाउन भनेका थिए। तर, यस्तो बेलामा किन हटाउने भन्दै सिभिल अस्पतालको प्रशासनको टोली पुगेको थियो। स्थानीयले धम्क्याउन खोजेपछि उनीहरूले प्रहरी बोलाएका थिए। प्रहरी आएपछि मात्रै होस्टेल घेर्न आएका स्थानीय फर्किएका थिए। होस्टलमा भदौ ४ गतेदेखि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई राखिएको थियो। उनीहरू संक्रमित भने थिएनन् र पनि स्थानीयले अनावश्यक शंका गर्दै होस्टल घेराउ गर्न पुगेका थिए। अस्पतालले नियमित काम गर्ने कर्मचारी राख्न होस्टल सञ्चालकसँग सहमति गरेको थियो। त्यसपछि ४ जना स्वास्थ्यकर्मी होस्टलमा बसेका थिए।  

अस्पतालले बिरामीको ड्युटीमा खटिने डाक्टरलाई अस्पतालभित्रै राखेको छ। व्यक्तिगत प्रतिशोधका कारण यस्तो गरेको जानकारी दिए। अस्पतालका कर्मचारी संघका अध्यक्ष सन्तोष धिमालले सहयोग गर्नुपर्ने बेलामा समुदायकै व्यक्तिले अभद्र्र व्यवहार गरेको बताए। यस्तो व्यवहारले डाक्टरलाई नै निरुत्साहित बनाएको जानकारी दिए। ‘राजधानीकै स्थानीयको सोच यस्तो छ, संक्रमण नभएकालाई होस्टलमा राख्नु कसैको गल्ती होइन, तर स्थानीयले विरोध गरे,’ उनले भने।  

शनिबार डाक्टर, नर्स र कर्मचारी होस्टलमै बसिरहेको अवस्थामा ५० जनाभन्दा बढी आएर होस्टलबाट निकाल्न खोजेका थिए। उनीहरूले होस्टल सञ्चालकले आफूहरूलाई जानकारी नै नदिई डाक्टरलाई राखेको भन्दै विरोध गरेका थिए।  

होस्टल घेराउ गर्न आफैं उपस्थित भएका बलभद्र मार्गका टोल विकास समितिका अध्यक्ष सुर्दशन गौतमले आफूहरूलाई जानकारी नगराएपछि विरोध गरेको दाबी गरे। उनले भने, ‘यस्तो बेलामा होस्टल खोलेर हामीलाई त्रसित पार्ने काम भयो, त्यसपछि विरोध गरेका हौं।’

गृह मन्त्रालयले संक्रमित व्यक्ति वा फ्रन्टलाइनमा काम गर्ने कर्मचारीलाई वरपरको समाजले हेप्ने, दुव्र्यवहार गर्नेजस्ता कार्य गरे नजिकको जिल्ला प्रशासन कार्यालयलाई जानकारी गराउन अनुरोध गरेको छ। गृहका प्रवक्ता चक्रबहादुर बुढाले यस्तो व्यवहार गर्नेलाई कारबाही हुने बताए। उनले भने, ‘संक्रमितलाई समाजमा दुव्र्यवहार र हेला गर्नु निकै खेतजनक छ, सम्बन्धित व्यक्तिले उजुरी दिनुभयो भने कारबाही हुन्छ, तर संक्रमितले उजुरी दिएको अवस्था छैन, उजुरी दिने हिम्मत राख्नुस् कारबाही हामी गर्छौं।’ 

उनले गृह मन्त्रालयले ७७ वटै जिल्लालाई परिपत्र गर्दै संक्रमितप्रति कसैले यस्तो व्यवहार गरे, कारबाही गर्न निर्देशन दिएको बताए। केही केहि दिनअघि तराई क्षेत्रका एक संक्रमित व्यक्तिले ज्यान मार्ने धम्की आएपछि गृह मन्त्रालयमा फोन गरेर जानकारी गराएको उनको भनाइ छ। ‘अहिले समाजका केही व्यक्तिले दुव्र्यवहार गर्ने, धम्क्याउने, गाली गर्ने, हेला गर्ने तथा अभद्र व्यवहार गर्नेजस्ता कार्य गरेका छौं, पीडित व्यक्तिले उजुरी दिएका प्रशासनले कडा कारबाही गर्छ,’ उनले भने।  

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौत्तमले पनि यसरी दुव्र्यवहार गर्नेलाई कारबाहीको दायरामा ल्याइने बताए। ‘कोही व्यक्तिलाई समाजबाट बहिस्कार गर्ने, हेप्ने, अभद्रता देखाउने, होच्याउने, धम्क्याउने जस्ता गलत हर्कत देखाउनेलाई कारबाही हुन्छ,’ उनले भने, ‘कसैलाई त्यस्तो व्यवहार भएका प्रशासनलाई जानकारी गराउनु होला।’ उनले समाजका केही मानिस गलत र रुढीवादी मान्यताबाट ग्रसित भएकाले त्यस्ता व्यक्तिहरूलाई छिट्टै कारबाहीको दायरामा ल्याइने जानकारी दिए।

प्रकाशित: ७ भाद्र २०७७ ०१:४६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App