९ आश्विन २०८१ बुधबार
image/svg+xml
समाज

धादिङमा पाँच वर्षमा ४ सय १४ जनाको मृत्यु

पृथ्वी राजमार्गस्थित धादिङको सलाङघाटबाट त्रिशुली नदिमा खसेको बस । तस्बिर : सरिता/नागरिक (फाइल फोटो)

धादिङमा विगत पाँच वर्षको अवधिमा सवारी दुर्घटनामा परि चार सय १४ जनाको मृत्यु भएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार यस अवधिमा आठ सय ९२ सवारी दुर्घटना भएका छन्। कार्यालयका अनुसार आर्थिक वर्ष ०७६/७७ मा भएका एक सय २५ सवारी दुर्घटनामा ४६ ट्रक, २९ वस, २४ जिपकार, आठ वटा ट्याक्टर, ७४ टेम्पो गरी एक सय ८१ सवारी तथा मालवहाक साधन दुर्घटनामा परेका थिए।  

ती दुर्घटनामा ४० जना पुरुष नौ जना महिला, तीन बालक र एक बालिकासहित ५३ जनाको मृत्यु भएको थियो। सोही दुर्घटनामा परी एक सय १० जना पुरुष, ३१ जना महिला, छ जना बालक दई जना बालिकासहित एक सय ४९ जना गम्भीर घाइते भए।  

यसैगरी आर्थिक वर्ष ०७५÷७६ मा भएका एक सय ३८ दुर्घटनामा ७० वटा ट्रक, ४४ बस, २४ वटा जिपकार, एक वटा ट्याक्टर, ५५ वटा मोटरसाइकल, अन्य आठ वटासहित दुई सय दुई सवारी तथा मालबाहक साधन दुर्घटनामा परे। दुर्घटनामा ६८ पुरुष, २० महिला, तीन बालक, २ बालिकासहित ९३ जनाको मृत्यु भयो। दुर्घटनामा परी एक सय १२ पुरुष, ५१ महिला, १४ बालक र तीन बालिकासहित एक सय ८० जना गम्भीर घाइते भए।  

आर्थिक वर्ष ०७४/७५ मा भएका एक सय ५५ वटा दुर्घटनामा ८८ ट्रक ४६ बस, १८ जिपकार, १२ ट्याक्टर, ५० मोटरसाइकल, एक शारीरिक शक्ति (साइकल) र अन्य तीन वटासहित दुई सय १८ सवारी तथा मालबहाक साधन दुर्घटनामा परे। ती दुर्घटनामा परी ७९ पुरुष, १९ महिला, नौ बालक र १० बालिकासहित एक सय १७ जनाको मृत्यु भयो। दुर्घटनामा एक सय ४६ पुरुष, ४४ महिला, ११ बालक र ६ बालिकासहित दुई सय सात जना गम्भीर घाइते भए।  

आर्थिक वर्ष ०७३/७४ मा भएका ९८ दुर्घटनामा ५९ ट्रक, २४ बस, १५ जिपकार, पाँच ट्याक्टर, ३७ मोटरसाइकल र अन्य दुईसहित एक सय ४२ सवारी तथा मालबहाक साधन दुर्घटनामा परे। ती दुर्घटनामा ६४ पुरुष, १९ महिला, ४ बालक र तीन बालिकासहित ९० जनाले ज्यान गुमाए। दुर्घटनामा परी ७४ पुरुष २७ महिला, ६ बालक र पाँच बालिकासहित एक सय १२ जनाको मृत्यु भयो। यसैगरी ६९ पुरुष, २० महिला, तीन बालक, तीन बालिकासहित ९६ जना सामान्य घाइते भए।  

आर्थिक वर्ष ०७२/०७३ मा भएका ९० वटा दुर्घटनामा ६५ ट्रक, ३३ बस, १२ जिपकार, एक ट्याक्टर, ३४ मोटरसाइकल, तीन वटा शारीरिक शक्तिबाट (साइकल) र एक अन्यसहित एक सय ४९ सवारी तथा मालबहाक साधन दुर्घटनामा परे। ती दुर्घटना परी ५० पुरुष नौ महिला र दुई बालकसहित ६१ जनाको मृत्यु भयो। दुर्घटनामा ७१ पुरुष, ३० महिला, दुई बालक र १० बालिकासहित एक सय १३ जना गम्भीर घाइते भए। यसैगरी ६५ पुरुष, ३७ महिला, दुई बालक र चार बालिकासहित ९९ जना सामान्य घाइते भए।  

जिल्लामा भएका अधिकांश दुर्घटना सवारी साधनको तीव्र गतिका कारण हुने गरेको छ। चालकले मादक पदार्थ सेवन गर्दा, थकान र निद्राले पनि दुर्घटना बढाएको ट्राफिक प्रहरीको भनाई छ। यसबाहेक तनाव, उत्तेजना, सडकको दूरवस्था र पुराना सवारी साधनका प्रयोगले दुर्घटना बढेको छ।

सवारी साधानको चाप बढी, सडकको भारवन क्षमता कम हुँदा सडकमा परेको खाल्टाखुल्टी, साँघुरा घुम्ती र चालकको लापरवाहीले सवारी दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी निरीक्षक नेत्र प्रसाद भट्टले बताए। ‘दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरीले २४ घण्टा सक्रियाताका साथ काम गरिरहेको छ’ उनले भने, ‘सवारी दुर्घटनामा न्यूनीकरणका लागि लामो दूरीका चालकहरुलाई लक्षित गरि रिफ्रेस सेन्टर सञ्चालन, चालकको स्वास्थ्य परीक्षण, पर्चापम्प्लेट, सन्देशमुलक माइकिङ गरिरहेका छौँ।’

खासगरी सवारी दुर्घटना पृथ्वी राजमार्गमा क्षेत्रमा हुने गरेको छ। राजमार्गमा दैनिक ११ हजारदेखि १३ हजारसम्म चार पाङ्ग्रे र सात हजार भन्दा बढी मोटरसाइकल आवतजावत गर्छन्। राजधानी काठमाडौ प्रवेश गर्ने र बाहिरिने मुख्य नाका धादिङ जिल्ला भएका कारण पनि सवारी दुर्घटना अन्य क्षेत्रमा भन्दा पनि तुलनात्मक रुपमा बढी नै हुने गरेको छ। सवारीचाप बढ्दो, साँघुरो र जीर्ण सडक, ओभरट्याक र ओभरस्पिटले दैनिक जसो सवारी दुर्घटना हुने गरेको कार्यालयले जनाएको छ।

प्रकाशित: ६ भाद्र २०७७ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App