coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

उड्न नपाएका श्रमिक भन्छन्, सरकार अविवेकी भएपछि केही लाग्दो रहेनछ

फाइल तस्वीरः उपप्रधानमन्त्री ईश्वर पोखरेल

अर्कोपटक वैदेशिक रोजगारीमा नजाने निर्णय गरेपछि दधिकोट, भक्तपुरका पुण्य बस्नेतले दुबईमा बस्दै आएको कोठा छोडिसकेका थिए। एक महिनाअघि एक हजार तीन सय २० दिराम (४३ हजार पाँच सय ६० रूपैयाँ) मा टिकट किनेको आरए २२९२ कलसाइनको जहाज बस्नेतसहितका यात्रुलाई लिन संयुक्त अरब इमिरेट्स (युएई) को दुबई जाँदै थियो।  

‘कन्फर्म’ टिकट भएकाले उनी जहाज उड्नुभन्दा चार घण्टाअघि नै दुबई विमानस्थल पुगिसकेका थिए। करिब दुई वर्षपछि घर फर्कन थालेका उनी जहाज उड्ने समयको व्यग्र प्रतीक्षामा थिए। भदौ १ गते बिहान ३ः५५ बजे (नेपाली समय) कुर्न उनलाई हम्मेहम्मे परिरहेको थियो। तर त्यसको केही बेरअघि नेपाल एअरलाइन्सका कर्मचारी जहाजले यात्रु बोक्न नसक्ने खबर सुनाउँदै यात्रुछेउ पुगे।  

‘जब हामीले त्यस्तो खबर सुन्यौं, सबै यात्रु अचम्ममा प¥यौं,’ उनले नागरिकसँग भने, ‘अन्तिम समयमा आएर जहाजले यात्रु नबोक्ने खबर नेपाली यात्रुका लागि मात्र नभई दुबई विमानस्थलका सरकारी अधिकारी र अन्य यात्रुका लागि पनि अनौठो थियो।’ उडान तालिकाको करिब एक घण्टाअघि मात्र जहाजले यात्रु नबोक्ने खबर सुनाएपछि युएईसहित देशविदेशमा रहेका नेपालीबीच हल्लीखल्ली मच्चिएको उनको भनाइ छ। एअरलाइन्सका कर्मचारीले उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको सिसिएमसीले दुबईबाट जहाज रित्तो फिर्ता ल्याउन निर्देशन दिएको खबर सुनाएको अर्का यात्रु रमेश सिग्देलले बताए।  

‘दुईतीन महिनाअघिदेखि नै टिकट खरिद गरिएको जहाज प्राविधिक समस्याबिनै रित्तो फर्काउन खोजिएपछि युएईको नेपाली राजदूतावासदेखि काठमाडौंसम्म उडानका लागि आग्रह ग-यौ,’ उनले भने, ‘समस्याको बारेमा रित्तो जहाज फर्काउने निर्देशन दिने व्यक्तिसम्म जानकारी हुँदा पनि केही चलेन। सरकार अविवेकी हुँदा नागरिकले अनाहकमा दुःख पाउँदा रहेछन् भन्ने पुष्टि भयो।’ रोजगारीका लागि युएई पुगेका श्रमिक सिसिमएसीले क्वारेन्टाइनको व्यवस्था हुन नसकेको भन्दै दुबईबाट रित्तो जहाज फर्काएपछि अन्योलमा छन्। दुई–तीन महिनाअघिदेखि नै हवाई टिकट खरिद गरिसकेका ती यात्रु पुनः कहिले फर्कन पाउने भन्ने अन्योलमा छन्।  

घर फर्कन थालेका अधिकांश कोरोना महामारीपछि रोजगारी गुमाएका हुन्। ‘घर फर्कनेमध्ये धेरैजसो दुई महिनाअघिदेखि रोजगारी गुमाएका थिए,’ स्याङ्जाका हरि पाठकले भने, ‘कतिपयले त चारपाँच महिनाअघि नै रोजगारी गुमाइसकेका थिए।’  

नेपाल एअरलाइन्सको जहाज रित्तै फर्केपछि यतिखेर अधिकांश यात्रु बिचल्ली अवस्थामा बसेका छन्। कतिपय होटलमा, कतिपय साथीभाइसँग त कतिपयले दूतावासको आश्रय लिइरहेका छन्। युएईस्थित नेपाली राजदूतासवासकी श्रम काउन्सुलर निर्मला थापाले सबैतिर हारगुहार गरेर समस्यामा परेकालाई जसोतसो व्यवस्थापन गरिएको बताइन्।  

‘जहाज रित्तो फर्कने खबर सुनेपछि हामीले अन्तिम समयसम्म कुनै पनि हालतमा यात्रुलाई रोक्नुहुन्न भनेर आग्रह गरेका थियौं,’ उनले भनिन्, ‘तर दुःखको कुरा, केही उपलब्धि हुन सकेन।’ फर्कन नपाएका अधिकांश यात्रुको बिचल्ली भएको उनले बताइन्। घर फर्कन कतिपय यात्रु तीनचार घन्टा टाढादेखि ट्याक्सीमा विमानस्थल पुगेका थिए। दुई सय ६६ यात्रुलाई लिन नेपाल एअरलाइन्सको जहाज दुबई गएको थियो।  

पुनः पिसिआर गर्नुपर्ने

सिसिएमसीको निर्देशनका कारण घर फर्कन नपाएका यात्रुले पुनः पिसिआर परीक्षण गराउनुपर्ने भएको छ। ‘उनीहरू फर्कने बेला पिसिआर परीक्षण गर्नैपर्ने हुन्छ,’ दूतावासकी काउन्सुलर थापाले भनिन्, ‘पिसिआर परीक्षणबिना दुबई विमानस्थलमा प्रवेश नै दिइँदैन।’ उनले जहाज रित्तो फर्किएकाले यतिखेर पिसिआर परीक्षणभन्दा पनि फर्कन नपाएका यात्रुले महँगो जरिवाना तिर्नुपने अवस्था आउन सक्ने खतरा रहेको बताइन्। युएईमा टिकट रद्द गरेका यात्रुले जरिवाना तिर्नुपर्ने नियम छ। ‘टिकट रद्द गरेको १० दिनसम्म एअरलाइन्सले उडान नभरेमा त्यसपछि जरिवाना तिर्नुपर्छ,’ उनले भनिन्।

थापाका अनुसार १० दिनपछि पहिलोपटक प्रतिव्यक्ति एक सय २५ दिराम (चार हजार एक सय २५ रूपैयाँ) र त्यसपछि दैनिक २५ दिराम (आठ सय २५ रूपैयाँ) का दरले जरिवाना तिर्नुपर्ने नियम छ। युएईस्थित नेपाली राजदूतावासले तुरुन्तै फर्कनुपर्ने अवस्थाका पाँच हजार श्रमिक रहेको जानकारी दिएको छ।  

त्यस्तै युएईबाट अन्य ३० हजारले पनि घर फर्कन खोज्दै सहजीकरणका लागि दूतावासलाई खबर गरेका छन्। विदेशमा रहेका नेपालीलाई नल्याउने सिसिएमसीको सोही निर्देशनका कारण सोही दिन माल्दिभ्सलगायतका मुलुकबाट फर्कन खोज्ने पनि रोकिएका थिए।  

भदौ १ मा काठमाडौं–माल्दिभ्स चार्टर उडान हुने जानकारी पाएपछि त्यहाँको विमानस्थल पुगेका डिबी पुरीले सिसिएमसीको निर्देशनले विश्वभरि रहेका नेपाली मर्माहत भएको बताए। पुरीसँगै ६ जना माले विमानस्थल पुगेका थिए। केही दिनअघिको मन्त्रिपरिषद् बैठकले भने अन्तर्राष्ट्रिय हवाई उडान नियमित नहुँदासम्म समस्यामा परेकामध्ये दैनिक दुई सय श्रमिक र अन्य तीन सयलाई उद्धार गर्ने कोटा तोकेको थियो।  

कुबेतमा ३३ नेपाली अलपत्र

यसैबीच अन्तर्राष्ट्रिय हवाई उडान सञ्चालन नहुँदा कुबेतमा ३३ नेपाली अलपत्र परेका छन्। रोजगारी गुमाएका उनीहरूले घर फर्कन हवाई जहाजको टिकट जुटाउन नसक्दा अलपत्र परेको गुनासो गरेका छन्।  

सामाजिक सञ्जाल लगायत विभिन्न माध्यममा सहयोगका लागि याचना गरेका उनीहरूलाई अहिलेसम्म उद्धारको व्यवस्था नगरिएको गैरआवासीय नेपाली संघ कुबेतका केन्द्रीय सदस्य अमित चाम्लिङले बताए। ‘घर फर्कन नपाउँदा भोकभोकै हुने देखिएपछि १५ दिनका लागि पुग्ने खाद्यान्न सहयोग गरेका छौं,’ उनले भने। पछिल्लो तीन महिनादेखि कम्पनीले काम गरेको पारिश्रमिक नदिएको उनीहरूको भनाइ छ। कम्पनीले उनीहरूलाई बस्ने घरबाट पनि निकालेको छ। उनीहरूले कुबेतको अल राकिस विल्डिङ जनरल कम्पनीमा काम गरिरहेका थिए। कम्पनीले निकालेका राजीव शुक्लाले चाँडो उद्धार नहुने हो भने मर्नुभन्दा अर्को विकल्प नहुने बताए।

प्रकाशित: ६ भाद्र २०७७ ०१:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App