१२ आश्विन २०८१ शनिबार
image/svg+xml
समाज

समुदाय–स्वास्थ्यकर्मी जुहारीबीच भयावह अवस्था

प्रदेश १

दिनरात विरामीको उपचारमा खटिएका चिकित्सक पटकपटक भन्दै थिए, ‘विराटनगरमा कोरोना समुदाय तहमा गइसक्यो सजग बनौं ।’ यही निष्कर्षमा पुगेर तत्कालै नियन्त्रणको कदम चाल्नुपर्ने प्रदेश र संघीय सरकार चिकित्सकको भन्दा भिन्न तर्क अघि सार्दै भन्दै थिए, ‘समुदायमा संक्रमण गएको छैन, आत्तिनु पर्दैन ।’

करिब दस दिनअघिसम्मको यो अप्रत्यक्ष जुहारीमा अन्ततः चिकित्सक नै सही ठहरिए । विराटनगर मात्रै होइन, प्रदेश १ का मोरङ, सुनसरी र झापाका फरक ठाउँमा संक्रमित फेला पर्ने क्रम यति तीव्र छ कि, कन्ट्याक्ट ट्रेसिङ गर्न पनि गाह्रो हुने अवस्था आइसकेको छ । यस्तो अवस्थामा पनि सरकार कमजोरी लुकाउने बहाना खोज्दैथियो । केही सरकारी विज्ञको तर्क अघि सार्दै थियो, ‘कोरोना समुदायमा जानुअघिको स्टेजमा मात्रै छ ।’

चिकित्सकहरु निश्चित योजना बनाउन सुझाव दिइरहेका थिए । तर, प्रदेशका मन्त्रीहरु सिटामोल पनि नदिई कोरोनामुक्त हुनेलाई पुष्पगुच्छा दिएको फोटो लिनमै रमाइरहेका थिए । तर अहिले ५ सय हाराहारी संक्रमित घरैमा छन् । अस्पतालमा आइसोलेसन बेड नहुँदा उनीहरु सामान्य चिकित्सकीय सुझाव पाउनबाट पनि बञ्चित छन् ।

जब चिकित्सक र अन्य स्वास्थ्यकर्मीमा धमाधम संक्रमण पुष्टि हुन थाल्यो, स्थानीय र प्रदेश सरकार झस्के । लगत्तै सुरु भएको सजगता, तीव्र जाँच प्रक्रियालगायतले देखायो, विराटनगर र आसपासका सयौं सर्वसाधारणमा संक्रमण फैलिसकेछ । समुदायबाट स्वास्थ्यकर्मीमा सरेको हो कि चिकित्सकबाट समुदायमा ? यसको उत्तर निश्चय नै सहज छैन । तर, चिकित्सकहरु आफूहरु समुदायबाटै संक्रमित भएको बताउँछन् ।

विराट मेडिकल कलेजका सञ्चालक डा. ज्ञानेन्द्रमानसिहं कार्कीको कोरोना रिपोर्ट साउन ६ गते नै पोजिटिभ आएको थियो । तर, नाम फेरेर स्वाब संकलन भएका कारण संक्रमित व्यक्ति बेपत्ता भएको हल्ला चल्यो । विराटनगर महानगर, प्रहरी र प्रदेश सरकारको टोलीले साउन ९ मा पत्ता लगायो, संक्रमित व्यक्ति डा. कार्की नै हुन् । उनलाई संक्रमण भएपछि उनको अस्पतालका अरु स्वास्थ्यकर्मीमा पनि धमाधम देखिन थाल्यो । डा. कार्कीको अवस्था गम्भीर भएर नेपालमै पहिलोपटक प्लाज्मा थेरापीबाट उपचार गर्नुपर्यो । ‘हामीलाई त निश्चय नै बिरामीबाटै सरेको हो,’ कोरोनामुक्त बनेर काठमाडौंमा स्वास्थ्यलाभ गरिरहेका डा. कार्कीले भने, ‘हामी दिनरात बिरामीहरुसँगै हुन्थ्यौं । कोबाट सर्यो भन्ने यकिन नभए पनि उहाँहरुबाटै सरेको भन्नेमा शंका छैन ।’

चिकित्सक कार्कीलाई देखापरेपछि विराटनगर अस्पताल (विराट नर्सिङ होम) का १२ जना संक्रमित भइसकेका छन् । अहिले उनीहरू सबै कोरोनामुक्त भई काम फर्किएका छन् । संक्रमित हुनेमा ४ जना डाक्टर, ४ जना नर्स र बाँकी सबै कर्मचारी थिए । यही अस्पतालका स्वास्थ्यकर्मी कोसीलगायतका अन्य अस्पताल र निजी क्लिनिकमा पनि संलग्न थिए । उनीहरुमार्फत ती स्वास्थ्य संस्थामा पनि संक्रमण क्रमशः फैलिँदै गयो । अस्पताल स्रोतहरुका अनुसार न्यूरो अस्पतालमा ८ जना संक्रमित भएका छन् । जसमा ३ जना स्टाफ नर्स डिस्चार्ज भइसकेका छन् । ५ जना अस्पतालकै आइसोलेसनमा छन् । २ सफाइ कर्मचारी, २ नर्स र १ कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

नोबेल अस्पतालमा १४ जना संक्रमित भएका छन् । डाक्टर ४ जना, फार्मेसीका २ जना, कर्मचारी २ जना र नर्स ६ जना रहेका छन् । जसमा २ जना डाक्टरको काठमाडौं टिचिङ अस्पतालमा उचार भइरहेको छ । बाँकी सबै अस्पतालको आइसोलेसनमा बसेका छन् । कोसी अस्पतालमा १९ जना संक्रमित भएका छन् । १ जना डाक्टर, २ जना सफाइ कर्मचारी र बाँकी १६ जना स्वास्थ्यकर्मी छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था अहिले सामान्य छ ।

यी स्वास्थ्यकर्मीहरु संक्रमित भइरहँदा समुदायमा पीडित हुनेहरुको संख्या पनि लगातार बढ्दै थियो । यो क्रम अझै जारी छ । ‘साउन ८ पछिको अवस्था पूर्ववत चल्न थाल्यो, मानौं कोरोना गइसक्यो,’ मोरङ सहकारी अस्पतालका डा. बालकृष्ण साह भन्छन्, ‘त्यसले समुदायमा ह्वात्तै कोरोना फैलायो । चिकित्सकले सेवा दिनैपर्यो । ती सेवा पाएकाहरु समुदायमा फेरि पुगे । यो चक्र केही साता मज्जाले चल्यो । अहिलेको अवस्था त्यसैले आयो ।’ उनका अनुसार सर्वसाधारणले पनि सजगताको साटो लापारबाहीकै शैलीलाई निरन्तरता दिए ।

विराटनगरकै कोरोना संक्रमित एकजना चिकित्सक भारतीय बिरामी साउन ८ पछि निकै भित्रिएको बताउँछन् । ‘सीमामा पटक्कै कडाइ भएन,’ उनले भने, ‘हामीले उपचार गदैनौं भन्न मिलेन ।’ अधिकांश चिकित्सकहरु खुला सीमाका अनेक नाकाबाट बिहार र बंगालबाट नेपाल भित्रनेहरुले संक्रमणको फैलावट तीव्र पारेको बताउँछन् । यसबाहेक सीमामा नरोकिएको तस्करी धन्दा, अनधिकृत रुपमा नेपाल भित्रने भारतीय मजदुरहरु पनि भाइरस गाउँठाउँमा फैलाउने कारक बनेका छन् ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा शुक्रबार २ जना स्टाफ नर्समा कोरोना पोजेटिभ देखियो । उपचारमा आएकी एक महिलामा संक्रमण पुष्टि भए पछि उनको सम्पर्कमा रहेका ती २ नर्सको स्वाब परीक्षण गरिएको थियो ।

एमआइसियु वार्डमा भर्ना भएकी महिलामा संक्रमण पुष्टि भएको थियो । दुई जना नर्स उनकै स्वास्थ्य उपचारमा संलग्न थिए । संक्रमण पुष्टि भएपछि दुवै नर्स आइसोलेसनमा छन् । प्रतिष्ठानमा यसअघि पनि स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ पुष्टि भएको थियो तर बिरामीको प्रत्यक्ष उपचारमा संलग्न हुँदा संक्रमण भएका स्वास्थ्यकर्मी भने एमआइसियुमा ड्युटी गर्ने यी २ जना नर्सहरु मात्र हुन् ।

प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाका अनुसार बिपी प्रतिष्ठानमा यसअघि पनि २ जना कन्सल्टेन्ट डाक्टर र एक जना इन्टनमा संक्रमण पुष्टि भएको थियो भने एक जना एमएस्सी र एक जना एमबिबिएस विद्यार्थीलाई पनि संक्रमण पुष्टि भएको थियो । ती मध्ये इएनटि विभागका कन्सल्टेन्ट डाक्टरको श्रीमती, छोरा र छोरीमा पनि पाजेटिभ देखिएको थियो । अर्का, चिकित्सककी श्रीमतीलाई पनि संक्रमण देखिएको थियो । उनीहरुलाई संक्रमण भने बिरामी उपचारको क्रममा भएको होइन ।

प्रतिष्ठानका प्रवक्ता डा. सापकोटा बिपीमा प्रदेश १ बाट मात्र नभई प्रदेश २ बाट पनि बिरामी उपचार गर्न आउँछन् । यसले पनि स्वास्थ्यकर्मीहरु संक्रमणको उच्च जोखिममा छन् । प्रतिष्ठानलाई सरकारले लेभल थ्री(३) कोभिड १९ अस्पतालमा वर्गीकरण गरेको हुनाले पनि यहाँ संक्रमित व्यक्ति विभिन्न जिल्लाबाट पठाइने गरेको छ ।

चिकित्सकहरु जनस्वास्थ्यका विज्ञहरु, चिकित्सकहरुसहितको टिम बनाएर तत्कालै नियन्त्रणको प्रष्ट मार्गचित्र बनाउनुपर्ने बताउँछन् । ‘विज्ञको कुरा हिजो पनि सुनिएन, अहिले पनि अवस्था उस्तै छ,’ डा. साह भन्छन् ‘यो दुखद् अवस्था अन्त्य हुनुपर्छ । विज्ञहरुसहितको टिमले तत्कालै योजना बनाउनुपर्छ र कार्यान्वयनमा जानुपर्छ । अन्यथा अवस्था झनै भयावह हुनसक्छ ।’

प्रकाशित: ४ भाद्र २०७७ ०२:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App