१३ आश्विन २०८१ आइतबार
image/svg+xml
समाज

गण्डकी प्रदेश : दुई साताभित्र २५० आइसोलेसन बेड थपिने, गाउँका क्वारेन्टिन रित्तिदै

कोरोना भाईरस संक्रमण बढ्दै जान थालेपछि यहाँका विभिन्न अस्पतालमा आइसोलेसन बेडको संख्या थप्ने तयारी भएको छ। यसअघि विभिन्न अस्पतालमा रहेका आइसोलेसन बेड बिरामीले भरिएपछि थप २५० बेड संख्या थप्ने तयारी भएको हो। भदौ १५ गतेभित्र ती बेड थपिसक्ने गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।  

निर्देशनालयका वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत नवराज शर्माका अनुसार अहिले पोखराका तीनठाउँमा आइसोलेसन बेड राखेर बिरामीको उपचार भईरहेको छ। तर, संक्रमण बढ्दै जाँदा ती अस्पतालका आइसोलेसनले अपुग हुने देखिएपछि बेड संख्या थप्न थालिएको शर्माले बताए। शर्माका अनुसार लेखनाथस्थित संक्रमण तथा सरुवा रोग अस्पतालमा अहिले ४० बेड रहेकोमा त्यहाँ ५० बेड थपेर ९० पुर्या उने तयारी भएको छ। त्यसैगरि कृषि तालिम केन्द्रमा पनि ५० शैया थप्ने तयारी भएको छ। कृषि तालिम केन्द्रमा पनि ४० वटा बेड रहेकोमा थपेपछि ९० बेड पुग्नेछ।  

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भने अहिलेसम्म ४० वटा आइसोलेसन बेड रहेकोमा अब ७० वटा थपेर ११० वटा पुर्या्उने तयारी भएको शर्माले बताए। ‘पोखराभित्र १७० संख्यामा आइसोलेसन बेड थप्ने तयारी भएको छ,’ उनले भने, ‘बाँकी केही अन्य जिल्लाका अस्पतालमा पनि थप हुनेछन्।’ विभिन्न जिल्लामा संक्रमण बढ्दै जान थालेपछि आइसोलेसन बेड अभाव हुने सम्भावना रहेपछि अरु बेड थप्नु परेको उनले बताए। ‘अप्ठेरो पर्योन भने प्रदेशको सबैभन्दा ठूलो पश्चिमाञ्चल क्षेत्रीय अस्पताल नै पुर्ण रुपमा प्रयोगमा ल्याउनुपर्न हुन्छ,’ उनले भने, ‘अरु बिरामीलाई मर्का नपरोस भनेर क्षेत्रीय अस्पताललाई सकेसम्म कम प्रयोगमा ल्याउन खोजिएको हो।’ क्षेत्रीय अस्पताल ५ सय शैयाको छ।

नयाँ आइसोलेसन बेड थपिँदा त्यहाँ भौतिक पूर्वाधार थपिनुपर्छ। आईसीयु सहित बेड, कर्मचारी सहितका भौतिक पूर्वाधार आवश्यक पर्ने र दुईसाताभित्र ती संरचना थपिसक्ने उनले बताए। ‘आइसोलेसन बेड भन्दैमा हुने होईन, केही भौतिक पूर्वाधार थपिनुपर्छ। अब त्यसको गृहकार्य गर्नका लागि दुईसाता लाग्छ,’ उनले भने, ‘अहिले संक्रमण बढिरहेको छ। भविश्यमा थप संक्रमित थपिने सम्भावना भएकोले तयारी पनि अहिले नै गर्नुपरेको हो।’ प्रदेशभर अहिले २०९ जना सक्रिय संक्रमित आइसोलेसनमा छन्।  

अहिले पोखराका २० जना संक्रमित घरमै आइसोलेसनमा बसेका छन। त्यस्तै पाँचजना होटलका आइसोलेसनमा बसेका छन्। सरकारले तोकेको स्वास्थ्य प्रोटोकल अनुसार पूर्वाधार भएमा घरमा पनि आइसोलेसन बस्न सकिने प्रावधान भए अनुसार पोखराका २० जना संक्रमित घरमै रहेको शर्माले बताए। त्यही अवस्था होटलमा पनि लागु हुने उनले बताए। त्यस्तै तनहुँमा पनि २ जना संक्रमित घरमै आइसोलेसनमा बसेका छन्।  

क्वारेन्टिन रित्तिदै  

कोरोना संक्रमणले गति लिँदै गर्दा तराईका जिल्लाका क्वारेन्टिन भरिभराउ थिए। तर, जब भारतीय नाकाबाट आउजाउ केही सहज भयो, त्यसपछि पहाडी भेगका जिल्लामा पनि भारतबाट आउने युवाहरुको संख्या थपिँदा क्वारेन्टिन पनि खचाखच भए। गण्डकी प्रदेशका स्याङजा, पर्वत, बागलुङ, तनहुँ, गोरखा लगायतका जिल्लाका स्थानीयस्तरमा रहेका क्वारेन्टिनमा भारतबाट फर्किएका युवाहरुको दुइमहिना अघिसम्म भीड थियो। तर, अहिले जिल्लाका ती क्वारेन्टिनमा रहेका स्थानीयको संख्या घटेको प्रदेश स्वाथ्य निर्देशनालयले बताएको छ।  

निर्देशनालयका निर्देशक डा. बिनोदबिन्दु शर्माका अनुसार हाल प्रदेशभित्र क्वारेन्टिनमा रहेका व्यक्तिको संख्या ११ सय ५० रहेको छ। अहिलेसम्म प्रदेशका विभिन्न जिल्लामा भारतबाट आएका व्यक्तिको संख्या १२ हजार ९ सय १५ रहेको छ। त्यस्तै भारत बाहेक तेश्रो मुलुकबाट प्रदेशमा भित्रिएका व्यक्तिको संख्या ६ हजार १ सय ९८ जना रहेको छ। अहिलेसम्म नेपाल बाहिरबाट रहेर गण्डकी प्रदेशभित्र भित्रिएका व्यक्तिको संख्या सबैगरि १९ हजार ११३ रहेको निर्देशक शर्माले बताए।  

‘पहिलेजस्तो ह्वारह्वार भारतबाट आउनेको संख्या अहिले घटिरहेको छ। पहिले धेरैको संख्यामा भित्रिँदा जिल्लाका क्वारेन्टिन भरिभराउ भएका थिए,’ निर्देशक शर्माले भने, ‘अहिले भारतबाट आउनेको संख्या कम छ। तर, आन्तरिक आउजाउले नै बढीजसो संक्रमण बढेको देखिएको छ।’ पोखरा सबैतिरको ट्रान्जिट सहर भएकोले पनि पछिल्लो समय पोखरामा संक्रमण बढ्दो् रहेको उनले बताए। ‘सुरुसुरुमा त गाउँमा निकै नै डर भयो, तर, अहिले अधिक डर त्रास सहरमा छ। पोखरामा मात्र नभई कुनैपनि जिल्लाका सदरमुकाममा संक्रमणको त्रास छ,’ उनले भने, ‘क्वारेन्टिन खालि हुँदै गएकोले गाउँमा केही जोखिम घटेजस्तो देखिएपनि पुरै ढुक्क हुने अवस्था भने छैन।’

 

 

प्रकाशित: ३ भाद्र २०७७ ०९:३३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App